भारतबाट आउन थाले डल्फिन, कैलालीका नदीमा देखिन थाले
कैलाली । यहाँका नदीमा दुर्लभ गाङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको छ । नदीमा जलस्तर बढेसँगै मोहना, पथरैया, कांडालगायतका नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँको नदीमा हरेक मनसुनमा डल्फिन देखिने गर्दछ । यो वर्ष अहिले कम्तीमा ठूला र साना गरी १०/११ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।
टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिकै रहेको पथरैया र काडा नदीको दोभानमा यतिबेला डल्फिन देखिएको बताउँदै ढुङ्गानाले डल्फिन हेर्न आउनेहरुको संख्यामा समेत दिनानुदिन वृद्धि हुँदै गएको बताए ।
गत वर्ष यहाँको नदीमा असार दोस्रो साताबाट डल्फिन देखिन थालेका थिए । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले केही ढिलो गरी कैलालीको नदीहरुमा डल्फिन देखिन थालेको हो । मनसुनभरि नै यहाँको नदीमा डल्फिन हेर्न सकिने ढुङ्गानाले जानकारी दिए । नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ ।
मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरुमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरु बताउँछन् । गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन् । माछालगायतको जलीय जीव डल्फिनको आहारा हो ।
कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ । गुलेली बाँजेको नामले परिचित भोजराज श्रेष्ठको अगुवाइमा संरक्षण कार्य हुँदै आएको हो । प्राणीविद् मुकेशकुमार चालिसेको अगुवाइ र स्थानीयको सहभागितामा यहाँको नदीमा दुई पटक डल्फिन गणना गरिएको छ । सन् २०१६ मा गणना गर्दा वयस्क र बच्चा गरी ६२ र २०१८ को गणनामा ३७ वटा डल्फिन फेला परेको अभिलेखमा उल्लेख गरिएको छ ।
कैलालीका नदीहरुमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ । डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ । महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतको कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।
यसैगरी, डल्फिन देखिने नदीहरुमा प्रशस्त मात्रामा घडियाल र मगर गोही पनि हेर्न सहिन्छ । उक्त क्षेत्रमा घडियाल र मगर गोही प्रायः सबै समय बस्ने गरेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया