पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण 'ड्रागन वोट रेस' आयोजना हुने
काठमाडौँ - नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन वोट रेसको आयोजना हुने भएको छ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा पर्यटकीय राजधानी पोखरामा ड्रागन वोट रेस आयोजना हुन लागेको हो।
आगामी पुस १४ र १५ गते (२९–३० डिसेम्बर २०२४) आयोजना हुन लागेको ड्रागन वोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहनेछ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ। ड्रागन वोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ।
चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन वोट फेस्टिबल पटक सफलतापूर्वक आयोजना गरिएको थियो।
चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ।
सो अवसरमा बोल्दै नेपालका लागि चीनियाँ राजदूतावासमा डेपुटी चिफ अफ मिसन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखिएको बताए।
उनले नेपालको पर्यटन प्रवर्द्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गरे।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
उनले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको बताए।
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ। चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौ महिनाको पाँच गते चीनमा ड्रागन वोट फेस्टिबल आयोजना हुन्छ।
चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यो पर्व मनाउने परम्परा रहेको छ। यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिने गरेको छ।
चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लास पूर्वक यो चाड मनाउँछन्। चिनियाँ भाषामा 'डुआन्वु जी' भनिने ड्रागन बोट फेस्टिबल चीनको चार वटा ठूला चाडमध्ये एक हो।
चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ।
सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२४ को जनवरी देखि नोवेम्बरसम्म ९२ हजार ८४८ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया