पर्यटन

राजविराज विमानस्थलबाट आजदेखि रात्रीकालीन उडान सुचारु

इकागज |
पुस १, २०८१ सोमबार १८:४२ बजे

राजविराज - राजविराज विमानस्थलबाट बुद्ध एयरले रात्रीकालीन उडान सेवा सुचारू गरेको छ । सोमबार साँझदेखि बुद्ध एयरको एटीआर-७२ ले उडान गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर)प्रणालीअन्तर्गत कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालीन समयमा पनि अवतरण गर्ने प्रणालीको सुरूवात गरेको छ। 


आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ। यससँगै अब यो विमानस्थलमा कम भिजिविलिटी सँगै रातको समयमा पनि नियमित उडान गर्न सकिने भएको छ।

गत शुक्रबार प्राधिकरण र बुद्ध एयरका प्राविधिकहरूको सहभागिता सहितको इन्स्ट्रुमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्स को फिजिबिलिटी परीक्षण उडान सफल रुपमा सम्पन्न भएको थियो।

परीक्षण उडान सम्पन्न भएसँगै सोमबारदेखि यो विमानस्थलमा इन्स्ट्रुमेन्ट अवतरणको सुरूवात भएको छ। यो प्रणाली जडानपश्चात अब राजविराज विमानस्थलमा दुई हजार मिटर भिजिबिलिटि र रात्रीकालीन समयमा पनि उडान/अवतरण हुनेछ।

यसअघि यो विमानस्थलमा भीएफआर उडान मात्र हुन्थ्यो। जसकारण उडानको लागि पाँच हजार मिटरको भिजिविलिटी आवश्यक पर्थ्यो। 

आइएफआर नियमअन्तर्गत उडान सुरू भएपछि अब हिउद्‌को समयमा कम भिजिबिलिटी गर्दा हुने उडान डीले तथा रद्दमा कमी आई यात्रुहरूले समयमा नै यात्रा गर्न पाउने प्राधिकरणले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा आइएफआर तथा रात्रिकालीन उडानको औपचारिक उद्घाटन गरेका छन्।

यससँगै अब, रात्रिकालीन उडान हुने विमानस्थलको संख्या तीन अन्तर्राष्ट्रिय सहित धनगढी, नेपालगञ्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराज गरी दश पुगेको छ।


Author

थप समाचार
x