पर्यटन

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

इकागज |
पुस १०, २०८१ बुधबार १८:३१ बजे

फाइल फाेटाे

पोखरा - पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र  क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो । 

बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ । पोखरालाई साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए । 


“हाम्रो मुख्य उद्देश्य साहसिक गतिविधिबाट अन्तर्राष्ट्रिय जगतमा पोखरालाई चिनाउने हो, मङ्गलबारदेखि सुरु भएको महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको सहभागिताले हामीलाई उत्साहित बनाएको छ”, उनले भने । 

उनका अनुसार महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यालोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनीलगायत छन् । 
    
पोखरा पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बेलुन महोत्सव पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताए । उनले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिसकेकाले यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

विविध कारणले सुस्ताइरहेको पर्यटनलाई गतिशील बनाउन बेलुन महोत्सवले सघाउ पु¥याउने विश्वास पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको छ । “पर्यटकीय नगरीलाई थप ‘भाइब्रेन्ट’ बनाउन पर्यटकीय गतिविधि भइरहनुपर्छ । पछिल्लो समय हट एयर बेलुनजस्ता महोत्सवले यस सहरको चिनारीलाई थप अन्तर्राष्ट्रियकरण गरेको छ ।” 

महोत्सवको स्थानीय संयोजनको जिम्मा फेवा क्लबले लिएको यस महोत्सवमा ‘बिवाइडी’ मुख्य प्रायोजक रहेको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारले प्रवर्द्धकका रुपमा सहयोग गरेका छन् । पोखरा पर्यटन परिषद्ले महोत्सवमा सहकार्य गरेको छ ।

बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी छन् । पोखराको आकाशमा एकैपटकमा १७ वटा विभिन्न आकार र डिजाइनका हटएयर बेलुन उड्न सुरु भएसँगै आकाश रङ्गिन बनेको छ । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुनसहित बेलुन पाइलटहरु सहभागी छन् । 


Author

थप समाचार
x