प्रकाश हिमालसँग नजिक भए, स्काउटमा लागेसँगै बदलिए
काठमाडौँ- रामेछापको तिल्पुङमा जन्मिएका प्रकाश राज पाण्डे आँगनबाटै झलमल देखिने हिमाल हेर्दै हुर्किए । कहिले त्यो चुचुरो बाट हाम्रो घरतिर हेर्दा हाम्रो घर देखिन्छ कि देखिंदैन होला भन्ने सोच्दै बस्थे भने कहिले त्यो टुप्पोमा कस्तो ठाउँ होला, पुग्न पाए पनि हुन्थ्यो भनी कल्पना गर्दथे ।
दशकौं अगाडिको बाल्य अवस्थाको विचार गर्दै उनी अहिले भन्छन्, हिमाल आरोहणको विषयमा त थाहा थिएन तर पनि टुप्पामा पुग्न पाए मजा हुन्थ्यो होला भन्ने लाग्थ्यो त्यो बेला ।
गौरीशंकर हिमाल, नुम्बुर हिमाल आदि हिमालहरू हेर्दै कल्पना गर्दै बसेका हुन्थे पाण्डे । बुवाआमाले पढाइका लागि ललितपुर लगेसँगै उनको जीवन बदलियो । रामेछापको घर चहलपहल भइरहने ठाउँ भएपनि गाउँले जीवनबाट ललितपुरको इमाडोलमा पुगेपछि उनको दिनचर्या अर्कै भयो ।
हिमालहरू उनीबाट टाढा भए । ललितपुरमा आकाश खुलेको बेला देखिने हिमालहरू पर उत्तरी क्षितिजमा देखिने सेतो लहरमा मात्रै सीमित भयो । विद्यालयमा साथीहरु नयाँ भए, नयाँ शैलीको पढाइलेखाइले सोचमा पनि धेरै परिवर्तन ल्यायो बाल मष्तिष्कमा । तर पनि हिमालको टुप्पामा पुग्ने सपना मनमा गढेकै रहेछ, उनी सम्झन्छन् ।
हाल ललितपुरको महालक्ष्मी नगरपालिका २ मा बसोबास गरिरहेका प्रकाश राज पाण्डेले १ दर्जन हाराहारीमा हिमालहरू आरोहण गरिसकेका छन् । पछिल्लोपटक उनले अफ्रिकाको सबैभन्दा अग्लो चुचुरो किलिमन्जारो आरोहण गरे ।
२०२३ को अक्टोबर ३१ मा उनले उक्त हिमालको सफल आरोहण गरेका हुन् । उनको सेभेन समिट अभियानको एक हिस्साको रुपमा अफ्रिकी हिमालको आरोहणमा गएका थिए उनी ।
विश्वका सातै महादेशका उच्च हिमशिखरको आरोहण पूरा गर्ने विशेष उपलब्धिलाई सेभेन समिट भनिन्छ जुन हिमाल आरोहणको क्षेत्रमा विशेष नै मानिन्छ । यसै अभियान अन्तर्गत उनले रुसको एलब्रुस हिमा पनि आरोहण गरिसकेका छन् । वाग्नर समूह भनिने निजी सैन्य समूहले विद्रोह गरी मस्कोमा मार्च पास गरिरहेको बेला उनी रुस पुगेका थिए ।
रुस–युक्रेन युद्ध चलिरहेकै थियो, उनी संसारकै सबैभन्दा चिसो क्षेत्र मानिने साइबेरियामा पर्ने ककेसस हिमश्रृंखला अन्तर्गत रहेको उक्त हिमालको आरोहणका लागि प्रस्थान गरेका थिए । युरोपको सर्वोच्च हिमालको रुपमा रहेको एलब्रुसको आरोहण उनले २०२३ जुन ३० मा गरेका थिए भने लगत्तै त्यसै हिमालको अर्को चुचुराको पनि आरोहण गर्न सफल रहेका थिए ।
यो अभियान उनको लागि विशेष रहेको उनी बताउँछन् । उनी भन्छन्, 'आरोहण अभियानको सफलता मात्रै होइन यो अभियानबाट मैले देश र विदेश चिन्ने अवसर पाउँछु जुन एक नेपालीको रुपमा साँच्चिकै महत्वपूर्ण रहन्छ ।'
‘हिमाली देशको नागरिकको रुपमा हिमाली देशको दुख र हिमालले दिएका अवसर र चुनौतीका विषयमा मैले ती देशका आमसञ्चार माध्यममा आफ्ना धारणा र दृष्टिकोण राख्ने मौका पाउँछु,’ उनले भने ।
उनलाई आफ्नो देशको हिमालको बारेमा प्रचारप्रसार गर्ने अवसर त छँदैछ दुई देशको सम्बन्ध विस्तारमा पनि केही योगदान गर्न सक्छु भन्ने लागेको छ । विश्वको जलवायु परिवर्तन र त्यसका असरले हाम्रो जस्तो विकासोन्मुख मुलुकलाई परेको नकारात्मक असरका बारेमा प्रस्ट्याउने मौका पनि मसँग हुन्छ । त्यसैले मेरो जीवन, मेरो आरोही जीवन र नेपालीको रुपमा पनि मैले केही अवसर प्राप्त गर्ने भएकोले यो अभियान विशेष छ मेरा लागि ।
ललितपुरे जीवन उनका लागि अर्को एक हिसाबले पनि महत्वपूर्ण रहेको उनी सुनाउँछन् । ललितपुरमा अध्ययन गर्ने क्रममा उनले स्काउट भन्ने अन्तर्राष्ट्रिय युवा अभियानसँग साक्षात्कार गर्न पाए । 'मलाई स्काउटले धेरै कुरा सिकायो', उनी सम्झन्छन् ।
नेतृत्व क्षमता, कसैका सामु निर्भीक भएर बोल्ने क्षमता र सामाजिक काममा लाग्ने प्रेरणा उनलाई स्काउटले दियो । स्काउटमा लागेपछि बेलाबेलामा आयोजना हुने क्याम्पमा सहभागी भएसँगै साहसिक क्रियाकलापमा उनलाई जोडिदियो ।
सुषुप्त अवस्थामा उनीभित्र रहेको हिमाल चढ्ने धोको स्काउटमा लागेसँगै जुरमुरायो । डोरीका क्रियाकलापहरु र अप्ठेरा स्थानहरूमा पनि समूहमा मिलेर काम गर्दा पुग्न सकिने कामले उनलाई कुनै दिन हिमाल चढ्न सकिन्छ भन्ने तर्फ डोर्याएको उनी बताउँछन् ।
स्काउट र यसको अभियानलाई बुझेर स्काउट बालकको रुपमा सहभागी हुँदाहुँदै उनी उमेर बढेसँगै स्काउट मास्टर पनि बन्न सफल भए । त्यतिबेलासम्म स्काउटको अन्तर्राष्ट्रिय अभियानले १०० वर्ष पूरा गरिसकेको थियो ।
स्काउट अभियानको शतवार्षिकी विशेषमा नेपालले समग्र स्काउट अभियानलाई एक हिमाल उपहार दिँदै थियो । रसुवाको लाङटाङ क्षेत्रमा उर्केमा हिमाल नाउँको एक चुचरोलाई स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाउँमा नामाकरण गर्ने नेपाल स्काउटको अनुरोधलाई नेपाल सरकारले अनुमोदन गरेर सन् २००७ मा बेडेन पावेल स्काउट पिक नामाकरण गरेको थियो ।
नेपाल स्काउटका सदस्य सहितको टोलीले त्यसको हिमालमा समुद्घाटन आरोहण गरेको जसका सदस्य ललितपुरका स्काउट पनि थिए । प्रकाश राज पाण्डेले त्यो अभियानलाई नजिकैबाट नियालिरहेका थिए । उनमा पनि स्काउट सदस्यको रुपमा उक्त हिमाल आरोहण गर्ने लालसा पलाउन थालिसकेको थियो ।
पहिलो आरोहण पछि उक्त हिमालमा कुनै पनि नेपाली आरोहीले आरोहण गरेको थिएन । त्यो चुनौती स्वीकार गर्दै उनले २०१६ मा स्काउट पिकको सफल आरोहण गरे । फेरि २०१७ मा बेलायती स्काउट टोलीलाई समेत लिई अर्को पटक उक्त हिमालको आरोहण गरे ।
यसरी स्काउट सदस्यको रुपमा स्काउटिङ अभियानमै समर्पित हिमालको आरोहण गर्नुलाई उनले ठूलो उपलब्धि मानेका छन् । उनी भन्छन्, स्काउटले नैं मलाई साहसिक कामतर्फ लगेको थियो र त्यसैबाट हिमाल आरोहणको सपना पूरा गर्न पनि मैले सकें । त्यो पनि २ पटक हिमाल आरोहण गर्नु र विदेशी स्काउटहरुलाई समेत हिमाल आरोहणमा लैजान सक्नु मेरो सफलता हो ।
यसबाट थप विदेशी स्काउटहरू उक्त हिमालको आरोहणमा आउनसक्ने उनको अनुमान छ । स्काउट संसारका सबैजसो देशमा चलिरहेको छ जसमा करोडौं युवा, बालबालिका तथा वयस्कहरू यस अभियानमा समाहित छन ।
त्यसको हिस्सा पनि नेपालतर्फ आकर्षित गर्नसके देशको पर्यटन विकासमा टेवा पुग्ने थियो । स्काउट हिमालको आरोहण पछि पनि उनी चुप लागेर बसेनन् बरु उनी सगरमाथाको लक्ष्य लिएर योजना बुन्दै गरे ।
साथमा, कुनै बलियो आर्थिक श्रोत नभएपनि उनी विश्वको सर्वोच्च हिमाल चढ्न तम्तयार थिए । उनीसँग थियो त केवल साहस, स्काउट पिकको अनुभव, उकास्ने साथीभाइ र सहयोगी परिवार ।
त्यसैको सहयोगमा उनी बाल अधिकार र भूकम्पद्धारा क्षतिग्रस्त विद्यालय पुननिर्माणको नारा लिई २०१९ मे ३१ मा संसारकै उच्च हिमशिखर सगरमाथा आरोहण गर्न सफल भए । सगरमाथाको सफलताले उनलाई संसारभरका स्काउटहरूमाझ चिनायो । विभिन्न संघसंस्थाबाट सम्मानित समेत भए उनी । विश्वकै उच्च हिमाल आरोहण गरिसकेपछि आरोहणकै क्षेत्रमा अझ थप केही गर्ने उर्जा आएको उनी बताउँछन् ।
अर्को आरोहणको तयारी गर्दै उनी सामाजिक कामहरूमा समेत सक्रिय भए । दुर्गम क्षेत्रका बालबालिकाहरूलाई राजधानीका नाउँ चलेका विद्यालयहरूमा छात्रवृत्ति उपलब्ध गराई शिक्षा प्रदान गराउने काम पनि उनले गरेका छन ।
त्यो काम उनले अहिले पनि गरिरहेका छन । उनको पहलमा कैयन् बालबालिका विभिन्न विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्दैछन् । मनाङको दुर्गम भेगमा उनले स्वास्थ्य शिविर सञ्चालन गरे जसको लाभ स्थानीयले लिएका थिए भने स्वास्थ्य सामग्रीहरू पनि उनले स्थानीयहरूमा उपलब्ध गराएका थिए ।
स्काउट अभियान र सामाजिक अभियानमा लाग्दै गर्दा उनलाई विभिन्न संस्थाले सद्भावना दूत समेत नियुक्त गरेका थिए । ह्याबिटाट फर ह्युमानिटी नामक संस्थाको सद्भावना दूत भई चितवनका चेपाङहरूको बस्ती विकासका लागि समेत उनले काम गरिसकेका छन् ।
उनले त्यहाँका बालबालिकाहरूको लागि शिक्षा र व्यवस्थित रहनसहनका लागि समेत काम गरेका छन । स्काउटसहितका सामाजिक संस्थामा उनले आजपर्यन्त कामहरू गरिरहेका छन् ।
उनी अहिले सेभेन समिट अभियानमा जुटेका छन जस अन्तर्गत २ वटा हिमाल उनले आरोहण गरिसकेका छन । उनको अबको अर्को अभियान दक्षिण अमेरिकी महादेशको उच्च हिमालको आरोहण गर्ने रहेको छ । त्यसका लागि उनी छिटै अर्जेन्टिना तर्फ प्रस्थान गर्नेछैन् ।
त्यहाँ उनले एकोन्कोगुआ नाउँको हिमाल आरोहण गर्नेछन् र त्यसपछि उत्तर अमेरिकी महादेशको हिमाल चढ्ने योजना रहेको सगर्व सुनाए । संयुक्त राज्य अमेरिकाको अलास्कामा रहेको डेनाली हिमाल निकै चुनौतीपूर्ण रहेको पनि उनले सुनाए ।
त्यसपछि क्रमशः अन्य महादेशका उच्च हिमालहरु आरोहण गर्दै नेपालमै आएर सगरमाथा पुनः आरोहण गरी यस अभियानको अन्त्य गर्ने उनको योजना छ । सबै योजना अनुसार नैं भए २०८३ सम्ममा यो अभियानको समापन गर्नेछन् ।
उनले किलर माउन्टेनको नाउँले चिनिने मनास्लु हिमालको पनि आरोहण गरेका छन् । विश्वको चौथो उच्च हिमालको रुपमा रहेको मनास्लुको आरोहण उनले २०२१ मा गरेका थिए । सुन्दर तर टेक्निकल रुपमा गाह्रो मानिएको हिमाल आमादब्लम र आइल्याण्ड पिकको समेत आरोहण उनले गरिसकेका छन् ।
हिमालहरूको उचाइमा पुग्दै गर्दाको जोश, जाँगर र उत्साहसँगै आर्थिक व्यवस्थापन गर्न निकै कठिन रहेको उनी स्वीकार्छन् । सबैले सफलता प्राप्त गरेको मात्रै देख्छन्, बधाई दिन्छन् तर आर्थिक पक्षको व्यवस्थापन सधैं उनका लागि कठिन हुने गरेको उनी बताउँछन् । मिडिया चलाउन सक्ने ठूला आरोहीहरू तर्फ मात्रै सबैको ध्यान जाने र अभियानहरूमा स्पोन्सर पनि उतै तानिने गरेको दुखेसो उनको छ ।
कतिपय आरोहीहरूले आफ्नो अभियानबाट नाफा कमाएका होलान् वा कमाउने उद्देश्य राखेका होलान् तर आफ्नो उद्देश्य बचत गर्ने वा नाफा कमाउने नरहेको पाण्डे बताउँछन् । अभियानको खर्च मात्रै पुग्ने गरी व्यवसायीक साझेदार पाउनसके पनि आफ्नो अभियान सहज हुने उनको आँकलन छ ।
क्राउड फण्डिङबाट समेत रकम प्राप्त गरेको अनुभव उनीसँग छ । ठूला दाता वा प्रायोजकको आँखामा पर्न चाहेको उनको विचारबाट प्रष्ट हुन्छ । युवा आरोहीहरूलाई साथ दिन उनी सबै व्यवसायीहरूलाई आह्वान गर्छन् ।
आरोहणबाट सिकेको अनुभव र ज्ञानलाई उनी युवा आरोही र बालबालिकाहरूमा साहसिक कार्यमा लाग्न प्रेरणा दिन उपयोग गर्ने बताउँछन् । मैले सगरमाथा आरोहण गरिसकेपछि विद्यालयहरूमा गई बालबालिकाहरू माझ आफ्नो अनुभव शेयर गरें, उनी स्मरण गर्छन् ।
बालबालिकाहरू फोटो र भिडियो हेर्दै अनौठा सवाल गर्दा उनलाई पनि बाल मस्तिष्कले कसरी सोच्दो रहेछ भन्ने जानकारी प्राप्त भएको रहेछ । त्यसैले उनलाई आफ्ना सबै अनुभवलाई युवा पिँढीलाई सेयर गर्ने र उनीहरुलाई साहसिक पर्यटन तर्फ आकर्षित गर्ने उनको दीर्घकालीन योजना रहेछ ।
‘देशको कायापलट पर्यटनले मात्रै गर्नसक्छ । कृषिप्रधान देश भनिए पनि जलवायु परिवर्तन लगायतका कारणले कृषिबाट सोचेजस्तो प्रतिफल पाउन सकिएको छैन भने उद्योगधन्दामा पनि ठूला र दीर्घकालीन लगानी भित्र्याउन नसक्दा वैदेशिक लगानीको विषय गफमै सीमित भएको छ । त्यसकारण प्रशस्त सम्भावना भएको पर्यटन नैं देशको अवस्था परिवर्तन गर्ने माध्यम हो, अन्य क्षेत्र मैले देखिरहेको छैन,’ उनको आँकलन छ ।
ठूला व्यवसायीहरूले पर्यटन व्यवसायमा हात हाल्नुपर्ने र विदेशिएका नेपालीहरूले पनि स्वदेश फर्की यसै क्षेत्रमा लगानी बढाउनुपर्ने उनको राय छ । सरकारले पनि सडक, विद्युत र सञ्चारका पूर्वाधार पर्यटनको सम्भावना भएको क्षेत्रमा लगेर व्यवसायीले लगानी गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ ।
उनका पछिल्ला अभियानमा मकालु आउटफिट नामको एडभेन्चर गियर उत्पादन गर्ने कम्पनीले उनलाई साथ दिइरहेको छ । उनलाई आवश्यक सामग्रीहरू उक्त कम्पनीले उपलब्ध गराउँछ उनलाई । साहसिक यात्रामा सही साझेदार हुनुको निकै महत्व उनलाई थाहा छ । त्यसैले मकालु आउटफिटको साथले उनलाई थोरै भएपनि आडभरोसा दिएको छ ।
उनलाई प्राप्त हुने साझेदार कम्पनी र प्रायोजनको दायरा अझै फराकिलो र बलियो हुनेमा उनी आशावादी छन् । उनको यो अभियानमा उल्लेख्य सहयोग र साझेदारीका लागि अपिल पनि यसै मार्फत उनले गर्न चाहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया