पर्यटन

दसैँ बिदाले बढायो तनहुँमा आन्तरिक पर्यटक

इकागज |
असोज २९, २०८१ मंगलबार ७:० बजे

तस्विरः फाइल फोटो

दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तनहुँका पर्यटकीय गन्तव्यस्थल बन्दीपुर, मानुङकोटमा पर्यटकको चहलपहल उल्लेख्य वृद्धि भएको छ ।

पछिल्ला केही वर्र्षमा दसैँ बिदामा घुमघामको प्रचलनले पर्यटकीय स्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । बन्दीपुरमा यतिबेला स्वदेशीसँगै विदेशी पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । 


उनले भने, “बन्दीपुरमा यो बेला पर्यटकको आगमन बढ्ने समय हो । दसैँ बिदाका कारण आन्तरिक पर्यटकको उल्लेख्य सहभागिता छ । विदेशी पर्यटकको आगमन समेत सुरु भएको छ ।”

नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक बन्दीपुर आउने गरेका छन् । बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबलकारले पनि बन्दीपुरमा पर्यटकको आकर्षण बढाएको छ । पृथ्वीराजमार्गसँगै जोडिएको केबलकारको बटम स्टेसनसम्म गाडीमा र त्यहाँबाट केबलकार चढेर आन्तरिक पर्यटक बन्दीपुर पुग्ने गरेका छन् । 

बन्दीपुर घुम्न आउनेमध्ये विशेष गरी चिनियाँ पर्यटकको सङ्ख्या बढी हुन्छ । गत वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । 

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अस्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ । 

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । पर्यटकलाई यहाँका गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । 

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ । 

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने होटल व्यवसायी वैश गुरुङले जानकारी दिए । 

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रीनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ । 

यसैगरी पछिल्लो समय व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । मानुङकोटबाट बिहानै कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदय हेर्न पर्यटक आउन थालेको होटल व्यवसायी चुडामणि दाहालले जानकारी दिए । उनले भने, “बिहानको समयमा चिसो बढेसँगै दमौली बजारलाई कुहिरोले ढपक्क ढाक्छ । उक्त दृश्य हेर्न आन्तरिक पर्यटक लालायित हुन्छन् ।”

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।-रासस


Author

थप समाचार
x