अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व
काठमाडौँ- द्वारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो । यही होटलको नेतृत्व सम्हाल्ने अम्बिका श्रेष्ठ पर्यटन क्षेत्रको उदाहरणीय प्रतिष्ठित नेतृत्व पनि । द्वारिकाज होटल नेपाली परम्परागत कला, संस्कृति र सभ्यताको अनुपम उदाहरण पनि हो । स्वदेश मात्र नभई विश्व पर्यटन बजारमा कहलिएको प्रसिद्ध बुटिक होटलका रूपमा स्थापित द्वारिकाजलाई आजको अवस्थामा ल्याउन उक्त होटलकी संस्थापक अम्बिका श्रेष्ठको अतुलनीय योगदान रहेको छ । नेपालको पर्यटन उद्योग खासगरी ‘हस्पिटालिटी’ क्षेत्रका प्रतिष्ठित नेतृत्व श्रेष्ठ अब हामी माफ कहिल्यै नफर्कने गरी अस्ताएकी छन् । वरिष्ठ पर्यटन व्यवसायी श्रेष्ठको ९२ वर्षको उमेरमा आज दुःखद निधन भएको हो ।
पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले बताए । 'उहाँ (अम्बिका श्रेष्ठ) नेपालको लागि सच्चा स्वयंसेवक हो, पर्यटनको मात्रै हैन कुनै पनि सामाजिक कार्यमा होस् या पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि उहाँ जतिको दक्खल व्यक्ति बिरलै पाइन्छ,' उनले भने, 'श्रेष्ठको निधनले पर्यटन क्षेत्रमा एक खालको ‘ग्याप’ रहन्छ । पछिल्लो पुस्ताले उहाँबाट धेरै कुरा सिकेको छ । उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ ।'
नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रूपमा सफल एवं सुविधा सम्पन्न तारे होटल रिसोर्टहरूको सञ्चालन गर्ने स्व. श्रेष्ठले प्रारम्भ गरेको महिला उद्यमशीलताको विकास स्वदेशमा मात्र नभई विदेशमा प्रशंसित छ । उनी र उनको परिवारबाट प्रवर्द्धित हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय रूपमा रहेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्ने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियन्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताए । उनले भने, 'द्वारिकाज होटल पाँचतारे ‘हेरिटेज’ होटल हो । देशको कला, संस्कृति र सभ्यताको समिश्रण गरेर व्यावसायिक रूपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरेर विश्व पर्यटन बजारमा मानको रूपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।'
पर्यटन क्षेत्रका विभिन्न अगुवा सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर पहिचान गर्न श्रेष्ठ र उनले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको छ । अध्यक्ष शाहले श्रेष्ठ भौतिक रूपमा नरहे पनि श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्याएको योगदान सधैं चिरस्मरण रहने बताए ।
नयाँ पुस्ताको लागि प्रेरणादायी नेतृत्व स्व श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएकी छन् । पर्यटन क्षेत्रमा मात्रै नभई महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तीकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको छ ।
श्रेष्ठको निधनले मुलुकको समग्र पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल आउने पर्यटक पाहुनालाई परम्परागत रैथाने खानाको परिकार पस्केर नेपालको आतिथ्य पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गरेकी थिइन् । साथै नेपाल आउने विशिष्ट पाहुनाको रोजाई पनि द्वारिकाज होटल हुन्थ्यो ।
वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागी हुन्थिन् । उनको उपस्थिति र ऊर्जाशील भनाइले उनी उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाउने गरेको अनुभव सुनाउँछन् वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य । 'अम्बिका श्रेष्ठ पर्यटनको लागि आइकोनिक लिडर हो, उहाँको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,' उनले भने, 'श्रेष्ठको व्यक्तित्व नै महिला सशक्तीकरण, पर्यटन उद्योगलगायतमा ख्याति कमाउनुभएको छ । बोलेरभन्दा पनि काम गरेर परिणाम देखाउने श्रेष्ठ पर्यटनको देवीको विम्बको रूपमा स्थापित हुनुहुन्छ । उहाँले हस्पिटालिटी सेवामार्फत गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ ।'
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनबाट पर्यटन क्षेत्रले अभिभावक गुमाएको बताए । 'श्रेष्ठको गुणस्तरीय पर्यटन, वातावरणमैत्री पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा अतुलनीय योगदान रहेको छ,' उनले भने, 'श्रेष्ठ नयाँ पुस्ताका लागि ऊर्जाशील र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि उहाँको उत्तिकै सक्रियता थियो ।'
विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मिएकी श्रेष्ठले पटना युनिभर्सिटीबाट वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्ययन गरेकी छन् । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग बिहे भएपछि काठमाडौँ छिरेकी श्रेष्ठ श्रीमानको मृत्युपछि द्वारिकाज होटलको अध्यक्ष भइन् ।
पछिल्लो समय उनकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको नेतृत्व सम्हालिरहेकी छन् । सफल महिला उद्यमीको रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । विभिन्न सामाजिक संस्थासँग आबद्ध छन् ।
यसैबीच नेपाली पर्यटन क्षेत्रकी अग्रणी व्यक्तित्व श्रेष्ठको असामयिक निधनप्रति होटल सङ्घ नेपालले गहिरो दुःख प्रकट गर्दै स्व श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया