पर्यटन

विमानस्थलमा यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री

इकागज |
पुस १८, २०८१ बिहीबार १८:४५ बजे

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोली र व्यवहार राम्रो हुनुपर्ने बताएका छन् । 

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा आउने पर्यटकसँगको पहिलो भेटघाट नै विमानस्थल यातायात चालकसँग हुने र उनीहरूको बोली व्यवहार राम्रो नुहुँदा समग्र नेपालप्रतिको दृष्टिकोण नकारात्मक हुने गरेको बताए । 


“नेपाल आउने वित्तिकैको प्रभाव राम्रो भएमात्रै नेपाल र नेपालीप्रति विदेशीले हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ, चालकको बोली र व्यवहारले नेपालको छविलाई विश्वमाझ चिनाउन मद्दत गर्छ”, उनले भने । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूले भोगेका यातायात समस्यालाई मध्यनजर गर्दै स्थापित कम्पनी नेपालको यातायात क्षेत्रको नमूना कम्पनीको रुपमा विकास हुँदै गएको बताए । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले विमानस्थलभित्रको यातायातलाई अनुशासित र मर्यादित बनाउन विमानस्थल हवाई यात्रु यातायात सेवाले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । 

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिंखडाले कम्पनीको स्थापना पश्चात हवाई यात्रुहरुलाई सहज भएको बताए । “विगतमा हवाई यात्रुहरुको लागि सत्कार गर्ने कम्पनीको अभाव रहेको थियो, यो कम्पनी स्थापनासँगै अहिले यातायात सेवामा यस्तो समस्या भोग्नुपरेको छैन”, उनले भने । 

नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको उक्त कम्पनीले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको अध्यक्ष सिंखडाले बताए । 


Author

थप समाचार
x