पर्यटन

नयाँ वर्षमा पर्यटकले भरिभराउ घान्द्रुक

इकागज |
बैशाख २, २०८० शनिबार २०:५५ बजे

अन्नपूर्ण (कास्की)- नयाँ वर्ष २०८० को सुरुवातसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक पर्यटकले भरिभराउ भएको छ ।

शुक्रबार र शनिबार घान्द्रुकका होटल होमस्टे भरिभराउ भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । नयाँ वर्षको दिन शुक्रबार मात्र २ हजार १ सय पाहुना घान्द्रुक पुगेको अध्यक्ष गुरुङले बताए ।


‘बिदाको दिन अनि नयाँ वर्ष भएर होला शुक्रबार २ हजार नेपाली एक सय जना जति विदेशी पर्यटक घान्द्रुक आएका थिए,’ अध्यक्ष गुरुङले भने, ‘यहाँको होटल र होमस्टेले नपुगेर सामान्य घरमा पनि पाहुना मिलाएर राख्यौं ।’ शनिबार पनि उत्तिकै संख्यामा पाहुना पुगेको उनले सुनाए ।

गुरुङ कटेज घान्द्रुकका सञ्चालक किसम गुरुङले आफ्नो होटलको सबै कोठा प्याक भएको जानकारी दिए । पाहुनाको संख्या अत्यधिक हुँदा घान्द्रुकको बसपार्कमा सवारी व्यवस्थापनमा समस्या परेको गुरुङले बताए । उनका अनुसार शुक्रबार मात्र ५ सयको हाराहारीमा बस, जीप र मोटर साइकल घान्द्रुक पुगेको थियो ।

‘पाहुना धेरै आउँदा घान्द्रुकको खोलो भ्रों बस स्टेसनमा पार्किङ मै पनि समस्या होला जस्तो भएको थियो,’ होटल सञ्चालक गुरुङले भने, ‘शुक्रबार मात्र लगभग ५ मोटर साइकल २५ वटा बस र ७० वटा जीप थियो । हामीले जसोतसो पार्किङ व्यवस्थापन गरियो ।’ 

घान्द्रुकमा पाहुना राख्नका लागि ५५ को हाराहारीमा होटल र १८ वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष गुरुङले जानकारी दिए । पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उनले बताए । ७०/८० होटल होमस्टेमा एक दिनमा २ हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।


Author

थप समाचार
x