पर्यटन

पर्वतमा बढ्न थाल्यो पर्यटकको चहलपहल

इकागज |
असोज २९, २०८१ मंगलबार १०:५७ बजे

पर्वत- साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादशैँ पछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। बडादशैँ मनाएर  बिदामा घुम्न आउने पर्यटकको चहलपहल बढेको हो।

विभिन्न संघसंस्थामा अवलोकन भ्रमणको गन्तव्य पर्वत सदरमुकाम कुश्मा बनेको छ। कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ।


दशैँतिहारजस्ता चाडबाडका कारण पर्यटक बढी भित्रिएका हुन्। हिउँदसमेत शुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन्। 

विगत वर्षमा आन्तरिक पर्यटकमात्र आउने कुश्माका पर्यटकीयस्थलमा पछिल्लो समय बाह्य पर्यटकको सङ्ख्या बाक्लिन थालेको होटल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए। उनका अनुसार पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन्।

पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधा सम्पन्न होटल थपिन थालेका छन्। मुस्ताङ तथा उपल्लो मुस्ताङ र कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए। 

मुस्ताङ जाने पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको उनले जानकारी दिए। उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक संघसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघसंस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढेको उनले बताए। 


Author

थप समाचार
x