पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने
पोखरा - नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुँदैछ ।
नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागेको हो ।
पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक यो महोत्सव आयोजना गर्दैछ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै २ दर्जन बेलुनहरू पर्यटन राजधानीको रूपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्नेछ ।
यस महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने अपेक्षा आयोजकले गरेका छन ।
अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुने आयोजकले जनाएको छ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ । यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकहरूको लागि प्रमुख आकर्षण हुन सक्छ।
यसलाई थप भव्य बनाउन महोत्सव भरी हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ् पनि आयोजना हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया