पर्यटन

अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यहरूका शतप्रतिशत होटल बुकिङ

इकागज |
पुस १४, २०७९ बिहीबार १५:५ बजे

फाइल तस्बिर

काठमाडौँ- अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरूका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरूले बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल सुरु भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरूले बताएका हुन् । अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरू भरिभराउ भएर बुकिङ फुल भएको व्यवसायीहरूले बताएका छन् ।


होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरूका होटलहरूको बुकिङ शतप्रतिशत रहेको उल्लेख गरे । उपाध्यक्ष साहले बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पर्यटकीय गन्तव्यहरूका होटलहरूको बुकिङ शतप्रतिशतसम्म रहेको बताएका हुन् । विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरू नयाँ वर्ष लक्षित दुई दिनका लागि फुल अकुपेन्सी हुने उनकाे भनाइ छ ।

साहले विशेष गरी युवा वर्गमा नयाँ वर्ष पर्यटकीय गन्तव्यहरूमा गएर मनाउने भएकाले होटलहरूको बुकिङ राम्रो हुने जिकिर गरे । उनले अंग्रेजी नयाँ वर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या बढाएकाले होटलहरूको अकुपेन्सी राम्रो रहेको बताए । उपाध्यक्ष साहका अनुसार नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगेपनि समग्र नेपालका होटलहरूको अकुपेन्सी ३० प्रतिशत मात्रै छ ।

उनले विभिन्न चाडपर्वमा हुने अकुपेन्सी दुई/तीन दिनका लागि मात्रै हुने उल्लेख गरे । उनले समग्र रूपमा हेर्दा ७० प्रतिशत होटलहरूमा अकुपेन्सी हुन नसकेको भनाइ राखे । अब पर्यटक पूर्वधारहरू विस्तार गरी १२ महिना नै ८० प्रतिशत होटलहरूको अकुपेन्सी पुर्‍याउन आवश्यक रहेको उनकाे धारणा छ । उपाध्यक्ष साहले २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको बताए ।

उपाध्यक्ष साहका अनुसार आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आन्तरिक पर्यटक र भारतीय पर्यटकहरूले गर्दा होटल भरिभराउ छन् । पोखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव लगायत अन्य विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको छ । कोरोना महामारीपछि विगतको तुलनामा होटल बुकिङको ’फ्लो’ ह्वात्तै बढेको उनकाे भनाइ छ ।

काठमाडौं नजिकका पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोटमा पनि अहिले होटल बुकिङ उत्साहजनक रहेको उनले बताए । उपाध्यक्ष साहले बुधबार अर्थमन्त्री पौडेललाई भेटेर होटल व्यवसायीहरूको समस्याका विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए । उनले अर्थमन्त्रीलाई बैंक र होटल व्यवसायीहरूको सम्बन्ध सुधारका लागि बैंक कर्जा तिर्ने समय दुई वर्ष थप गर्न माग गरिएको उल्लेख गरे ।

नयाँ सरकारले पर्यटन क्षेत्रका समस्या समाधान गरी पर्यटक पूर्वाधारमा विशेष ध्यान दिए पर्यटन क्षेत्र लयमा आउनसक्ने बताए । उनले वर्तमान सरकारले पर्यटन व्यवसायीहरूमा समस्या समाधान गर्नेमा व्यवसायीहरू आशावादी रहेको उल्लेख गरे । 


Author

थप समाचार
x