हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफूखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो ।
आन्तरिक उडान गर्ने कम्पनीले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, 'कार्टेलिङको विषयमा उठेको कुरासम्बन्धी अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छौँ, कार्टेलिङ भएको पुष्टि भएमा कारबाही हुनेछ ।'
खुला बजार र उद्धार अर्थतन्त्रमा मिलेमतोमा भाडा निर्धारण गर्न नमिल्ने भएकाले यस्तो क्रियाकलाप नियन्त्रण गर्नमा लाग्ने उनको भनाइ छ ।
आन्तरिक हवाई कम्पनीले गर्दै आएको कार्टेलिङको राष्ट्रिय योजना आयोगले समेत अध्ययन गरिरहेको बताइएको छ । हवाई कम्पनीको कार्टेलिङको अध्ययन गर्न आयोगका सदस्य डा रामकुमार फुयाँलको नेतृत्वमा कमिटी बनेको छ । आयोगका तत्कालीन उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक यातायातको क्षेत्रमा भइरहेको सिन्डिकेट र कार्टेलिङको अध्ययन अघि बढाउँदै त्यसको जिम्मा फुयाँललाई दिएको बताइएको छ ।
मिलेमतोका आधारमा टिकट बिक्री गरेर कार्टेलिङको साम्राज्य खडा गरेको बताउँदै यो विषयलाई गम्भीर रुपमा लिएर अध्ययन अघि बढाइरहेको आयोगले जनाएको छ । नेपाल सरकारले तोकेको न्यूनतम् र अधिकतम भाडादरलाई आधार बनाएर वायुसेवा कम्पनीहरूले कार्टेलिङ गरिरहेको आरोप लागेको छ ।
अहिले कुनै पनि सेक्टरमा उडान गर्ने सबै कम्पनीको हवाई भाडा एउटै कायम रहेको पाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया