श्री एयरलाइन्सले 'नौ लाख' मै मानसरोवर देखाउने
तस्विरः फाइल फोटो
काठमाडौँ- श्री एयरलाइन्सले सोमबार नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको छ । सोमबार सीआरजे ७०० नाइन एन एमबीले पहिलोपटक नेपालगञ्जदेखि चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको हो ।
नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको एयरलाइन्सले जनाएको छ ।
टेमुप ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज र पठिल होलिडेज् काठमाडौँसँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ ।
नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशीलगायत तथा धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न सकिने श्री एयरलाइन्सले बताएको छ । आर्थिक गतिविधिमा महत्त्वपूर्ण उपलब्धि हुन सक्ने श्री एयरलाइन्सको भनाइ छ ।
उक्त उडान क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
उनका अनुसार ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिनेछ । ‘एक घण्टाको समयावधिसम्म उडान हुन्छ,’ उनले भने,’ नेपालको साइडबाट पर्वत देखाउँछौ । उडान हुँदा ५ देखि १० मिनेटमा यात्रुले पर्वत हेर्न पाउनेछन् ।‘
एयरलाइन्सले चार्टड उडान गर्ने भएकाले ३५ जनाको ९ लाख रुपैयाँ लिने मानन्धरले जानकारी दिए ।
साथै आगामी दिनमा नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौँ ल्याई पशुपति समेत दर्शन गराउने योजना रहेको एयरलाइन्सले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नेपालगञ्जदेखि मानसरोवरसम्म माउण्टेन फ्लाइट गर्न श्री एयरलाइन्सले अनुमति मागेर उडान भरेको जानकारी दिए ।
‘नेपालगञ्जबाट मानसरोवर उडान गर्ने भनेर अनुमति मागेकाले हामीले दियौँ,’ उनले भने,’ कति उचाइसम्म उडान गर्ने र नेपालको वायुयान उडान ठाउँसम्म अनुमति दिएका हौ ।‘
२० हजार फिटमा भिएफआर उडान गर्न पाउँने भूलले जानकारी दिए । २० हजार फिटदेखि माथि उडान गर्नुपर्दा प्राधिकरण तथा महानिर्देशकसँग अनुमति लिनुपर्ने उनले बताए ।
उनका अनुसार कति फिटसम्म जाने कहाँबाट कहाँसम्म जाने त्यसको सम्पूर्ण प्रक्रियाको अनुमति लिएको छ । यसभन्दा अघि पनि केही वायुयानले माउण्टेन फ्लाइट गरेका थिए । नेपालगञ्जबाट मानसरोवर पहिलोपटक हो ।
बुद्ध एयरले पोखरा र विराटनगरबाट माउण्टेन फ्लाइट गरिसकेको छ । बुद्धको ठूलो जहाजबाट पोखराबाबट माउण्टेन फ्लाइट केही समयपछि सुरु हुने उनले जानकारी दिए ।
नर्मल रुटमा भन्दा नयाँ रुटमा उडान गर्नुपर्दा कहाँबाट घुम्ने कसरी जाने सबै कुराको प्रक्रिया पुरा गरेपछि प्राधिकरणको अनुमति लिनुपर्ने उनले बताए । चार्टड उडान गर्नलाई प्राधिकरणले अनुमति दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया