Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

पर्यटन

दिल्लीबाट काठमाडौँ ओर्लिएको विमानमा बमको धम्की, सेनाले खोजतलास गर्दै

इकागज |
कात्तिक ६, २०८१ मंगलबार १७:५६ बजे

काठमाडौँ - भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरूले विमानको चेकजाँच गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका थिए ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले अहिले बम डिस्पोजलको टोलीले विमानबाट सबै यात्रुलाई झारेर लगेज तथा विमानका अन्य भागहरूको सर्च गरिरहेको जानकारी  दिए । उनका अनुसार टोलीले कुकुरको साथ सहयोग लिएर  खानतलासीको काम गरिरहेको छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएप मार्फत सो धम्की दिइएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन् ।

विमानमा बम रहेको नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो ।

अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सायौं उडान प्रभावित भइरहेका छन् ।


Author

थप समाचार
x