पर्यटन

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

इकागज |
असार १८, २०८१ मंगलबार ११:५० बजे

काठमाडौँ - सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।


बङ्गलादेशबाट तीन हजार आठ सय ५७, बेलायतबाट एक हजार नौ सय ६९, अष्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३ र दक्षिण कोरियाबाट आठ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

 कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।
 


Author

थप समाचार
x