पर्यटन

पर्यटन

रारामा ‘स्वर्गकी अप्सरा’को बयान (फोटो फिचर)

विष्णु विश्‍वकर्मा |
चैत ८, २०७७ आइतबार १२:३६ बजे

काठमाडौँ : घुम्‍न मन पराउनेका लागि रारा एउटा सपना हो । ‘स्वर्गकी अप्सरा’ उपनामले परिचित रारा कर्णालीको हिमाली जिल्ला मुगुमा अव्यवस्थित छ । मुगु कर्णाली चिनाउने हिमाली जिल्ला पनि हो । जहाँ, अभाव, गरीबी र विकटताको राज छ । मुगुमा जति भौगोलिक अभाव असरल्ल देखिन्छ । त्यत्ति सुन्दरता पनि । जसको नेतृत्व रारा तालले गर्छ ।


रारा ताल मुगु र कर्णाली मात्रै होइन विश्वमा नेपाललाई चिनाउने पर्यटकीय क्षेत्र पनि हो । समुन्द्र सतहदेखि दुई हजार नौ सय ७२ मीटर उचाईमा रहेको राराताल प्रकृतिकै अनुपम उपहार हो । जुन कुरा रारा पुगेपछि मात्रै देख्‍न सकिन्छ । 

सयौं डाँडाकाँडा हिडेर पुगेका जोकोही रारा देखेपछि प्रफुल्लित हुन्छन् । यात्राका सारा दुःख बिर्सन्छन् । सडक मार्ग भएर रारा पुग्न कठिन लाग्नेलाई काठमाडौँ वा नेपालगञ्जदेखि विमान चढेर सिधै रारा पुग्न सकिन्छ । विमान चढेर रारा जानेलाई ताल्चा विमानस्थलबाट झण्डै ६ किलोमीटरको यात्रा गर्नुपर्छ । हिडेर जानलाई दुई घण्टा भन्दा बढी समय लाग्छ ।

रारालाई ‘स्वर्गकी अप्सरा’ भन्ने व्यक्ति राजा महेन्द्र हुन् । २०२० सालमा रारा पुगेपछि तालको सुन्दरताबाट मोहित भएर महेन्द्रले ‘स्वर्गकी अप्सरा’ शीर्षकमा कविता नै लेखेर राराको बयान गरेका थिए । त्यसयता रारालाई हरेकले ‘स्वर्गकी अप्सरा’ भन्छन् । जुन रारा चिनाउने ‘ट्यागलाइन’ बन्यो ।

१० वर्गकिलोमीटर भन्दा धेरै क्षेत्रफलमा फैलिएको पूरा राराताललाई फन्को लगाउन झण्डै एक दिन लाग्छ । पाँच किलोमीटर लम्बाई र तीन किलोमीटर चौडाईको रारा तालको गहिराइ १६७ मीटर छ । हिउँद र वर्षायाममा गहिराई घट्ने बढ्ने भइरहन्छ । 

सल्लाका रुखले घेरिएको रारातालबाट कान्जिरोवा हिमालको सुन्दरता देख्न सकिन्छ । तालमाथि कान्जिरोवा हिमालको छाया देखेपछि रारालाई ‘स्वर्गकी अप्सरा’ भन्न मन लाग्छ । हिँउ परेका बेला रारा पुग्नेहरु भाग्मानी हुन् ।

जसको शब्दमा बयान गर्न सकिदैन । पछिल्लो समय फागुन अन्तिम हप्ता रारामा एक दिन हिउँ परेको थियो । जुन हिउँ मुश्किलले तीन दिनसम्म रह्यो । हिउँ परेकै बेला तालमा पुग्नेहरु जताततै सेताम्मे देख्छन् ।

तालको निलो पानीलाई वरिपरीको सेताम्मे परिदृश्यले रारालाई ‘बेहुली’ जत्तिकै सिगारेको भान हुन्छ । जब हिउ पग्लिदै जान्छ, रारा आफ्नै स्वरुपमा देखिन थाल्छ । बिहान, दिउँसो र बेलूकी राराको दृश्य फरक-फरक देखिन्छ । यो नै राराको मुख्य विशेषता हो । 

रारा प्राकृतिक रुपमा जति सुन्दर छ । पूर्वाधार अभावले त्यति नै ओझेलमा परेको छ । जसको मारमा पर्यटक छन् । 

तस्बिर : शसिन्द्र गौतम / लोकेन्द्र विश्वकर्मा 


Author

थप समाचार
x