प्रकाशक : नायिका अलि कमजोर भइनन् र भाइ ?
पुरानो डायरी पल्टाएँ अनि उनीलाई सम्झिएँ । धमिलो भइसकेको सम्झनाले कहीँ कतै चिमोटेन । चिमोट्ने यादहरू त लेखिनै पो बाँकी थिए त ! डायरीको पहिलो चार पाना पढेरै मन अघायो । बाँकी अरु पढ्ने मन भएन । अलिअलि फेसबुकमा, अलि धेरै डायरीकै पानामा कोरेका वानेश्वर डायरी, वसन्तपुर डायरी सबै फिका लागेर आए । डायरीको किताब सिरानीमै राखिदिएँ । खाटछेवैमा रहेका एकजोर बैशाखीले मलाई उभिएर हेरिरहेका थिए । तैपनि हातले टेकेर उठेँ खाटबाट । उभिएँ, तनक्क तन्किएर । चार महिनामा पहिलोचोटि बैशाखी नलिई निस्किने सोच बनाएँ ।
ट्रयाकसुट र स्पोर्ट्स जुत्ता लगाएर अँध्यारो कोठाबाट उज्यालो बाटोमा निस्किएँ । मेरा पदचापसँग न्यास्रिएको बाटोले मलाई सुस्तरी आफ्नो हत्केलामा राखेर हिँडायो । बाटोको पारिपट्टि भारी बोकेर हिँडिरहेको भरिया थियो । उसका पाइला एउटै लयमा हिँडिरहेका थिए । मेरा पाइलालाई भने ताल मिलाउन गाह्रो परिरहेको थियो । हिँड्न भरियालाई भन्दा मलाई गाह्रो भएको थियो । उसले सामानको भारी बोकेको थियो । तर मैले पनि नदेखिनेगरी पिरको भारी बोकेको थिएँ । भरियाको बरु भारी घचेटिदिने मान्छे भेटिन्छन् । थाप्लोमा थामिदिने नाम्लो हुन्छ । अड्याउने ढाड हुन्छ । तर पीरको भारी त आफैँले बोक्नुपर्छ । सजिलै कहाँ भेटिन्छ र पीरको भारी बिसाउने चौतारी ?
हिँड्ने बानी छुटेको धेरै भएर होला, गोँगबु चोक जाने बाटो हिँडिरहँदा मेरा पाइला गरुंगा भएका थिए । अलि पर पुगेपछि मलाई देखेर एउटा चिनेको पसले मुस्कुरायो ।
‘दुब्लाउनु भएछ त’, उसले पसलभित्रैबाट भन्यो ।
‘सन्चो थिएन’, मैले बाटोमा उभिएर भनेँ ।
‘हो र ! के भएको ?’ उसले अचम्म मानेर मेरो अनुहारमा हेर्यो ।
खै के भनौँ के भनौँ । ‘खुट्टाले दु:ख दिएको’ भनेर टार्न खोजेँ । उसले अचम्म लागेजसरी आँखा ठूला पार्यो । ध्यान दिएजसरी मेरा खुट्टाहरूमा हेर्यो । कौतूहल ओकल्यो, ‘के भाको खास ?’
‘भाँचिएको’, मैले घुँडा छामेँ । मलाई बेलिबिस्तार लगाउने मन भएन ।
‘ल राम्रो ख्याल गर्नुस् है ।’ मलाई सान्त्वना दिँदै ऊ पसलका सामान मिलाउन थाल्यो । म मुन्टो हल्लाएर हिँडेँ । मसँग कति धेरै शुभचिन्तक रहेछन् मेरो ख्याल गर्ने । यो सम्झेर मैले आफूलाई उपेक्षा गर्नेहरूलाई बिर्सिएँ । म कमजोर हुँदा मलाई झन् लडाउन र सिध्याउन खोज्नेहरूलाई पनि मैले भुसुक्कै बिर्सिएँ । मलाई के कति चोट लाग्यो भनेर पनि भुलेँ । माया गर्नेहरू त किताबका जिल्दाजस्ता हुँदा रहेछन्, अनुहारको हाँसो केरमेट होला कि भनेर जोगाइदिने । माया गर्नेहरू भनेका त सनब्लक क्रिमजस्ता पनि हुँदा रहेछन्, खुसीहरू डढ्न लाग्दा बलियो पत्र बनेर बसिदिने ।
गणेशस्थान मन्दिरलाई दाहिने पारेर हिँडिरहँदा देब्रेछेउमा भत्केको घरको खण्डहर देखियो । केही अघिसम्म त्यहाँ ठूलो सपिङ सेन्टर थियो । भगवान्को मन्दिर अगाडि नै हुँदा पनि भूकम्पमा त्यही घर लड्यो । मान्छेहरू त्यहीँ च्यापिएर मरे । गणेश भगवान् अगाडि बसेर चुपचाप हेरिरहे । मान्छे आपत्विपत्मा परेको मुकदर्शक बनेर हेरिरहनु नपर्ने थियो भगवान्ले । सायद भूकम्पले जमिन हल्लिँदा भगवान् पनि दौडिएर ज्यान जोगाउन कहीँ पर भागेका थिए कि ?
+++
म दुई हप्ता हस्पिटल बसेर फर्केको मान्छे । त्यसपछि साढे तीन महिना घरमै आराम गरेर बसेको मान्छे । धेरैपछि बाहिरको खुल्ला संसारमा निस्केको थिएँ । साँच्चै नै मेरो अनुहार धेरैपछि उज्यालिएको थियो । आफ्नै अनुहार उज्यालो भयो भने संसार पनि उज्यालो देखिँदो रहेछ । दु:खहरूको बादल लागेर पो रहेछ, ओठको मुस्कान छेकिने त ।
के आफ्नै मुटु निचोरेको मसीले लेखेको कथा सस्तो प्रेमकथा हुन सक्छ ?
मन्दिरको ठ्याक्कै अगाडि म:म पसल थियो । म:म पसललाई एउटा फाइदा हुन्छ । बाटोमा बसेर कराउँदै ग्राहक बोलाउनु पर्दैन । बास्ना आफैँ जान्छ, हिँडिरहेको मान्छेलाई तान्न । म:मको बास्ना मेरो नाकमा खुसुक्क केही बताउँदै बोलाउन आयो । बास्नाले भित्र कतै रहेको अतीतको पाना पल्टायो ।
‘भैँसीको म:म नखाइस्यो त’, कुनै बेला ऊ यसरी थर्काउँथी ।
‘यो त राँगोको हो’, म हाँस्थेँ ।
‘जेको भए पनि नखाइस्यो न’, मुख बिगार्दै अझ सोध्थी, ‘कसरी भन्न सकिसिन्छ राँगाकै भनेर चैँ ?’
‘पख म यसको कट्टु च्यातेर देखाउँछु’, म म:म फुटाउँथेँ ।
‘छाडा ! अहिले त्यो गन्धे मुखले चुप्प गर्न आउने हैन नि’, ऊ आँखा तर्थी । रिसाएजस्तो गर्थी । मलाई उसले रिसाएजस्तो गरेको खुब मन पर्थ्यो । तर रिसाएजस्तो गर्नु र साँच्ची नै रिसाउनु कहाँ एकै हुन्छ र ।
जब ऊ कुनै एकदिन साँच्चि नै रिसाई, मलाई लाग्यो यो उसको माया हो । प्रेम हो, पहिलेझैँ । नखरा हो, सदाझैँ । उसको रिस, आवेग, आवेश सबै माया मानिरहेँ । तर ऊ हिँडेको बाटो मेरा लागि बिरानो भइसकेछ । उसले तय गरेको फासला मेरा कमजोर खुट्टाका रफ्तारले नभेट्ने भइसकेछ ।
‘म जाँदै छु आफ्नो भविष्यको नक्सा कोर्न । आफ्नो जिन्दगीको ढाँचा बदल्नु छ मैले’, आखिरी भेटमा समेत उसका चश्माभित्रका आँखा रसाएका थिएनन् । सायद ऊ निन्याउरो बन्दी हो त मलाई पनि पीर पर्दो हो । उसका आँखा रसिला देख्दो हुँ त मेरा परेली पनि ओभाना रहँदैन थिए होलान् । जान्दो हुँ त उसको मनको कुरा, उसले मबाट कोर्न खोजेको रेखा, च्याप्प अँगालेर फुत्किन दिने थिइनँ उसलाई । तर उसका भावविहीन नजरले धोका दिए । धोका दिए ती चराले घुस्यान बटुलेझैँ वर्षौंसम्म एकअर्काका हात समाएर बटुलेका सम्झनाहरूले ।
ऊ गएकी थिई मानौँ गएको थियो कोही मलाई भित्र थुनेपछि ढोकाबाहिर ताल्चा मारेर । ऊ यसरी गएकी थिई मानौँ उसले मलाई कहिल्यै माया गरेकै थिइन् । मैले कहिल्यै उसलाई आफ्नो ठानेकै थिइनँ ।
‘अब म फर्किन्नँ । आफ्नो सुर गर्नु’, भिडियो कलमा अनुहार उसकै थियो तर लाग्थ्यो बोलिरहेछ उसको मुखौटा पहिरिएर कोही परचक्री ।
‘आखिर किन त्यति टाढा पुगेर लत्यायौ मेरो निश्छल प्रेम ?’ म अवरुद्ध कण्ठबाट बोल्दै थिएँ ।
‘प्रेम ? कहिल्यै गरेका थियौ र ?’ उसका शब्द मानौँ फर्निचर मिलको आरा हुन् जो कर्णकट आवाज निकाल्छन् । जो चिर्दछन् मेरो छातीलाई दुई फक्ल्याँटो पारेर । लाग्छ, मुटु भएको छातीको फक्ल्याँटो उसैलाई पछ्याएर जाऊँजाऊँ गर्दै छ ।
जति नै माया गरौँ, जति नै सर्वस्व दिऊँ, स्वास्नीमानिसलाई त्यस मायाको चेत तबसम्म पलाउँदैन, जबसम्म मैले यी यसरी माया गरेको छु भनेर लोग्नेमानिसले व्याख्या गरेर बताउँदैन । मैले पनि माया गरेँ तर माया गरेको छु भनेर प्रत्येक पल उदाहरण दिई दिई बताउने काम गरिनँ । सायद जिन्दगीभर खट्किने कुरा यही नै रहनेछ ।
+++
एकझर पानी फिर्र परेर गयो । म गोंगबु चोकको मिठाई पसलमा ओत लागेँ । फेरि एकैछिनमा छ्यांग भयो । घाम लाग्यो । साँच्चै जिन्दगी पनि यस्तै त हो नि । दु:खको झरी पर्दा ओत लाग्नुपर्छ, पर्खनुपर्छ । घाम लागेपछि हिँड्नुपर्छ, अगाडि बढ्नुपर्छ । म हिँडेँ । जति नै फराकिला पखेटा भए पनि चराहरूका पनि खुट्टा हुन्छन् र तिनीहरू पनि हिँड्न जमिनमै आइपुग्छन् । तर अचम्म, पखेटा नभएका केही मान्छे भने धरातल नै बिर्सिएर उडिदिन्छन् र पो नमज्जासँग बजारिन्छन् !
पर्खाइहरू पनि अचम्मका हुन्छन् । कुनै पर्खाइ बच्चाहरूले दसैं कुरेजस्तै मीठा । कुनै पर्खाई बेपत्ता भएको आफन्त कुरेजस्तै कहालीलाग्दा अनि नमीठा । म भने एउटा बेग्लै पर्खाइमा थिएँ । भूकम्पपछिको परकम्पन कुरेजस्तै कान र आँखा टाठो बनाउँदै सतर्क भएर कुरिरहेको थिएँ म कसैको फोन ।
‘भाइ कता छौ ?’ केही दिनदेखि फेसबुकबाट नम्बर मागेर मलाई पछ्याइरहेको आवाजले बल्ल फोन गर्यो ।
‘म गोंगबु आइसकेँ दाइ ।’
‘एहे म पनि आइसकेँ । नर्थ क्याफे आऊ न’ भनेर आवाजले फोन राख्यो ।
खुरुखुरु अघि आएकै बाटोमा केही पाइला फर्किएँ । देब्रेतिर रहेको नर्थ क्याफे पसेँ । लगभग सबै टेबल भरिएका थिए । एकपटक मेरा आँखाले सबैतिर हेरे । कुनाको एउटा टेबलको मान्छेले हात उठायो । म त्यतै गएँ ।
‘के लिन्छौ ?’ चुरोट तानिरहेका ती मान्छेले हात मिलाउँदै सोधे ।
‘हट लेमन विद हनी’, सामुन्नेको कुर्सीमा बस्दै भनेँ ।
‘यस्तो गर्मीमा ?’
‘डाक्टरले चिसोबाट बच्नु भनेका छन् ।’
‘अहिले बच्नुपर्ने चिसो के छ र त्यस्तो ?’
मैले पनि माया गरेँ तर माया गरेको छु भनेर प्रत्येक पल उदाहरण दिई दिई बताउने काम गरिनँ । सायद जिन्दगीभर खट्किने कुरा यही नै रहनेछ ।
‘केही मान्छेहरूको मन’ भन्न आएको थियो तर उत्तर मनभित्रै पोको पारेर राखेँ, खोलिनँ । उनको हातको इसारामा वेटर आयो । मेरा लागि हट लेमन विद हनी अर्डर गरिदिए । गिलासको कोल्ड ड्रिंक्स उठाउँदै उनले सोधे, ‘तिम्रो फेसबुक र ब्लग हेरेको थिएँ । डायरी पढेपछि तिमीलाई भेट्न मन लाग्यो । त्यसैले म एउटा प्रस्ताव लिएर आएको छु ।’
‘कस्तो प्रस्ताव ?’
‘तिमी एउटा उपन्यास लेख । म छाप्छु ।’
‘दाइले अप्ठ्यारो कुरा गर्नुभयो ।’
‘किन र ?’
‘मजस्तो नाथेको किताब कसले किनेर पढ्ला र ? त्यसमाथि उपन्यास । विषयवस्तु छैन दाइ मसँग ।’
‘कम्तीमा एकचोटि लेखेर त हेर । केही त्यस्तो लेख जुन तिम्रो मनले कसैलाई सुनाउन खोजेको होस् ।’
उनको प्रस्ताव र हट लेमन पिएर म क्याफेबाट निस्किएँ । अघि आएको बाटोतिर फर्किएँ । मेरा पाइला अघि आएभन्दा केही बढी रफ्तारमा हिँडे । सायद मन हलुका भएर खुट्टाहरूलाई पनि बोझ कम भएको हुनुपर्छ । हामी तौल जोख्ने मेसिनमा उभिएर तौल यति छ, उति छ भन्छौँ तर असली बोझ त मनमा पो हुने रहेछ ।
+++
मलाई लेख्नु थियो, उपन्यास । रोगले थलिएर सुस्तरी चलमलाउन थालेका मेरा हातगोडा थिए । अलिअलि सोझो बन्न लागेको थियो, ढाड । अलिअलि लचिलो हुन थालेको गर्धन थियो, मसँग । दु:खहरू मनमा त थिए थिए तर तनमा पीडा असह्य थियो अझै । तर मलाई पर्वाह थिएन । ल्यापटपका किबोर्डमा चलिरहे बल्ल बल्ल तंग्रिएका औंलाहरू । लेख्दै थिए अवहेलनाका किस्सा । बुन्दै थिए उनीसँगका भेटहरू, प्रेमिल पलहरू ।
ऊ आउँथी, उपन्यासका प्लटमा । थपक्क बस्थी नायिका बनेर । तर हराएकी थिई ऊ मेरो जीवनबाट । मन त थियो, उसलाई जीवनकी नायिका बनाऊँ । तर एउटा वियोगान्त किस्सा बनेर फुत्त निस्किएकी थिई ऊ । स्टिच फुत्किएको कापीका हराएका पानाझैं हराउँदै थिए मेरा स्मृतिबाट उसका सम्झना । तर मलाई बताउनु थियो मेरो मनको गुम्फन । लेख्नु थियो आफैँलाई निचोरेर । भन्नु थियो मेरो प्रेम त्यतिविघ्न सस्तो पनि थिएन । गरेको थिइनँ, मैले भावनाको सौदा । गरेको थिइनँ मैले फगत टाइमपास ।
मान्छे गल्तीहरूको कारखाना हो । तर मान्छे प्रायश्चितहरूको गोदाम पनि हो । मैले प्रायश्चितको कहानी दुरुस्त लेखेँ । लुकाइनँ केही कुरा । बनाइनँ आफ्नो कथामा आफैँलाई नायक । मलाई पोख्नु थियो किताबका पानाहरूमा आँसु । खानु थियो आफ्नै कमजोरीहरूको बदलामा गाली । त्यसैले एउटा कमजोर खलनायक बनेर कथामा मैले गरेँ आत्मालोचना ।
पाँच महिनामा उपन्यास लेखेर सकेँ । छापिएछ भने यदि, पुग्नेछ उसको हातमा पनि । पढ्नेछे उसले पनि मेरो मनको वह । सपना यस्तै थियो । त्यसैको सेरोफेरोमा कुनै दिन फेरि बज्छ मोबाइल ।
‘भाइ किताब सकियो ?’
‘सकियो दाइ ।’
‘पठाउ न ।’
मनमा कौतूहल थियो । कस्तो आउला प्रतिक्रिया ? किताबको पाण्डुलिपि पठाएको दिन रातभर निद्रा परेन । परीक्षा दिएर आएको दिनझैँ हलुका त किताब लेखेर सकेकै दिन भएको थिएँ । किताब पठाएको दिन त नतिजा आउने हल्ला भएको दिनझैँ तनावपूर्ण भयो ।
‘भाइ कथाकी नायिका अलि कमजोर भइनन् र ?’ प्रकाशक सोध्थे ।
मेरो प्रेमको अवमूल्यन गरेर जाने, आफू जिन्दगीको नदीमा स्वार्थको नाउ चढेर पारि पुग्दै गर्दा मलाई मझधारमा छोडेर जाने मेरी नायिका कसरी कम्जोर हुन सक्छे ? मलाई रत्तिभर विश्वास हुँदैन । के महिला हुनु, त्यसैको आडमा सबैका सामुन्नेमा रुनु कमजोरीको परिचायक हो ? के पुरुष हुनु, नरुनु, हरेक लान्छना सहनु, प्रतिरक्षामा उत्रिएर चिच्याउनुभन्दा बरु मौन नै रहनु बलियो हुनु हो ?
मैले सकिनँ । मैले त आफ्नो कथा लेखेको थिएँ । त्यसमा मलाई फूलबुट्टा भर्न आएन । नक्कली सुनको गहनाझैँ चहकिलो लेप लगाउन आएन । यदि बनाएको थिएँ भने उसलाई बलियो पात्र, कसरी छोड्न सक्थी उसले मलाई ? सानो सानो हुरीबतास सहन नसकेर जानेलाई कसरी लेख्नु आँधी सहन्छे भनेर ? पैतालामुनिको जमिन थोरै भासिँदा अतालिनेलाई कसरी लेख्नु मैले भूकम्पमा पनि अडिग भई उभिई भनेर ? ‘तैपनि हेर्छु दाइ एकचोटि फेरि’, मैले पाण्डुलिपि फिर्ता बोकेर ल्याएँ ।
+++
बिमारीले थलिएको मान्छे । जीउमा रोग बोकेर, मनमा प्रेमवियोगको राप बोकेर लड्दै थिएँ । अन्तिम आशा थियो, एउटा किताब लेख्नेछु, कम्तीमा मनलाई सान्त्वना त मिल्नेछ । तर मलाई किताब लेखाएर, छापिदिएर गुन लगाइदिन्छु भन्ने मान्छे मेरो फोन आएको पनि थाहा पाउँदैन थिए । मेसेज हेर्दैनथे ।
‘दाइ किताब झुर नै हो मेरो ?’ कुनै दिन बल्लतल्ल सम्पर्क गरेर भनेँ ।
‘भाइ तँ खतरा लेखक बन्नेछस् । तर यस्ता सस्ता प्रेमकथा नलेख् ।’
अचम्म । मेरो छातीको आधा भाग आफैँलाई छोडेर जाऊँजाऊँ गर्दै थियो । मेरो ध्यान, चैन, होसहवास सबै बेपत्ता भएर हराएका थिए । के यो सस्तो प्रेम थियो ? के आफ्नै मुटु निचोरेको मसीले लेखेको कथा सस्तो प्रेमकथा हुन सक्छ ? के मायाको रङमा मलाई रंगीचंगी बनाएर अन्तिममा आँसुको धारोमा नुहाइदिएर फिक्का बनाई जाने मेरी नायिका सस्तो कथाकी कमजोर पात्र हुन सक्छे ? मलाई त विश्वास लागेन ।
आखिर किन तर्किए ती दाइ ? त्यतिविघ्न उत्साहित भएर कबोलेको बोली किन बदले ? सायद मेरो कथामा नै केही कमजोरी छ । मेरो लेखाइमा त्यो दम छैन जसले पाठकलाई धुरुक्क रुवाओस् या खित्का छोडेर हँसाओस् । मलाई पुनरावलोकन गर्नु थियो आफैँलाई । शिरदेखि पाउसम्म आफूलाई नियाल्नु थियो पाण्डुलिपिको ऐनामा । मैले नियालेँ । तासेँ त्यहाँ, जहाँ जहाँ भुत्ते थियो धार । लगाएँ रन्दा जहाँ जहाँ खस्रो थियो भाषा । मलाई भन्नु थियो मेरो कथा मेरो आफ्नै शैलीमा । बताउनु थियो दुनियाँलाई प्रेम त्यतिविघ्न सस्तो पनि हुँदैन । प्रेमकथा त्यति धेरै नाटकीय पनि हुँदैनन् ।
अर्को छ महिनाको अथक प्रयासपछि किताबको अनुहार केही फेरियो । मलाई विश्वास थियो, यो छापिनेछ । मेरो मनले सन्तोक पाउनेछ । मनको गुम्फन निस्किनेछ अब मबाट । तर नियति पहिलेभन्दा फरक भएन । यसपालि त पाण्डुलिपि लिएको दुई दिनपछि नै किताब नछाप्ने भनेर घोषणा गरिदिए ।
टेबलमा दुई कप कालो चिया र चियापछाडि बसेका दुई मान्छे । एउटा म अनि एउटा उनै ।
‘भाइ अलि नयाँ कुरा लेख्नू अब लेख्दा ।’
‘हस् ।’ मसँग योभन्दा उत्तर थिएन ।
कालो चिया भन्दा बढी तीतो थियो त्यो अस्वीकार ।
+++
अरु दुईजना प्रकाशक भेटेँ । मेरो कथाले कसैलाई छोएन । दराजको घर्रामा बसेको मेरो किताब म बेलाबेलामा झिकेर सुम्सुम्याउँथेँ । पानाहरूमा अक्षर हैन, आँसुु भेट्थेँ । कथा हैन, व्यथा भेट्थेँ । तर मेरो आँसु कसले पुछिदिने ? मेरो व्यथा कसले बुझिदिने ? जिन्दगीको पहिलो किताबको पाण्डुलिपि थन्क्याएर बसेँ ।
तँ नाथे लेखक बन्न जन्मेकै हैनस् । आफूले आफैँलाई भन्थेँ । केही सस्ता प्रेमका कस्मेटिक कुरा लेखेर कहाँ लेखक बन्न सकिन्छ ? न कुनै विचार । न कुनै वाद । न कुनै व्यवस्थामाथि खबरदारी गरेर लेखिएको लेखोट । तँ पाजीको गफमा रल्लिएर आएकी थिई कुनै मति बिग्रेकी केटी जसले तँलाई बेहिसाब माया गरी । तर तँलाई त्यसैको माया बढी भयो । त्यस्तीको मन राख्दिन भए पनि चिल्ला कुरा गरिनस् । रोमान्टिक बनेर फकाउन भए पनि जूनताराका स्वैरकाल्पनिक बात बताइनस् ।
माया गरेजस्तो नलागेपछि, आफ्नै हो भन्ने नपारेपछि, आत्मीयताको अँगालोमा गुटुमुटु पारेर नलुकाएपछि, तेरो उच्चाटलाग्दो जिन्दगीको खोरबाट दाम्लो चुँडाएर गई ऊ । अब नाथे आफूले सम्हाल्न नसकेको नाता र सम्बन्धलाई रोइकराई गरेर, कागजका खातहरू खेर फालेर लेख्दैमा लेखक हुन सक्छस् र तोरी ? जिन्दगीमा आफूले आफैंलाई गाली गर्ने हिम्मत जोकोहीमा नहुँदो रहेछ । आफ्नै गालामा चड्कन हान्न सक्ने मान्छेले असलमा फेरि उही गल्ती दोहोर्याउन नसक्ने रहेछ । मैले आफैँलाई भरमार गाली गरेँ ।
र अन्त्यमा, ती प्रकाशक दाइलाई मलाई लेखनको चेत सिकाइदिएकामा मनमनै आभार व्यक्त गरेँ । फेसबुकमा स्टाटस र डायरी लेखजस्तो सजिलो रहेनछ किताब लेख्न भनेर आत्मस्वीकृति गरेँ । उपन्यासको पाण्डुलिपिको काजक्रिया सम्पन्न गरेर आफ्नै धरातलमा ओर्लिएपछि बल्ल म बौरिएँ ।
+++
शरीरमा पहिलेझैं स्फूर्ति बढ्दै आएको थियो । अब त अन्त:स्करणमा समेत केही गर्ने हिम्मत शिवपुरीको डाँडाझैँ अग्लिएको थियो । तर गर्ने के ? आफूलाई त्यही लेख्नबाहेक अरु थोकमा रस नबस्ने । मायाप्रेम मात्र हैन, मलाई जीवनका हरेक मोड कथाजस्ता लाग्न थाले । स्मृतिको खुत्रुकेमा जम्मा भएका हरेक सम्झनाका सिक्का मलाई मेरो अमूल्य सम्पत्ति लाग्न थाले । त्यही निधि खर्च गर्नुपर्छ मैले । मेरो ब्रह्मले यही पहिल्यायो ।
यसपालि मसँग थिए, आफैँले देखेका कथा । गाउँको स्कुलमा पढ्दाका धेरै घटना र किस्सा थिए, मसँग । बालापनका रहर थिए, घर छोडेर जाऊँजाऊँ लाग्ने लहड थिए । भ्रम थिए, बालापनकै निर्दोष प्रेम थिए । स्कुलमा मिस थिए, कक्षामा अनेक खालका साथी थिए ।
हामी तौल जोख्ने मेसिनमा उभिएर तौल यति छ, उति छ भन्छौँ तर असली बोझ त मनमा पो हुने रहेछ ।
नातागोता थिए, हुर्कंदो उमेरमा लुकेर गरेका केही चकचक थिए । कलेज पढ्दा गरेका प्रेमका किस्सा थिए । ती रुमानी थिए, रमाइला थिए । ती बिछोडहरू पनि काउकुती लगाउने खालका थिए । तर सम्झनामा ती पलहरू केवल चित्र बनेर आउँथे । चित्रलाई चलाएर चलचित्र बनाउनु थियो, तब न बन्थे कथाहरू । कथाहरू त लेप लाएको नक्कली सुनझैं टल्किने नहुँदा रहेछन् । उगाल आएर निलोकालो नै देखियोस् केही छैन तर यी त चरेसका थालझैं सक्कली हुँदा रहेछन् ।
सक्कली कथा लेख्नकै खातिर देखेका, भोगेका, स्मृतिमा धमिलो धमिलो गरी नाचेका चित्रलाई कल्पनामा आकार दिन थालेँ । आमाहरूका कथा, बाहरूका कथा, हजुरबा अनि हजुरआमाहरूका किस्सा मसिना पोतेका दानाझैं उन्न थालेँ । बल्ल देखियो, पुस्तकको आकार ।
भनिन्छ नि, कुनै खराब मान्छे पनि कसै न कसैका लागि असल हुन सक्छ । बिग्रेकै घडीले पनि दिनको दुई चोटि त सही समय देखाउँछ । कुनै खराब पुस्तककै पनि कोही न कोही त असल पाठक हुन्छन् । तर म त्यतिविघ्न पनि खराब थिइनँ क्यार, मेरा कथा त्यतिविघ्न पनि अरुचिपूर्ण थिएनन् होला, र त मेरो सही समय आइपुगेको थियो । र मेरो भेट एउटा असल प्रकाशकसँग भएको थियो जसले मेरा कथा प्रकाशन गर्ने तत्परता देखायो ।
तयार भएको पुस्तक पनि कहिले के नमिल्ने, कहिले के नमिल्ने गरेर पर्खिंदै पर्खिंदै अन्तत्वगत्वा कोरोनाको कहर, लकडाउन अनि सुनसान सहरको शून्यतालाई छिचोलेर आइपुग्यो । यसरी गाउँसहर अनि पुस्तकप्रेमीका बुकसेल्फका लहरहरूमा खुसुक्क अटाउन, ‘फाइनप्रिन्ट’को आकर्षक कलेवरमा ‘रहर’ आइपुग्यो ।
+++
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया