पर्यटन

ठमेलमा रातको समयमा टयाक्सी छिर्न नपाउने तयारी गर्दै

इकागज |
असोज १०, २०८१ बिहीबार १३:१६ बजे

काठमाडौँ- ठमेलमा रातको समयमा टयाक्सी छिर्न नपाउने भएका छन् । ठमेल पर्यटन विकास परिषद्ले रातको समयमा आवागमनमा अवरोध, अनैतिक क्रियाकलाप, अवाञ्छित गतिविधि र होहल्ला बढेको भन्दै टयाक्सीलाई प्रवेश निषेध गर्ने तयारी गरिरहेको छ ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले राति १० देखि बिहान ४ बजेसम्म टयाक्सी छिर्न नपाउने गरेर गृहकार्य गरिरहेको जानकारी दिए । उनका अनुसार रातीको समयमा ठमेलमा सडकका बीच र छेउछाउमा टयाक्सी पार्किङ गर्दा भीडभाड बढ्दै गएको हो । बीच बाटामा पार्किङ गरेर टयाक्सी रोकिएका हुन्छन् ।


‘टयाक्सीकै कारण अनैतिक क्रियाकलापको मोलमोलाइ हुने गरेको छ । टयाक्सीले त्यस्ता मानिसहरूको ओसारपसार गर्छन् । बीच सडकमा टयाक्सी रोकेर बसिदिने भएकाले टयाक्सी प्रवेश निषेधको अवधारणा ल्याउन लागिएको हो,’ उनले भने, ‘ यस विषययमा कसरी अगाडि बढ्ने जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको छ । जिल्ला प्रशासनबाट अनुमति आउनसाथ यो व्यवस्था लागू हुन्छ ।‘

यहीँ वर्षदेखि पर्यटन विकास परिषद्ले टयाक्सी प्रवेश निषेध लागू गर्ने अध्यक्ष अधिकारीले धारणा व्यक्त गरे ।

केही समयअघि देखि ठमेलभित्र सवारीसाधन तथा रिक्साले पिक एण्ड ड्रप लागू भइसकेको छ । यसअघि बाटोमा टयाक्सीले बाटा-बाटामा यात्रु खोज्न रोकेर बस्ने गरेका थिए । कुनै पनि सवारीसाधनले बाटामा रोकेर बस्न पाउनेछैनन् । अध्यक्ष अधिकारीले स्वदेशी तथा विदेशी पर्यटक दुःख दिने व्यवसायीलाई परिषद्का गार्डले रोक्ने र त्यस्ता गतिविधि गर्नेलाई नेपाल प्रहरीको जिम्मा लगाइने पनि बताए । 

त्यसैगरी, परिषद्ले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न २० सुरक्षा गार्ड परिचालन गरिसकेको छ ।

दिवा र रात्रीकालीन समयमा गरेर २० जना सुरक्षागार्डले ठमेल वरपर गरिरहेका छन् । उनले दिनमा १२ जना र रातमा ८ जना सुरक्षाकर्मी परिचालन हुने बताए । उनका अनुसार ठमेलको ११- १२ वटा नाकामा सुरक्षागार्ड परिचालन भइरहेका छन् ।

बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म र भोलिपल्टको बिहान ४ बजेसम्म सुरक्षागार्डले गस्ती गरिरहेका छन् । परिषद्का सुरक्षागार्डले नेपाल प्रहरी र महानगरका प्रहरीसँग समन्वय गरेर काम गर्ने परिषदका अध्यक्ष अधिकारीले जानकारी दिए ।

 


Author

थप समाचार
x