पर्यटन

पोखरामा पुस ९ बाट ‘हट बेलुन फेस्टिभल’ हुँदै

इकागज |
मंसिर २४, २०८१ सोमबार १२:४४ बजे

पोखरामा अन्तर्राष्ट्रिय हट बेलुन फेस्टिभल यही डिसेम्बर २४ (पुस ९ गते)देखि सुरु हुने भएको छ ।

बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे फाँटमा हुन लागेको फेस्टिभलमा नेपालसहित २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहनेछ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने फेस्टिभलका इन्टरनेसनल संयोजक रोबर्ट विकले जानकारी दिए ।


महोत्सव पामे क्षेत्रको लौरुकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिने आयोजक कम्पनीका  प्रबन्ध निर्देशक एवं फेस्टिभल संयोजक सविन महर्जनले बताए ।

फेस्टिभलमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र खेल समेत हुनेछन् । फेस्टिभलमा राष्ट्रिय कलाकारहरु दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ब्यान्ड, कार्टुन्ज क्रू लगायत पोखराका स्थानीय ब्यान्डले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

फेस्टिभलको व्यवस्थापन क्रिज्म्याटिक डिजिटल सोलुसनले गर्दैछ भने नेपाल टुरिजम बोर्ड, गैरआवासीय नेपाली संघ र पोखरा टुरिजम बोर्डले प्रवर्द्धन गर्ने भएका छन् ।  फेस्टिभलको ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् । फेस्टिभलको अन्तर्राष्ट्रिय संयोजन दीपक श्रेष्ठ र रोबर्ट विकले गरिरहेका छन् ।

फेस्टिभलको माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने आयोजकको अपेक्षा छ । बेलुन नेपाल प्रालिले गत वर्षको फेब्रुअरीमा थाइल्याण्डमा भएको ‘इन्टरनेसनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाएको थियो ।


Author

थप समाचार
x