पर्यटन

नेपालमा कति ड्रोन दर्ता भए र उडान अनुमति लिन के गर्नुपर्छ ?

अतिन आचार्य |
असार १४, २०८१ शुक्रबार १७:२३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणमा पाँच सय ड्रोन उडान गर्न दर्ता भएका छन् । सरकारी, निजी तथा व्यक्तिगत रूपमा नेपालमा भित्र्याएको ड्रोन हालसम्म पाँच सय वटा दर्ता भएको प्राधिकरणले जनाएको छ ।

ड्रोन उडान गर्न अनिवार्य प्राधिकरणमा दर्ता गर्नुपर्ने व्यवस्था छ । ड्रोन प्राधिकरणमा दर्ता नभएसम्म त्यसलाई कानुनी रूपमा मान्यता दिन नसकिने प्राधिकरणका सूचना अधिकारी तथा सह-प्रवक्ता ज्ञानेन्द्र भूलले बताएका छन् ।


प्राधिकरणमा हालसम्म पाँच सय ड्रोन दर्ता भएको र सय वटा सरकारी कार्यालयले ड्रोन दर्ता गराएको उनले जानकारी दिए ।

उनका अनुसार ड्रोन दर्ता गरेपछि प्राधिकरणबाट 'युनिक आइडेन्टिफिकिशेन नम्बर' उपलब्ध हुन्छ । दर्ता गर्ने व्यक्तिको हकमा नागरिकता वा राहदानी तथा संस्थाको हकमा संस्था दर्ताको प्रमाणपत्र हुनुपर्छ । उडान सञ्चालनको उद्देश्य र  उडानको स्पेशिफिकेसन तथा म्यानुएलको प्रतिलिपि हुनुपर्छ । साथै स्वदेशमा खरिद गरेको भए भ्याटसहितको बिल र विदेशबाट ल्याएको भएमा भन्सारसहितको बिल पेस गर्नुपर्छ । दर्ता भइसकेपछि प्राधिकरणले उपलब्ध गराएको युनिक आइडेन्टिफिकिशेन नम्बर' ड्रोनमा सुरक्षितसाथ टाँस्नुपर्छ ।

अनलाइनबाट ड्रोन दर्ता गराए पनि ड्रोन देखाउन प्राधिकरण जानुपर्ने व्यवस्था रहेको सह-प्रवक्ता भूलले प्रस्ट पारे । ड्रोन दर्ता र नवीकरण गर्न युएस १० डलर लाग्ने उनले जानकारी दिए । उनले वार्षिक रूपमा ड्रोन दर्ता गर्नुपर्ने बताए ।

'यसअघि ड्रोन प्राधिकरणमा आएर दर्ता गर्नुपर्थ्यो । अहिले अनलाइनबाट दर्ता गर्न मिल्छ,' उनले भने, 'अहिले भने नेपाल नागरिक प्राधिकरणको वेबसाइट खोलेर दर्ता गर्न मिल्छ । कोही बेला अनलाइन सिस्टममा समस्या आएको समय तत्काल दर्ता हुन्न ।'

सरकारी तथा निजी जुनसुकै संस्थाले ड्रोन ल्याए पनि प्राधिकरणमा ड्रोन दर्ता गर्नुपर्ने भूलको भनाइ छ । ड्रोन दर्ताको समयावधि एक वर्षसम्म हुने उनले जानकारी दिए ।

२५० ग्राम वा सो भन्दा कम तौल भएका ड्रोन दुई सय फिटसम्म उडान गर्न जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनुपर्ने उनले जानकारी दिए । 'आवश्यक कागजात सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ,' उनले भने, 'जिल्ला प्रशासनले अनुमति दिँदा नागरिक उड्डयन प्राधिकरणको सम्बन्धित कार्यालयमा समन्वय गर्नुपर्छ ।'

ड्रोनको २५० भन्दा बढी तौल भएमा गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था छ । सुरक्षा निकायले ड्रोन उडान गर्दा सम्बन्धित मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणको अनुमति लिनुपर्छ ।

२५ केजीभन्दा बढी तौलको ड्रोन उडान गर्दा तेस्रो पक्षको बीमा अनिवार्य गर्नुपर्ने उनले जानकारी दिए । उनले कुनै-कुनै समयमा ड्रोनले लागेर दुर्घटना हुन सक्ने उल्लेख गरे ।

विमानस्थलभित्रको पाँच किलोमिटर वरिपरि ड्रोन उडान गर्न नपाइने भूलले बताए । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको पाँच किलोमिटर भित्रमा पनि उडान गर्न नपाइने उनले जानकारी दिए ।

पर्यावरणीय र जैविक महत्त्वको दृष्टिले संरक्षित क्षेत्र, आरक्ष तथा खनिज क्षेत्रका स्थानमा ड्रोन उडान गर्न पाइँदैन । सुरक्षा कारबाही भइरहेको दंगाग्रस्त क्षेत्रमा र  संघीय, प्रदेश र स्थानीय सरकारले समय-समयमा सूचनामार्फत जानकारी गराइएको क्षेत्रमा उडान गर्न नपाइने व्यवस्था छ ।

सैनिक वा सुरक्षा निकायको मुख्यालय, तालिम केन्द्र अवस्थित क्षेत्रको एक हजार मिटर र अन्य सुरक्षा इकाई रहेको ५ सय मिटरको आसपास उडान गर्न नपाइने व्यवस्था छ ।

काठमाडौँ उपत्यका भित्र माइतीघर मण्डला,स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र (काठमाडौँ, भक्तपुर र ललितपुर)  लगायतका धार्मिक तथा सम्पदा क्षेत्रमा उडान गर्न पाइँदैन । सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय वा विशिष्ट पदाधिकारीहरूको कार्यालय वा निवास वरपर एक हजार मिटर वरपर उडान गर्न पाइँदैन ।

उपत्यका बाहिर स्थानीय प्रशासन वा अधिकार प्राप्त निकायले निर्धारण गरे अनुसारका धार्मिक, पुरातात्त्विक, ऐतिहासिक वा नियन्त्रित भनेका क्षेत्रमा उडान गर्न पाइँदैन ।

उडान गर्ने व्यक्तिले के-के सर्त पूरा गर्नुपर्छ ?

उडान गर्ने व्यक्तिले १८ वर्ष पूरा गरेको हुनुपर्छ । रेडियो फ्रिक्वेन्सीसम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्छ । उडान उपकरण सम्बन्धी प्राविधिक ज्ञान भएको हुनुपर्ने । उडान अवतरण सम्बन्धी आधारभूत प्राविधिक ज्ञान हुनुपर्ने । उडान गर्ने क्षेत्रको आधारभूत ज्ञान (पुरातात्त्विक, धार्मिक, ऐतिहासिक, सामाजिक/सामरिक लगायतका संवेदनशील क्षेत्र) हुनुपर्छ । नियन्त्रित क्षेत्र सम्बन्धीको ज्ञान हुनुपर्ने ।

कस्तो समयमा ड्रोन उडान गर्न पाइन्छ ?

दिनको उज्यालोभर ड्रोन उडान गर्न पाइन्छ । ग्राउण्ड भिजिबिलिटी ५ किलोमिटर र क्लाउड सिलिङ ४५० न्यूनतम् रहेको अवस्थामा । सतहको वायुको बहाव १० नोट्सभन्दा बढी नभएको र पानी, चट्याङ, असिना र हिमपात नभएको अवस्थामा उडान गर्न पाइन्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x