४६६२ मिटरको उचाइमा रहेको मनै लोभ्याउने सुन्दर दूधकुण्ड (फोटोफिचर)
घुम्न जाँदा चौंरीको गोठमा बस्नुपर्ने बाध्यता हट्दै, बन्दै सुविधासम्पन्न होटल
सोलुखुम्बु– समुन्द्र सतहबाट करिब ४६६२ मिटरको उचाइमा रहेको दुधकुण्डमा बस्न अब सहज हुने भएको छ । सुविधा सम्पन्न होटल तथा लज अभावका कारण दूधकुण्डमा आउने भक्तजनहरु फर्कनुपर्ने वा चौरीगोठमा बस्नुपर्ने बाध्यता थियो ।
स्थानीय युवाहरूको लगानी र सक्रियतामा ३८८० मिटर उचाइमा पाँचवटा सुविधा सम्पन्न होटल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएपछि दूधकुुण्ड पुगेर सोही दिन फर्कनुपर्ने वा चौंरीगोठमा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।
कुमु डाँडामा दुई, सहस्रबेनीमा दुई र सरकारी पाटीमा एउटा गरी पाँचवटा सुविधा सम्पन्न होटल निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीय छिरि शेर्पाले बताए । स्थानीय युवालाई जिल्ला वन डिभिजन कार्यालय सोलुखुम्बुले स्वीकृति दिएको थियो ।
सोलुखुम्बुको एक मात्र नगरपालिका दूधकुण्ड नगरपालिकाअन्तर्गत वडा नं १ टाक्सिन्दुमा रहेको नुम्बुर हिमाल र कार्यालुङ हिमालको काखमा रहेको दूधकुण्ड हिन्दु, किराँत, बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहरको रूपमा रहेको छ ।
केही वर्षअघिसम्म जनैपूर्णिमाका दिन पुग्ने भक्तजनहरू पछिल्लो समयमा कुण्डको दृष्यावलोकन गर्न चैतदेखि मँसिरसम्म पुग्ने गरेका छन् । मंसिर अन्न्तिमबाट फागुनसम्म अत्याधिक चिसो हुने भएकाले त्यहाँ धार्मिक पर्यटक फस्टाउन समस्या छ ।
जनै पूर्णिमाको अवसर पारेर जाने भक्तालुहरूको अत्याधिक चाप र बर्षातको कारण ब्यवस्थित रूपमा भक्तालुहरूले दर्शन गरि फर्कन त्यस्तै कठिन थियो । अन्य समयमा जाने पर्यटकहरू पनि भरियालाई खाना सामलको भारी बोकाएर सुत्नेदेखि बस्ने अोड्ने सबै व्यवस्था गरेर मात्र उकालो चढ्नुपर्ने थियो ।
बाटोमा कहिलेकाहीं भेटिने अस्थायी रूपमा निर्माण गरिएका चौंरी गोठ र ससाना कटेराहरूमा रात काट्न बाध्य भक्तालुलगायत पर्यटकहरूले अब भने यो कठिन परिस्थितिबाट छुटकारा पाउने भएका हुन् ।
शेर्पाका अनुसार स्थानीय सामुदायिक बन, नगरपालिकालगायत जिल्ला अस्पतालको समन्वयमा प्रत्येक निर्माणाधीन होटलमा अक्सिजन कमी हुन नदिने व्यवस्था गरिनेछ ।
यसैगरी आगो ताप्न धुवाँरहित चिम्नी, खाने बस्ने व्यवस्था, सफा शौचालय, पिउनयोग्य तातो चिसो पानी, टेलिभिजन, इन्टरनेट आदि ग्राहकको माग अनुसार थप सेवा सुविधा विस्तार गरिने उनले बताए ।
किंवदन्तीअनुसार करिब एक शताब्दीअघि चौंरी गोठालोले आफ्नो चौंरीलाई चरणका लागि नुम्बुर र कार्यलङ हिमालको फेदीमा पुर्याउँदा त्यही गोठभित्रको एक दुहुनो चौंरी गाइले आफ्नो थुनबाट लामो समयसम्म कुण्डजस्तो आकृति भएको एक खाल्डोमा दूध चुहाइरहेको देखे । जब खाल्डो दूधले भरिएर बाहिर बग्न थाल्यो अनि त्यो चौंरी त्यहाँबाट बाहिरिएर त्यही खाल्डोलाई दूधकुण्डको रूपमा मानिँदै आएको छ ।
दूधकुण्डको दर्शन गर्दा पाप कर्म नष्ट हुने, कुण्डको जललाई घरमा अनि परिवारमा छर्केमा सुख शान्ति तथा धन प्राप्त हुने, निःसन्तान दम्पत्तिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास छ । दूधकुण्डको यात्राको क्रममा गंगा जमुना ताल, भुतपोखरी, आँखेपोखरी ताल महाकुण्डलगायत अन्य थुप्रै स–साना तालहरू देख्न सकिन्छ ।
बिहानी घामको पहिलो किरण नै नुम्बुर र कार्यालुङमा पर्ने भएकाले बिहानको दृष्यावलोकन अति नै मनमोहक हुन्छ । काठमाडाैं, कटारीलगायतका स्थानबाट सडक सञ्जालले सोलुखुम्बुलाई छोएको छ । करिब आठ घण्टाको यात्रामा दूधकुण्ड नगरपालिका सहजै पुग्न सकिन्छ ।
त्यसपछि आरामले एक दिन आधाको यात्रामा दूधकुण्ड पुगेर अपरान्ह फर्कने हो भने करिब ४ देखि ५ दिनको सहज यात्रा गर्ने हो भने दूधकुण्डबाट फर्केपछि बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र प्रख्यात चिवाङ गुम्बासमेत दर्शन गरी फर्कन सकिन्छ ।
काठमाडौंबाट हवाइमार्ग करिब २५ देखि ३० मिनेटको दुरीमा पर्ने फाप्लु विमानस्थल पुग्न करिब ६ हजार रूपैयाँ लाग्छ भने सुमो यात्रामा २ हजारदेखि २३ सय रूपैयाँसम्म पर्छ ।
दूधकुण्डमा पछिल्लो समय नेपालका आन्तरिक धार्मिक पर्यटकदेखि भुटान भारतलगायतका पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । यस्तै युरोप अमेरिका एसियाका पर्यटकहरू पनि सुन्दर हिमाल, डाँडा हरियाली भूमि हेर्न पुग्ने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया