पर्यटन

मुस्ताङको मार्फामा पदमार्ग निर्माण

इकागज |
असोज १८, २०८१ शुक्रबार १५:१९ बजे

तस्विरः फाइल फोटो

म्याग्दी- मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा पदमार्ग निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय मुस्ताङको ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको हो ।

मार्फा गाउँको शिरमा करिब एक किलोमिटर पदमार्ग निर्माण भएको कार्यालयले जनाएको छ । उक्त पदमार्गको डिलमा बक्ति जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको कार्यालयका प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिए ।


मुस्ताङ आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले पर्यटकीय गाउँ मार्फालाई सौन्दर्यकरण सहित पूर्वाधार निर्माण गरिएको उनले बताए । यसअघि मार्फा देखि स्याउ उद्यान जाने पदमार्ग उकालो र साघुरो थियो । मार्फाका वडा अध्यक्ष मनबहादुर हिराचनले पदमार्ग बनेपछि मार्फामा आउने पर्यटकहरु स्याउ उद्यान र गुम्बामा भुल्न थालेका बताए ।

गाउँमाथिको पदमार्गको डिलमा जडान गरिएको बत्तीले रातको समयमा मार्फालाई आकर्षण देखाएको उनले बताए । पर्यटकहरुले डिलमा रहेको स्याउ आकृतिको प्रतिमा र स्याउको राजधानी मार्फा गाउँलाई पृष्ठभूमिमा पारेर फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् ।

सघन सहरी विकास तथा भवन आयोजना बागलुङ मार्फत निर्माणाधिन स्याउ उद्यानदेखि स्याउबारी र मार्फा गाउँको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । स्याउबारी, थकालीको रहनशहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा र गुफा मार्फाको पर्यटकीय आकर्षण हुन् ।

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीऔ अघिको मौलिकता बचाएर राखेका छन् ।

कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुख्खा पहाड छ । ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफा सुग्घर र चिटिक्क छन् । बसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका स्याउ बगैचा डुल्डा प्रकृतिको काँखमा रमाएको महशुस हुने काठमाडौबाट मार्फा घुम्न आएकी रिता खत्रीले सुनाए ।

धौलागिरि हिमाल फेदको धमाङबाट बसाई सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ति बसालेको एक सय ५० घरधुरीको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ ।

 स्वदेशी तथा विदेशी चलचित्रहरु छायांकन भएको मार्फाका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् । मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा पनि अर्को आकर्षण हो ।

उक्त गुम्बामा विपद् नहोस, खेतीबाली सप्रियोस र रोग ब्याधी नआवस भनेर पुजाआजा गर्ने चलन छ । जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामाकरण गरिएको छ । इकाइ कावागुचीलाई नेपाल— जापान सम्बन्धका दूत मानिन्छ । -रासस

 


Author

थप समाचार
x