पर्यटन

निकुञ्जभित्रको बस्ती स्थानान्तरण नहुँदा समस्या

इकागज |
बैशाख २३, २०८० शनिबार २१:४२ बजे

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिका–८ चुँगा गाउँका दलित समुदायले ४७ वर्षदेखि नजरबन्द जस्तै जीवन बिताउनु परेको गुनासो गरेका छन् । रारा राष्ट्रिय निकुञ्जभित्रको गाउँका बासिन्दा नीति नियम कानुनका कारण समस्यामा परेको बताउँदै आएका छन् । 

रारा राष्ट्रिय निकुञ्जको स्थापाना विसं २०३२ मा भएको हो । निकुञ्ज स्थापनापछि रारा राष्ट्रिय निकुञ्जभित्र रहेका छाप्रु र रारा गाउँका स्थानीयलाई सरकारले बाँकेको चिसापानी स्थानान्तरण गरेको थियो । तर चुँगा गाउँका दलित बस्तीका विषयमा भने कुनै सम्बोधन भएन । निकुञ्जको नीति नियमले चुँगा गाउँका ३० घरधुरीका दलितहरुलाई सरकारले सम्बोधन नगरेको ८० वर्षे जयराम विकले गुनासो गरे । 

'निकुञ्जभित्रको बसाइ कष्टपूर्ण छ,' उनले भने, 'राज्यको सेवासुविधाबाट पनि हामीलाई वञ्चित गराइको छ, बस्ती स्थानान्तरणका लागि नेतादेखि रारा राष्ट्रिय निकुञ्जसम्म जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन ।'


स्थानीय युवा रतन विकका अनुसार बस्ती निकुञ्जको ‘कोर एरिया’मा पर्ने भएकाले राज्यबाट आउने सेवा सुविधा पाउनबाट वञ्चित भएको बताए । 'गाउँमा विकास योजना आउँदा आफूखुसी सञ्चालन गर्न पाइँदैन, निकुञ्जसँग अनुमति माग्न जाँदा निकुञ्जले दिँदैन,' उनले भने, 'निकुञ्जको नीति नियमभन्दा बाहिर जान मिल्दैन भन्दै अनुमति नदिँदा गाउँमा आएका विकासका योजना पाउन सकिएको छैन ।'

गाउँमा स्वास्थ्यचौकी छैन, गर्भवतीलगायत अन्य बिरामीलाई अस्पताल लिनका लागि आधा घण्टासम्म डोकामा बोक्नैपर्ने बाध्यता भएको उनको भनाइ छ । खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका सेवा नहुँदा जीवन कष्टकर भएको उनको गुनासो छ ।

उनका अनुसार रारा राष्ट्रिय निकुञ्जभित्र रहेको चुगाँगाउँ दलित बस्तीमा जङ्गली जनावरको सास्ती पनि उत्तिकै छ । चुँगा गाउँका स्थानीयको निकुञ्जभित्रै नापी भएको जग्गा छ । खेतिपाती जङ्गली जनावरले सखाप पार्ने गरेको स्थानीय ६० वर्षीय वृद्ध लालधरा विकले बताए ।

'यो गाउँमा हरेक समस्या छ, नजरबन्द सहरको जीवन भएको छ,' स्थानीय प्रेमबहादुर कामीले भने, 'चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ । घर बनाउन पुर्जी भनेअनुसार पाइँदैन, घाँस दाउरा गर्न जङ्गल जान पनि समस्या छ ।'

छायानाथ रारा नगरपालिका–८ का वडाध्यक्ष कर्णबहादुर रावलका अनुसार चुगाँगाउँ दलित बस्तीले निकुञ्ज प्रशासन, जङ्गली जनावरको बर्सेनि सास्ती खेप्नुपरेको बताए । 

उनका अनुसार बस्ती स्थानान्तरणका लागि पटक–पटक कुरा उठे पनि कार्यान्वयन भएको छैन । बस्ती स्थानान्तरणका लागि वडा स्तरबाट सम्बन्धित निकायमा पहल गर्ने निर्णय भइसकेको अध्यक्ष रावलले बताए ।

रारा राष्ट्रिय निकुञ्जका वन संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार जनावर बस्ने स्थानमा मानव बस्ती बस्दा पक्कै पनि केही समस्या हुने गरेको बताए । रारा राष्ट्रिय निकुञ्ज विशेषगरी जङ्गली जनावरको बासस्थान हो । 

उनले निकुञ्जभित्रको मानव बस्तीका कारण जङ्गली जनावरलाई अन्याय भएको बताए । बस्ती स्थानान्तरणका लागि कुरा आएको भन्ने आफूले सुनेको बताउँदै संरक्षण अधिकृत श्रेष्ठले भने, 'निकुञ्जभित्र बस्ती बस्नु राम्रो हुँदैन । निकुञ्जभित्र रहेका रारा बस्तीलाई स्थानान्तरण गर्नु उपयुक्त हुन्छ ।' 


Author

थप समाचार
x