यति एयरलाइन्सले यसै वर्ष १० वटा जहाज बनाउँदै, थप तीन ठाउँबाट उडान भर्ने
तस्विरः फाइल फोटो
काठमाडौँ- यति एयरलाइन्सले यात्रुलाई सहज प्रदान गर्न यस वर्ष नयाँ ठाउँमा उडान गर्ने गरी तीन वटा जहाज थप्ने तयारी गरेको छ । जहाजको संख्या बढेसँगै एयरलाइन्सले सुगम जिल्लाका विमानस्थलबाट उडान भर्ने योजना भएको छ ।
एयरलाइन्सले १० वटा जहाज बनाएपछि सुर्खेत, धनगढी र तुम्लिङटारबाट नियमित उडान गर्ने लक्ष्य राखेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘सन् २०२४ भित्रमा नयाँ जहाज थपेर सुगम जिल्लाका विमानस्थलबाट उडान गर्नेछौ,’ उनले भने,’ यात्रुको सहजतालाई ध्यानमा राखेर र एयरलाइन्सको यात्रु घटेकाले थप नयाँ ठाउँबाट उडान गर्नेछौ ।‘
एयरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुई वटा नयाँ जहाज आज आइपुग्दैछ । व्यावसायिक तथा नियमित उडान गर्नलाई नयाँ जहाज खरिद गरेको बर्तौलाले बताए ।
एयरलाइन्सको जहाज संख्या घटेकाले संख्या बढाउनु परेको उनले बताए । जहाज बिग्रेको र दुर्घटना हुँदा जहाजको संख्या कम हुँदा नयाँ खरिद गर्नुपरेको उनको भनाइ छ ।
एयरलाइन्सले जहाजको संख्या बढाएसँगै माउण्टेन फ्लाइट गर्ने तयारी गरिरहेको छ । पोखराबाट एयरलाइन्सले माउण्टेन फ्लाइट गर्न लागिएको प्रवक्ता बर्तौलाले बताए ।
गत वर्ष यति एयरलाइन्सले १० लाख यात्रुलाई सेवा प्रदान गरेको थियो । यस वर्ष भने साढे सात लाख यात्रुले मात्र सेवा लिएको बर्तौलाले जानकारी दिए ।
यति एयरलाइन्समा नियमित यात्रा गर्ने यात्रुको संख्या घटेको उनले जानकारी दिए । ‘एयरलाइन्ससँग पर्याप्त जहाज नहुँदा यात्रुले अन्य एयरलाइन्स प्रयोग गर्न थालेका छन्,’ उनले थपे,’ बिग्रेको जहाज मर्मत गर्न सामान आयात गर्न कठिनाइ र पार्टस् महँगो परिरहेको छ । रुस र युक्रेनको युद्ध मुख्य कारण रहँदा एयरलाइन्सलाई ठूलो असर परेको छ ।‘
विमान दुर्घटनाले पनि एयरलाइन्सलाई ठूलो असर परेको थियो । केही समय नेपालभर आन्तरिक उडानमा सेवा दिन जहाजमा यात्रुको संख्या घटेको थियो । गत वर्ष यति एयरलाइन्सको पोखरामा विमान दुर्घटना भएको थियो ।
प्रवक्ता बर्तौलाले सञ्चारमाध्यमले नेपालको आन्तरिक विमानमा उडान सुरक्षित नहुने जस्ता अफबाह फैलाएको प्रति आपत्ति जनाए । ‘दुर्घटना आफैँमा दुःखद हो । सडक यात्रामा पनि उत्तिकै दुर्घटना भएर ज्यान जानेको संख्या छ,’ उनी भन्छन्,’ हवाई यात्रामा पूरै जोखिम छ जस्तो गरेर समाचार बाहिर ल्याइएको थियो ।‘
हाल एयरलाइन्ससँग पाँच वटा विमान छ । नयाँ खरिद गरेसँग अबदेखि सात वटा विमान पुग्नेछ । एयरलाइन्सले हाल २० भन्दा बढी विमानस्थलबाट उडान भरिरहेकाे छ ।
यसैवर्ष यतिले आइपिओ पनि जारी गर्ने भएकाे छ । सन् २०२४ मा आइपिओ जारी गर्ने बर्तौलाले जानकारी दिए ।
र, याे पनि
यति एयरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुई वटा जहाज आउँदै
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया