पर्यटन

नेपालीले घुम्‍ने बर्दिया राष्ट्रिय निकुञ्ज

माधव चौलागाँईं |
फागुन १, २०७७ शनिबार ११:४६ बजे

यसपालि नेपालगन्ज सहरदेखि साइकल चलाउँदै बर्दिया राष्ट्रिय निकुञ्जछेउको ठाकुरद्वार पुग्दा त्यहाँका पर्यटन व्यवसायी र निकुञ्ज प्रशासनले निकै सहृदयतापूर्वक आतिथ्य देखाए । हामीलाई त्यहाँको वस्तुस्थितिबारे विस्तारमा वर्णन गरे ।

बर्दिया अब आन्तरिक पर्यटन केन्द्रित रणनीति खोजिरहेको छ । हामी ‘टुर डे ठाकुरद्वार’मा सहभागी साइक्लिस्टसहित करिब दुई सयजना आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्यले त्यहाँ पुगेका थियौँ । 
 
सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुनुअघि करिब दुई दशकसम्म यो ठाउँ शिकार आरक्ष तथा वन्यजन्तु संरक्षण केन्द्र थियो । सन् १८१५ को सुगौली सन्धिमा गुमेका ठाउँ सन् १८६० नयाँ मुलुकका रूपमा फिर्ता पाएपछि यो नेपालको भयो ।


ब्रिटिस इन्डियाले यस क्षेत्रमा प्रत्यक्ष शासन गरेको ४५ वर्षमा वन्यजन्तुको शिकार तथा वनपैदावारको व्यापक तस्करी भयो । त्यसपछि राणा र राजाका पालामा उनीहरूका पाहुनासहित शिकार खेल्न आउने ठाउँ बन्यो । निकुञ्ज बनेकै वर्ष बेलायती व्यवसायी जीम एडवार्डस्ले यहाँ टाइगर टप्स कर्णाली लज खोलेपछि भने औपचारिकरूपमा बर्दियामा बाघ हेर्ने विदेशी पर्यटक आउन थाले । त्यसयता यहाँ पर्यटकीय दृष्टिबाट संरक्षण प्रयास र गतिविधि विकास हुन थाले ।

तथापि वि.सं. २०५० सम्म वर्षेनि औसतमा तीन सयजना जति विदेशी मात्रले भ्रमण गरिरहेका हुन्थे । त्यसपछि बिस्तारै विदेशी सँगसँगै नेपाली पर्यटक आगमन बढ्न थाल्यो । विसं. २०५८ सम्म आइपुग्दा वर्षेनि राष्ट्रिय निकुञ्ज प्रवेश टिकट काट्ने संख्या १० हजार ७५० सम्म पुग्यो ।

तर, राजपरिवार हत्याकाण्ड, माओवादी जनयुद्धको उत्कर्ष, शान्ति सम्झौतापछि कायम राजनीतिक अस्थिरता, बन्द, हड्ताल आदि कारणले त्यसपछिका वर्षहरूमा बर्दिया भ्रमण गर्ने यात्रीको संख्या ह्वात्तै घट्यो । वार्षिक पर्यटक आगमनको उही विन्दुमा फेरि फर्किन एक दशक बढी समय लाग्यो । संविधान सभाको चुनावपछि झन् उत्साहजनक सुधार भयो । कोेरोनाले पर्यटन तहसनहस पार्नुभन्द अघिल्लो वर्ष झण्डै पच्चीस हजार पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज घुमेका थिए ।

यसरी आउने पर्यटकमा दुई तिहाइ नेपाली हुन् । सयजना पर्यटकमध्ये चार जनामात्र सार्क राष्ट्रका हुन्‍छन् । यसले के इंगित गर्छ भने नेपालीहरूमा भ्रमणप्रति व्यापक रुचि बढिरहेको छ भने भारतको विशाल जनसंख्यालाई बर्दियामा अझै आकर्षित गरिएको छैन । नेपाल खुले पनि तेस्रो विश्वका पर्यटकको आगमन बढ्न अझै कति समय लाग्ला ? अर्थात्, यदि देशमा शान्ति कायम रहेपछि आन्तरिक पर्यटनको प्रचुर सम्भावना छ । त्यसैले अब यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटन बढाउन प्रयासरत छन् । 
 
हामीलाई त्यहाँको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराई र सदस्य सोन्या रष्टिकस्ले प्रस्तुतीकरणमार्फत बर्दिया राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकास र व्यवस्थापनसम्बन्धी जानकारी दिए । यहाँ सञ्चालनमा रहेका २४ वटा होटल, लज र होमस्टे मिलेर गठन गरिएको मञ्चले पर्यटन प्रवर्धनका विविध गतिविधि बढाउन भूमिका खेल्छ ।

यहाँ पर्यटन तथा प्रकृति संरक्षणका लागि राष्ट्रिय निकुञ्ज व्यवस्थापन, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एसोसियसन, समुदायमा आधारित वन्यजन्तु तस्करीविरुद्ध काम गर्ने एकाइ, चरा प्रकृति संरक्षण क्लब, बफरजोन समिति, नेपाल पर्यटन बोर्ड, ठाकुरबाबा नगरपालिका लगायत संस्थाहरू सक्रिय छन् ।

राष्ट्रिय निकुञ्जको क्षेत्रफल करिब ९६८ वर्गकिलोमिटर छ । यो शिवालिक पर्वत शृंखलाको दक्षिणी भेकमा कर्णाली नदी पूर्वबाट कोहलपुर हुँदै सुर्खेत जाने राजमार्गको पश्चिमसम्म फैलिएको छ । बबई नदी यो निकुञ्जको बीचमा भएर बग्छ । अचेल यसको केही खण्ड बाँके राष्ट्रिय निकुञ्जसँग पनि जोडिएर वन्यजन्तुको विचरण विस्तार भएको छ । 


 
सोन्याले हामीलाई राष्ट्रिय निकुञ्जबारे बताएका केही जानकारीहरू निकै रोचक थिए । बर्दिया राष्ट्रिय निकुञ्ज भन्‍नेबित्तिकै चिडियाखाना बाहिर प्राकृतिक अवस्थामै बाघ हेर्न पाइने ठाउँका रूपमा प्रख्यात छ । तर यहाँ बाघलगायत अरु दशवटा संकटापन्‍न प्रजातिका वन्यजन्तु पनि पाइन्‍छन् । जस्तैः एकसिंगे गैडा, जंगली एसियाली हात्ती, डल्फिन, केही हरिण प्रजातिका जन्तु, चितुवा आदि ।

विश्वभरि करिब चार हजार बाघ छन् । दुई वर्षअघि बाघगणना अनुसार नेपालमा २३५ वटा बाघ थिए । बर्दियामा ८७ वटा छन् । पछिल्लो दश वर्षमा बाघको संख्यामा गुणात्मक वृद्धि भएको छ । यही अवधिमा बाघको आहारा मानिने हरिण प्रजातिको पनि जनघनत्व प्रतिकिमि ६८ बाट बढेर ९६ पुगेको छ । अर्थात् यहाँ बाघसहित अन्य जीवजन्तुको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । यसको मतलब यहाँ चोरीशिकारीका घटना रोकिएका छन् तथा संरक्षणका प्रयासहरूले सफलता पाइरहेको छ । यहाँका मानिस बाघ संरक्षणमा योगदान गर्ने हलिउड हिरो लियोनार्दो डि क्याप्रियोको नाम लिन छुटाउँदैनन् ।

जंगल सफारीमा बाघ देख्‍न सकिने सम्भावना बढेको छ । हाम्रो साइक्लिस्टहरूको एक समूहले पनि बाघ भेटे फोटो खिचेका थिए । बाघको संख्या बढेपछि स्थानीयहरूमा बाघको डर पनि बढेको छ । केही हप्ता अघि गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गरी मान्‍छे मारेपछि राजमार्गको अम्रेनीबाट ठाकुरद्वार रातीको यात्रा निषेध गरिएको छ भनी यही खण्डमा हामीलाई स्कर्टिङ गरिरहेका प्रहरीले भनेका थिए । 
  
अचेल निकुञ्जभित्र ६४२ प्रजातिका जीवजन्तु पाइन्‍छन् जसमध्ये ५५ वटा स्तनधारी प्राणी छन् । यहाँ गैँडाको संख्यामा खासै वृद्धि भएको छैन । निकुञ्जभित्र हाल ३६ वटा गैँडा छन् । जंगली हात्तीको झुण्डहरू नेपाल-भारत वारपार गरिरहने हुनाले उनीहरूको संख्या यकिन छैन ।

जलचरहरूमा घडियाल गोही संकटापन्‍न जीव मानिन्‍छ । हाल १६ वटा घडियाल भेटिन्‍छन् । यदाकदा कर्णाली नदीमा डल्फिन पनि भेटिन्‍छ । बर्दिया राष्ट्रिय निकुञ्ज सयौँ प्रकारका चराचुरुंगी बस्ने ठाउँ पनि हो । यहाँको जंगल, फाँट र नदीहरूमा ५१३ प्रजातिका चराहरू भेटिन्‍छन् । यो चराप्रेमीहरूका लागि एक गजबको गन्तव्य हो ।

निकुञ्ज आसपासको सांस्कृतिक मौलिकता पनि विशिष्ट छ । थारु जातिको बस्ती, रहनसहन, संस्कृति खानपिनले पनि पर्यटक लोभ्याउन सक्छ । आन्तरिक पर्यटक भएर यहाँ भ्रमण गर्नेहरूले जीप वा पैदल जंगल सफारी, फिसिङ, र्याफ्टिङ, बर्ड वाचिङ, हात्ती शयर, क्याम्पिङ, संग्रहालय भ्रमण, गोही तथा हात्ती प्रजनन केन्द्र भ्रमणजस्ता विविध पर्यटकीय गतिविधि गर्न सक्छन् ।

हालसम्म नेपाली यात्रीहरू यहाँ औसतमा एक रातमात्र बिताउँछन् । बसाई जति लम्ब्याउन सकियो पयर्टनबाट उति नै लाभ लिन सकिन्‍छ । त्यसका लागि नेपालीमाझ पर्यटकीय गतिविधिबारे आकर्षण जगाउन आवश्यक छ । राष्ट्रिय निकुञ्ज व्यवस्थापनले भर्खरै निकुञ्जमा केही महत्वपूर्ण सुधार गरेको छ । निकुञ्जको पाँच स्थानमा गेट बनेको छ । ती सबै गेटहरूबाट पर्यटक प्रवेश दिने तयारी गरिएको जानकारी निकुञ्ज व्यवस्थापक विष्णु श्रेष्ठले हामीलाई सुनाएका थिए । योसँगै निकुञ्जभित्र बाटोको विस्तार गरिएको छ, हेर्ने टावरहरू थपिएको छ भने क्याम्पिङ साइटहरू पनि बनाइएको छ ।

त्यसबाहेक, घाँसे मैदान तथा पानी निकास मर्मत र व्यवस्थापन, वन्यजन्तु तस्करविरोधी दस्ता परिचालन, राजमार्गमा सवारी गति नियन्त्रण र वन्यजन्तु मानव समुदायबीच हुने द्वन्द्व व्यवस्थापन जस्ता कार्य पनि भइरहेको छ । बढ्दो पर्यटकीय आगमनलाई लक्षित गरी हाल यहाँ २९ वटा होटल तथा लज सञ्चालनमा छन् । सबै जोडेर ८ सय जति बेड संख्या उपलब्ध छन् । यसमा ३५० भन्दा बढी कर्मचारी प्रत्यक्ष रोजगारी पाएका छन् ।

सूक्ष्म अर्थतन्त्रका रूपमा स्थानीय समुदायमा अप्रत्यक्ष तर महत्वपूर्ण योगदान भइरहेको हुन्‍छ । जस्तै : पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने अनुसार दश हजार पर्यटकले भ्रमण गर्दा कम्तीमा दुई करोड रुपैयाँ स्थानीय समुदायमा पुग्छ । एउटा आँकडाअनुसार यहाँ आउने पर्यटकले हाल औसत तीन हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । यहाँ विद्यमान केही समस्यालाई समाधान गर्न जरुरी छ ।

आम मानिसलाई आवागमन सहज गर्न यातायातको सुविधा बढाउन जरुरी छ । सडकको बहुविकल्प विस्तार गर्नुपर्छ । दक्षिणबाट प्रवेश गर्ने बाटो कच्ची छ । बाटोमा कतै पनि संकेत छैन । ठाकुरद्वारमा बसपार्क र टर्मिनल पनि छैन । विदेशीहरूका लागि लिइने उच्च हवाई भाडादरले कतिपयलाई निरुत्साहन गरेको पाइन्‍छ ।

प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दो छ । निकुञ्ज नजिकको बजार र बस्तीहरूमा उत्सव र चाडपर्वको बाहानामा प्रायः ध्वनि प्रदूषण भइरहन्‍छ । गाडीहरूको हर्नमा पनि नियन्त्रण छैन । यसै गरी फोहोर व्यवस्थापन जटिल बन्दै छ ।

बाटो छेउछाउ जथाभावी फालिएका प्लास्टिकजन्य फोहोरले जैविक विविधतामा असर गर्छ । केही महिनाअघि यहाँका अभियन्ताहरूले जंगलभित्र तीस किमि सडकको आसपासबाट तीन ट्रली फोहोर टिपेर विसर्जन गरेका थिए । यसरी फोहोर गर्ने यात्रीहरू सबैजसो नेपाली पर्यटक र स्थानीयहरू नै हुन्‍छन् ।

पर्यटकको चाप घटाउने उपाय पनि क्रमशः अवलम्बन गर्दै जानुपर्छ । निश्चित सीमाभन्दा बढी पर्यटकको आगमन वातावरणीय सन्तुनलका निम्ति प्रत्युत्पादक हुनसक्छ । त्यसैले भार वितरणका निम्ति आसपासका पर्यटकीय सम्भावना भएका स्थलहरूको विकास गरिनुपर्छ ।

जस्तै : यहाँ कर्णाली चिसापानीको पुल, एक किलोमिटर लामो कोठीयाघाट पुल, टिकापुर पार्क, खैरापुर कृष्णसार केन्द्र, बढैया ताल, डल्ला गाउँ हाेमस्‍टे आदी । हामी साइकलमा यी ठाउँ पुगेका थियौँ । यहाँबाट पर्यटकलाई कर्णालीक्षेत्र र सुदूरपश्चिमसँग जोड्ने प्याकेजको पनि आवश्यकता छ ।
 
हामी नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा नेपालगन्ज च्याप्टरले आयोजना गरेको ‘टुर डे ठाकुरद्वार’मा नेपालका पाँच दर्जन भन्दा बढी जिल्ला र केही भारतबाट आएका डेढ सय जना सहभागी थियौँ । कोभिडले सुस्ताएको जीवन र व्यवसायमा यस्ता गतिविधिले नयाँ उमंग र चहलपहल ल्याउँछन् ।

पहिलो दिन नेपालगन्जको बागेश्वरी मन्दिर प्रांगणबाट साइकल चलाउँदै ८८ किमी दुरीमा बर्दियाको ठाकुरद्धारासम्म पुगेका थियौँ । राईडको क्रममा बर्दियाको बढैयाताल, गुलरिया र खैरापुरको कृष्णसार केन्द्र पनि घुम्यौँ । दोस्रो दिन निकुञ्ज आसपास र गेरुवा नदी माथिको १०५० मिटर लामो पुल घुम्यौँ ।

यसैदिन बेलुका स्थानीय पर्या-पर्यटन मन्च तथा निकुञ्ज व्यवस्थापनसँग आन्तरिक पर्यटन प्रवर्धनबारे छलफल कार्यक्रम भयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा‍ धनन्‍जय रेग्मीले हामीले साइक्लिङ गरेर आएको यो रुटलाई औपचारिक ट्रेलको आधिकारिकता दिने घोषण र रुट नक्सा अनावरण गरे । तेस्रो दिन उत्तरतर्फ अम्रेनीसम्म आएर पूर्वपश्चिम राजमार्ग हुँदै नेपालगन्ज फर्कियौँ । (लेखक चौलागाँईं कर्णाली राइडर्सका सदस्य हुन् ।)


Author

थप समाचार
x