पर्यटन

होटल तथा पर्यटन व्यवसायी संघको निर्वाचनः अध्यक्षमा ५ जना आकांक्षी

इकागज |
फागुन १६, २०७९ मंगलबार १४:२७ बजे

काठमाडौँ- होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ । बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

सर्वसम्मतिमा चयन गर्ने तयारी भए पनि हालसम्म दुई जनाले मात्र अध्यक्षमा आकांक्षा देखाएका छन् । संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार (भालु) श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका छन् ।


वर्तमान् कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, द्वय उपाध्यक्ष निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन् ।

अन्य पदाधिकारीले भने अहिलेसम्म पनि उमेदवारी दाबी घोषणा गरेका छैनन् । अध्यक्षमा पाँच जनाले आकांक्षा देखाएपनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

‘संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाउनु भएको छ । तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौ’ उप्रेतीले भने ।

वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावि नेतृत्व पनि सर्वसम्मतमा चयन गरिने उप्रेतीले बताए । ३ वर्षे समयावधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहने छन् ।

२० जना प्रत्यक्ष चयन भएर बाँकी ३ जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनित गर्ने संघको विधानमा व्यवस्था छ । संघको वर्तमान अध्यक्ष उप्रेती आफ्नो ३ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् ।

उप्रेती यसअघि नै होटल तथा पर्यटन व्यवसायी महासंघको पर्यटन तर्फको उपाध्यक्षमा चयन भइसकेका छन् ।

करिब साढे ३ वर्ष संघको नेतृत्व हाँकेका उप्रेतीले संघमा आवद्ध व्यवसायीलाई व्यवसायमा सहजीकरण गर्न राज्यसँग सहुलियतपूर्ण कर्जाको प्रबन्ध गर्नेदेखि व्यवसायिक भाडा छुट तथा राहतको व्यवस्था गराएका थिए । उनको कार्यकालमा कोभिड-१९ महामारीसमेत फैलिएको थियो । केही समय पर्यटन क्षेत्रलाई महामारीले प्रभावित बनाएको थियो ।


Author

थप समाचार
x