Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

पर्यटन

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

इकागज |
कात्तिक ६, २०८१ मंगलबार २१:५६ बजे

काठमाडौँ -  दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ । 


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।

फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ । टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्नसकिने जनाइएको छ ।

यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ ।

यसैबीच फलाइ दुबईको उडान सञ्चालन टीमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताए ।  यस उपलब्धिमा प्रधानमन्त्रीको विशेष निर्देशन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सहयोग, मुख्यसचिवको पहल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्व र फ्लाई दुबईको नेपाल प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल प्रालिको समन्वयमा सम्भव भएको उनले बताए । 
 


Author

थप समाचार
x