पर्यटन

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

इकागज |
कात्तिक २४, २०८१ शनिबार १५:३६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ ।

शनिबार प्राधिकरणको पहलमा स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूका प्रतिनिधिको बैठकमा हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति भएको हो । 


सहमति अनुसार विमान कम्पनीहरूले ट्राभल एजेन्सीलाई टिकट बिक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिएको छ । त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको सर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडा दर कायम गर्ने सहमति समेत भएको छ ।

बैठकले हवाई टिकटको मूल्य सूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमा मात्रै गर्ने समेत निर्णय भएको छ भने हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने सहमति भएको छ । 

बैठकमा क्यानका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी रहेको क्यानले जानकारी दिएको छ ।


Author

थप समाचार
x