सम्बन्धको अर्थ खोज्न कर लाग्यो
कफीको चुस्कीसँगै कालो गाढा रङलाई नियाल्दै, हामीले जीवनमा पनि यही गाढा रङजस्तै सकारात्मक प्रभाव छाड्न सफल हुनेतर्फ सदैव प्रयासरत हुन सक्यौँ भने जीवन साँच्चै नै अर्थपूर्ण हुने तथ्य स्मरण गरिरहँदा पृष्ठभूमिमा बजेको एक गीतले ध्यानाकर्षण गरिदियो । ‘तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो...’ सुप्रसिद्ध गायक कर्णदासको कर्णप्रिय आवाजमा रहेको उक्त गीत, साँच्चै नै मानव जीवनमा रहेको विभिन्न सम्बन्धको महत्व अनि अपरिहार्यतासँगै सम्बन्धमा उत्पन्न हुने तिक्तता र निराशाको समिश्रण जस्तै लाग्थ्यो ।
हाम्रो जीवन सम्बन्धहरूको मालामा उनिएर नै चलायमान भइरहेको हुन्छ नत्र भने मानिसलाई एक्लै जिउन सकसपूर्ण नै हुन्थ्यो होला । त्यसैले नै होला, मानिसहरूले सम्बन्धसँग हातेमालो गर्दै जीवन जिउनुको सार्थकता खोजिरहेका हुन्छन् र भन्ने गर्छन्- सम्बन्ध छ र त जीवन छ, अनि जिउनुको मजा छ ।
सम्बन्धहरूले नै जीवनमा ऊर्जा थप्दै जीवन जिउनका लागि सदैव प्रेरणा दिइरहेका हुन्छन् । समग्रमा भन्नुपर्दा मानव जीवनको एक अभिन्न अंग नै हो सम्बन्ध । यसरी एकअर्काका परिपूरक जस्तै रहेका जीवन र सम्बन्धको हातेमालो सोचेझैँ सधैँ सहजतासाथ अघि बढ्छ भन्ने पनि त छैन । त्यसैले गायकलाई उक्त गीतमा सम्बन्धको अर्थ खोज्न कर लागेको हुनसक्छ । जे होस्, गीतले जीवन र जीवनमा समेटिने थुप्रै सम्बन्धहरूबारे मज्जैले सोच्न अनि त्यसका थुप्रै पक्षमा घोत्लिन बाध्य चाहिँ बनाइदियो ।
म सधैँ सोच्थेँ, सबै सम्बन्धलाई सुमधुर बनाइराख्नुपर्छ र यसो गर्न सकिन्छ भनेर, तर म गलत पो रहेछु । सबै सम्बन्ध सधैँ एकनासको गतिमा अघि बढ्न सक्छन् भन्ने मेरो गलत बुझाइसँगै हरेक सम्बन्धलाई समेट्न खोज्नु साँच्चै नै मूर्खता मात्र पो रहेछ भन्ने आत्मबोधसमेत भइरहेको थियो । समयको वहाबसँगै हुइँकिनुपर्ने हामी, अनि हाम्रा परिस्थितिको परिधिभित्र सबै सम्बन्ध अट्न नसक्ने सत्य बोधले एक किसिमको बेग्लैपनाको महसुस भइरहेको थियो । यस्तो लाग्थ्यो, जीवन, व्यवहार र दर्शनको विषयमा मेरो चेतनास्तर समेत परिपक्व हुँदै गइरहेको थियो ।
मेरो आजको अवस्थाबाट जीवनलाई पुनरावलोकन गर्दा बालापनमा सँगै क..ख.. भन्ने साथीहरूसँगको सम्बन्ध, अल्लारे बेलामा सँगै हुल बाँधी हिँड्ने थुप्रै दोस्तियारी, अनि बैँसमा अनायसै जोडिने र छुटिने सम्बन्धलाई विचार गर्दा आज आफूसँग हातका औँलामा गन्न सकिने साथीभाइको सम्बन्ध पनि नरहेको यथार्थबीच, आजसम्म कैँयौँ सम्बन्धहरूसँग जोडिँदै आए पनि, ती सबै सम्बन्ध जीवनमा हुनु र नहुनुमा त्यस्तो खासै फरक त पर्दो रहेनछ भन्ने बुझाइमा अडिएर बसेको छु ।
आखिर जीवनले ती थुप्रै सम्बन्धबिना पनि जिउन छाडेको त छैन । जीवनको रफ्तार कायमै छ । वास्तवमा यी सबै समयसँगै हुने परिवर्तित परिवेश नै त रहेछन् । त्यसै ‘हिजो’ ‘आज’ र ‘भोलि’ भनिएको होइन रहेछ किनकि जो हिजोमा थियो त्यो आजमा नहुन सक्छ र जो आज छ त्यो भोलिसम्म रहिरहन्छ भन्ने पनि छैन । तर सम्बन्धको अर्थ र महत्वको पाटोबाट हेर्ने हो भने सधैँ सँगै रहनुले सुमधुर सम्बन्ध र सँगै नरहनुले सम्बन्ध बिग्रिएको भन्ने पनि होइन रहेछ । सच्चा सम्बन्धले वर्षौंपछिको भेटमा पनि उस्तै र उत्तिकै आत्मीयताको आभास गराउँछ भने स्वार्थी सम्बन्धमा त्यो आत्मीयता पाउन नै गाह्रो हुन्छ ।
यहाँ सम्बन्धलाई फेसबुकमा कसले कति लाइक, कमेन्ट गर्योसँग मापन गरिन्छ । मेसेज किन आएन ? मेसेजको रिप्लाई किन ढिलो आयो ? यस्ता बेतुकका कुराले सम्बन्ध धरापमा परिरहेका छन् ।
स्वार्थकेन्द्रित सम्बन्ध नियमित सम्पर्कमै भए पनि तिनले सकारात्मक ऊर्जा होइन, तनाव र नकारात्मक वातावरणको सिर्जना गरिदिन सक्छन । त्यसैले कुन सम्बन्ध कस्तो हो भनेर समयमै चिनेर कुनलाई निरन्तरता दिने र कुनलाई नदिने भनेर सोच्न चैँ जरुरी छ । किनकि जीवन जिउनका लागि हो, खुसी बाँड्नका लागि हो । यदि कोही कसैको दुःखको कारण बन्छ भने त्यस्तो सम्बन्धलाई त्यहीँ अन्त्य गरेर अघि बढ्न सक्नुपर्छ । भनिन्छ नि, सम्बन्ध राम्रो हुन्छ भने कहिलेकाहीँ झुकिदिँदा केही फरक पर्दैन, तर सधैँ एकजनाले मात्रै झुक्नुपर्छ भने त्यस्तो सम्बन्धलाई पूर्णविराम लगाउनुमै बुद्धिमता हुन्छ । यहाँ विचार नमिल्दा श्रीमान्-श्रीमतीकै त सम्बन्धविच्छेद हुन्छ भने अन्य सम्बन्धको त के कुरा भो र ?
यी कैँयन् सम्बन्धको भिडमा एउटा सम्बन्ध भने छुट्टै छ, विशिष्ट छ, जसले हिजो, आज र भोलिलाई अनवरत रुपमा जोडिराख्न सक्ने सामथ्र्य राख्छ, अनि जीवनमा सकारात्मक ऊर्जा थपेर सधैँ खुसीसाथ जिउन प्रेरित गरिरहन्छ । त्यो हो, एक अतुलनीय र सुमधुर ‘परिवारसँगको सम्बन्ध’ । जुन सधैँ जीवनको अपरिहार्य सम्बन्ध बनेर सदैव शीर्षस्थानमा रहेको हुन्छ ।
हरेकले सास फेर्न सुरु गरेदेिख सास छोड्दासम्म सधैँ सँगै रहिरहने यो सम्बन्धले हरेकको जीवनमा विशेष अर्थ राख्छ । भनिन्छ नि, साझा स्वार्थ हुँदा समस्या नै आउँदैन तर व्यक्तिगत स्वार्थ हाबी भयो भने समस्या उत्पन्न हुन्छ । हो, त्यस्तै निःस्वार्थपन र साझा स्वार्थबाट गतिशील हुन्छ, परिवारसँगको सम्बन्ध । त्यसैले सबै सम्बन्धलाई समेट्न खोज्नुभन्दा परिवारसँगको सम्बन्ध मजबुत पार्नमा र माधुर्य थप्नमै केन्द्रित रहनु नै श्रेयष्कर ठहरिन्छ ।
अहिलेको समयलाई नियाल्ने हो भने सामाजिक सञ्जालसँगको सम्बन्ध पो महत्वपूर्ण हुँदै गइरहेको देखिन्छ । खाली समयमा परिवारसँग बसेर गफ गर्दै आत्मीयता साट्ने, छिमेकमा सौहार्द छर्ने, साथीभाइ भेट्दा हार्दिकतासहित भलाकुसारी गर्ने जस्ता कुरा त एकादेशको कथा बनेर रहेको छ । मानिस भौतिक रुपमा परिवारसँग त हुन्छन्, साथीभाइसँग पनि हुन्छन्, तर सबै प्रविधि र सामाजिक सञ्जालको संसारमा नै व्यस्त रहन्छन् । सामाजिक सञ्जाल आउनुभन्दा पहिले समाजमा, छर-छिमेकमा सहयोग मिश्रित सामाजिक भावना हुन्थ्यो, जसलाई सामाजिक सञ्जालले यति व्यक्ति केन्द्रित बनाइदियो कि, वल्लो घर र पल्लो घरको सम्बन्ध नै नहुने अवस्थाको सिर्जना भएको छ ।
हिजोको साथीसँग फुर्सदमा सुन्तला, बदाम खाँदै गरिने मनको कुरालाई आजको विभिन्न च्याटिङ एप्सले विस्थापित नै गरिदिएको छ । बालापनमा खेलिने चुङ्गी, रुमाल लुकाइ होस् वा किशोरावस्थामा सबै भेला भएर खेलिने फुटबल, भलिबल जस्ता खेल होस्, सबैलाई भिडियो गेम र पब्जीले उछिनेर साथीभाइको सम्बन्ध नै ओझेलमा परेको छ । यहाँ कसैलाई कसैको कुरा सुन्ने, भावना साट्ने फुर्सद नै छैन, सायद त्यसैले होला धेरैको सम्बन्ध जीवित त हुन्छन् तर त्यसमा आत्मा भने हुँदैन । प्रविधिमैत्री र एक्काइसौँ शताब्दीको नाममा सम्बन्धको परिभाषासमेत फेरिएको छ । यहाँ सम्बन्धलाई फेसबुकमा कसले कति लाइक, कमेन्ट गर्योसँग मापन गरिन्छ । मेसेज किन आएन ? मेसेजको रिप्लाइ ढिलो किन आयो ? यस्ता बेतुकका कुरामा सम्बन्ध धरापमा परिरहेका छन् अनि विखण्डनतर्फ उन्मुख छन् ।
अहिलेको समयमा सम्बन्ध जोड्ने रहरसँगै न सम्बन्ध टिकाउन सक्ने सामथ्र्य छ, न मनले नै सम्बन्ध निभाएको देखिन्छ । साँच्चै भन्ने हो भने न त नियमित सम्पर्कले सम्बन्ध मजबुत हुने हो, न सामाजिक सञ्जालको सक्रियताले नै हुने हो । सम्बन्ध त जीवन चलाउने आधार हो, जसमा विश्वास जरुरी छ, अनि आत्मीयता जरुरी छ, अनावश्यक आस होइन, निःस्वार्थपन जरुरी छ । सम्बन्धले सकारात्मक ऊर्जा दियोस्, प्रेरणा दियोस् अनि जीवन जिउने बहाना दियोस् । खैर, सम्बन्ध जस्तोसुकै होस्, जोसुकैसँग किन नहोस्, बस त्यसमा हार्दिकता भने सधैँ रहिरहोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया