पर्यटन

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ

इकागज |
साउन १५, २०८० सोमबार २१:१८ बजे

भोजपुर- भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । 

उक्त भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्र र प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको टेम्केमैयुङ–९ लेखर्क निवासी राजकुमार विश्वकर्माले बताए । मौसम खुलेको समयमा दैनिक पाँच/सात समूहमा पर्यटक आउने गरेको उनको भनाइ थियो ।


'कपासे भञ्ज्याङ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ,' विश्वकर्माले भने, 'यहाँ घुम्न भोजपुर, खोटाङ तथा अन्य जिल्लाबाट पनि मानिस आउने गरेका छन् । यसलाई अझ प्रचारप्रसार गर्नसके पर्यटकको सङ्ख्या अझ बढ्ने थियो ।'

पर्यटकको सहज आवागमनका लागि टेम्केमैयुङ गाउँपालिकामा पर्ने मुन्दुम पदमार्गलाई कपासे भञ्ज्याङसम्म विस्तार गर्ने लक्ष्य रहेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । 

हरियाली चौर तथा विभिन्न हिमशृङ्खलासँगै तराईका सुन्दरफाँट हेर्न सकिने भएकाले जो कोही पनि  यो ठाउँमा पुग्न रुचाउने गरेको उनको भनाइ थियो । प्राकृतिक दृष्टिले निकै सुन्दर रहेको यो ठाउँको प्रचारप्रसारसँगै आवश्यक विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रशासकीय अधिकृत न्यौपानेले उल्लेख गरे ।

'यो धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो,' उनले भने, 'यसको विकासका लागि गाउँपालिकाले आवश्यक भूमिका निर्वाह गरिरहेको छ । प्राकृतिक रूपमा निकै सुन्दर ठाउँ भएकाले यसको विकास गरेर आर्थिक पक्षसँग जोड्ने गाउँपालिकाको लक्ष्य छ ।'

यहाँको विकासका लागि टेम्केमैयुङ गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा यहाँ खानेपानीका लागि रु आठ लाख र सुम्निमा पारुहाङको मूर्ति स्थापनाका लागि रु १० लाख लगानी गरेको जनाएको छ । मूर्ति संरक्षणका लागि घेराबार तथा द्वार निर्माण र पैदलमार्ग निर्माणका लागि टेम्केमैयुङ–९ लेखर्कले रु चार लाख लगानी गरेको वडा कार्यालयले जनाएको छ । 

यो आर्थिक वर्षमा पनि थप काम गर्न वडाले रु एक लाख बजेट विनियोजन गरेको छ भने विद्युत् विस्तारका लागि गाउँपालिकाले काम गरेको सेल्मे, कपासे हलहले पर्यटन संरक्षण समिति भोजपुरका सहसंयोजन बविन्द्र राईले जानकारी दिए ।  

कपासे भञ्ज्याङको बृहत्तर विकासका लागि रु नौ करोड २२ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम भइरहेको खोटेहाङ गाउँपालिका–२ का वडाध्यक्ष पारस राईले जानकारी दिए । 

उनका अनुसार यहाँको विकासका लागि उक्त गाउँपालिकाले राष्ट्रिय विभूति स्मारक पार्क निर्माणमा रु २५ लाख  र वडा  कार्यालयले रु चार लाख लगानी गरेको छ ।

त्यस्तै केन्द्र सरकारले रु २० लाखको लगानीमा पर्यटन पार्क निर्माण गरिदिएको वडाध्यक्ष राईले बताए । वडा कार्यालयले विभिन्न आर्थिक वर्षमा यहाँ रहेको तीन कन्या पोखरी निर्माणमा रु आठ लाख र गुम्बा निर्माणमा रु चार लाख गरी कूल बाह्र लाख लगानी गरेको थियो 
    
यो ठाउँको विकास भएपछि विसं २०७४ देखि ११ घर परिवारले बसोबाससमेत गर्न थालेका छन् । प्रदेश सरकारले रु २० लाख लगानी गरेर बजार व्यवस्थापनका लागि चार वटा ट्रस्ट निर्माण गरिदिएको छ । 

त्यस्तै कोशी प्रदेश सरकारको रु २० लाख सहयोगमा सेल्मे–कपासे सडक निर्माण गरिएको छ । 

कृषि ज्ञानकेन्द्रले रु १५ लाखको  लागतमा आलु भण्डारण केन्द्र निर्माण गरिदिएको छ भने भोजपुर र खोटाङवासीको सक्रियतामा चिया खेतीसमेत विस्तार गरिएको छ । 

कपासे भञ्ज्याङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गलेले बताए । दुई जिल्लाको सङ्गमस्थल रहेकाले खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा आवश्यक संरचना निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए । 'कपासे भञ्ज्याङको बृहत्तर विकासमा जुटेका छौँ,' उनले भने, 'हामीले यहाँको विकासका लागि आवश्यक काम गरेपछि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कपासे क्षेत्रलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।'

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानमा आन्तरिक पर्यटकको आवागमनले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगेको वडा नं २ का पवन राईले बताए । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँ आवश्यक संरचना निर्माणले पर्यटकको आवागमन बढेको उनको भनाइ थियो ।

'पर्यटक लक्षित आवश्यक संचरना बनेपछि यस क्षेत्रको विकासमा धेरै टेवा पुगेको छ,' उनले भने, 'दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि काम गरिरहेका छन् । घुम्नका लागि आउने मानिसको सङ्ख्या बढेको छ । यसले यहाँको कृषि उत्पादनको बजारीकरणमा पनि केही टेवा पुगेको छ । यो क्षेत्रको विकासले हामीमा उत्साह थपिएको छ ।' रासस


Author

थप समाचार
x