पर्यटन

कुश्माको 'द क्लिफ'मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ को सफल परिक्षण

इकागज |
पुस २४, २०८१ बुधबार १७:२६ बजे

काठमाडौँ - साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित 'द क्लिफ'मा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा आउने भएको छ । 

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा  एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।  उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ । 


'द क्लिफ'ले विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागेको अध्यक्ष कार्कीले जनाए । 

'मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,' उनले भने, 'एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ ।' हाल यसको परीक्षण भइरहेको उनको भनाइ छ ।

'कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ, यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुसी लागेको छ,' उनले भने, 'यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ ।


Author

थप समाचार
x