पर्यटन

ऐनापहरातर्फ पर्यटकको आकर्षण बढ्दै

इकागज |
भदौ ३०, २०८१ आइतबार ६:४८ बजे

दमौली (तनहुँ)- आँबुखैरेनीको ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । तनहुँको आँबुखैरेनी- ४ मा पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेको हो ।

 झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उनले बताए । नेपालीले भने, “गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ ।”


राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताए ।

चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउनुहुन्छ । उनले भने,’ यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।”

झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताए ।

ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ ।

सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ ।

ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

 


Author

थप समाचार
x