पर्यटन बोर्ड र एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड
काठमाडौँ - नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।
प्यासिफिक ट्रावल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्रदान गरिएको हो । परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर/गाउँ पालिकाहरूसँगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो ।
परियोजनाले यस अघि सन् २०२२ र २०२३ मा पनि पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तर दायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो ।
परियोजनाले निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको मूल्यांकन स्वरूप अवार्ड प्राप्त भएको र यसले थप कार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिइन् ।
परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरहरूलाई अल्पकालीन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान सहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकाले बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।
यो अवधिमा परियोजनाले महिलाहरूका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको लागि ट्रेकिङ्ग गाइड, तथा सातै प्रदेशका १५० पालिकाहरुको लागि पर्यटन रणनीति निर्माण , १३० वटा विद्यालयहरूमा राष्ट्रिय दिगो पर्यटन क्लब गठन गरि पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसँग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थाहरूसँगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयलहरू निर्माण गरिएको परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया