Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

पर्यटन

निगमका जहाजमा समस्याः तीनवटा जहाजले आठ मुलुकको उडान भर्दा यात्रु समयमै पुग्दैनन् गन्तव्यमा

न्यारोबडी उडान नहुँदा मासिक करोडौँ क्षति

अतिन आचार्य |
कात्तिक ६, २०८१ मंगलबार १७:४५ बजे

काठमाडौँगत बिहीबार राति नेपाल वायु सेवा निगमको जहाज ‘आयल फिल्टर’ मा समस्या देखिएपछि न्यारोबडी दिल्लीबाट समयमा उडान हुन सकेन । जहाजले बढी तेल खाने समस्या देखा परेपछि उडान हुन नसकेको जहाज भने आइतबार उडान भरेको थियो ।

समयमा उडान हुन नसक्दा निगमका जहाजबाट टिकट काटेका यात्रुहरू अलपत्र परेका थिए । विमानस्थलमा यात्रुले घण्टौं पर्खनु परेको थियो । जसले गर्दा निगमको व्यवस्थापन फितलो र सरकारको उपस्थिति कमजोर देखिन्छ ।


हाल नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका लागि तीन वटा जहाज छन् । जापान, कतार, मलेसिया, दुबई, भारत, थाइल्याण्ड, हङकङ र साउदी अरब लगायतका मुलुकमा नियमित उडान गर्छ ।

निगमका जहाजको सबैभन्दा बढी उडान दिल्लीमा रहेका छन् । दिल्लीको सातामा ७ दिन उडान रहेको छ । कतार, दुबई, मलेसियाको सातामा ४ वटा उडान रहेको छ ।

हाल निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न तीन वटा जहाज छ । २ वटा न्यारोबडी १५८ सीट र वाइडबडी २७४ सीट क्षमता रहेको छ । केही समयअघि २७४ सिटको वाइडबडी मर्मतका लागि इटालीमा छ । जहाजको सि चेकका लागि इटालीमा लगिएको हो ।

घण्टौंसम्म यात्रुहरू विमानस्थलमा अलपत्र पर्दा समयमा गन्तव्यमा पुग्न पाउँदैनन् । जहाजको संख्या कम हुँदा निगमका यात्रुहरू मारमा पर्ने गरेका छन् । आखिर समय-समयमा निगमका जहाजहरू किन बिग्रन्छन् ?

जहाजमा प्राविधिक समस्या हुने भएकाले समय-समयमा उडानमा समस्या आउने निगमका प्रवक्ता रमेश पौडेल बताउँछन् । उनका अनुसार कहिलेकाहीँ आकस्मिक प्राविधिक समस्या आउन सक्छ । समयमा यात्रुले गन्तव्यमा पुग्न पाउँदैनन् । अहिले भने निगमका तीन वटा जहाजले नियमित उडान भर्न सुरु गरिसकेका छन् ।

‘निगमसँग थोरै जहाज रहेकाले पनि उडानमा समस्या आउने गर्छ । निगमसँग भएका चार वटा जहाजलाई पर्याप्त मान्न सकिन्न,’ उनी भन्छन्,’  एउटा जहाज बिग्रेर मर्मतका लागि लगिएको छ । तीन वटा जहाज उडानमा छन् । यसलाई पर्याप्त मान्न सकिने अवस्थामा निगम छैन ।‘

सरकारले निगमका लागि थप जहाज खरिद नगरेसम्म समय-समयमा विमानस्थलमा यात्रुले समस्या भोगिरहनु पर्ने प्रवक्ता पौडेलको भनाइ छ । निगमसँग कम्तीमा दश वटा जहाज भएको भए यात्रुले समयमा उडान भर्न पाउने उनले दाबी गरे ।

उडानका लागि ब्याक अप नहुँदा उडानमा समस्या पर्ने गरेको उनको ठहर छ । ‘निगमसँग जहाजको संख्या थोरै हुनु नै मुख्य समस्या हो,’ उनले अगाडि थपे ।

अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले समयमा उडान भर्न नसक्दा यात्रुलाई उक्त समयभर आफ्नो खर्चले खाने बस्ने व्यवस्था गर्ने गरेको छ । नेपाल वायुसेवा निगमले वार्षिक रुपमा पनि भैपरी आएको खण्डमा यात्रुलाई व्यवस्थापन गर्न २०-३० वटा होटल बुक गरेर राखेको छ ।

होटल बुक गर्न वार्षिक कति खर्च गरिएको छ भन्ने इकागज प्रश्‍नमा उनले भने,’ रकम खुलाउन जरुरी छैन । यात्रुलाई गन्तव्यमा जसरी पनि पुर्‍याउँछौ । निगमको जहाज भए निगमकै नत्र भने अरु एयरलाइन्सको टिकट काटेर पनि पठाउने गरेका छौ ।‘

न्यारोबडी उडान नहुँदा मासिक करोडौँ क्षति

दैनिक निगमलाई एउटा न्यारोबडी उडाउन नसक्दा दैनिक १ करोड भन्दा बढी घाटा छ । मर्मतका लागि लगिएको वाइडबडी झण्डै चार महिना हुन लाग्दा पनि न्यारोबडी नेपाल आउन सकेको छैन । एउटा वाइडबडी ग्राउन्डेड हुँदा मासिक ३० करोड नोक्सान हुने गरेको छ ।

यसअघि दुई वटा वाइड बडीमध्ये ‘ए३३०–२००’ सिरिजको दर्ता नम्बर ‘९एन–एएलवाई’ जहाज नियमित मर्मत (सी-चेक) गर्न विना अनुमति युरोपको इटाली लगेको प्राधिकरणले बताइ सकेको छ । २३० सिट क्षमताको जहाज मर्मतका लागि लगिएको हो

इटालीबाट मर्मत गरेर २५ अक्टोबर सम्ममा नेपाल आइपुग्ने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार इटालीको एटिटेक भन्ने जहाज मर्मत कम्पनीमा निगमले आफ्नो वाइड बडी जहाज मर्मत गरिरहेको छ ।

साना जहाज खरिद प्रक्रिया किन अगाडि बढेन ?

निगमले तीन वटा जहाज खरिद गर्ने पक्रिया अगाडि बढाए पनि हालसम्म पूरा गर्न सकेको छैन । साना तीन वटा जहाज करिब तीन अर्ब रुपैयाँमा खरिद गर्न लागेको हो । जसलाई निगमले आन्तरिक उडान गराउन तयार गरेको थियो ।

तर, सरकार परिवर्तन र विभिन्न कानुनी झमेला देखाउँदै खरिद प्रक्रिया अगाडि बढ्न नसकेको निगमका एक कर्मचारी बताउँछन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पालामा निगमले जहाज खरिद गर्ने प्रस्ताव अगाडि बढाएको थियो । मन्त्री राईको स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारीले सरकारले निर्देशन दिएमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका थिए । 

निगमले किनेको चिनियाँ जहाज विमानस्थलमा त्यसै थन्किएका छन् । अहिले निगम चलाए पनि घाटामा र नचलाए पनि घाटामा जानेछ । उक्त जहाज नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x