‘मेरा समकालीन नेताहरू पढ्दैनन्, धेरैले पढ्न छाडिसके’ (भिडियो)
घरको बुइँगलमा हजुरबुवाको कोठा छ । कोठामा थुप्रै किताब छन् । अनि ती किताबका बीचमा हजुरबुवा प्रायःजसो पुस्तकहरूमा घोत्लिरहेका भेटिन्छन् ।
त्यस्तै १२–१३ वर्षको उमेर । बालसुलभ मस्तिष्क । जिज्ञासु आँखा । ती आँखामा सधैँ एक प्रश्न छ– हजुरबुवाले पढिरहनुभएको पुस्तक के हो, कस्तो हो ? उनको दिमागमा यो प्रश्न किन आउँथ्यो भने हजुरबुवाले पढ्ने पुस्तक उनले स्कुलमा पढ्ने पुस्तकभन्दा फरक छन् ।
उनी हरेक दिन आफ्ना र हजुरबुवाका पुस्तकबीच तुलना गर्छन् । तर, उनका सबै प्रयासहरू निरर्थक हुन्छन् । तात्विक फरक भेट्न सक्दैनन् । जिज्ञासा दिनप्रतिदिन बढ्दो छ । अनौठो मानेर ढोकाको चेपबाट हजुरबुवालाई पढेको हेर्छन् । कोही नभएका बेला पुस्तकहरू ओल्टाइपोल्टाइ गर्छन्, गाताका चित्रहरू सुम्सुम्याउँछन्, दंग पर्छन् । पुस्तकबारे जान्ने इच्छा झन् प्रगाढ हुँदैछ ।
कौतुहलले सीमा नाघेपछि उनले एक दिन हजुरबुवालाई सोध्ने निधो गर्छन् । लाडिँदै हजुरबुवाको काखमा जान्छन् र सोध्छन्– हजुरबुवा यो के हो ?
हजुरबुवाबाट तत्कालै जवाफ पाउँछन्– कथाको पुस्तक हो बाबु !
तर, उत्तरले कौतुहल मेटिँदैन । हजुरबुवातर्फ अर्को प्रश्न तेर्स्याउँछन्– यसमा के हुन्छ ?
नातिको प्रश्न सुन्नेबित्तिकै हजुरबुवालाई अनौठो लाग्दैन । तर, एकैछिनपछि उनलाई प्रश्नले सोचमग्न बनाउँछ । नातिमा प्रश्न गर्ने स्वभावको विकास भइरहेको देखेर उनी दंगदास हुन्छन् । त्यसपछि उनी नातिलाई कथा के हो भन्ने मात्र बताउँदैनन्, पढ्नसमेत प्रेरित गर्छन् ।
नातिका हातमा एउटा पुस्तक थमाइदिन्छन्, त्यसको विषयवस्तु र परिवेशबारे बताइदिन्छन् । नातिमा दिन दुई गुणा रात चौगुणा पुस्तकप्रति बढ्दै गइरहेको रुचि देखेर उनी प्रफुल्लित हुन्छन्, छाती गर्वले ढुक्क फुल्छ । अझ धेरै पढ्न प्रेरित गर्छन् ।
हजुरबुवाले सुझाएका तोता मैनाको कथा, गिरीशवल्लव जोशीको ‘वीरचरित्र’, ‘मुनामदन’लगायतका पुस्तक उनलाई स्वादिला लाग्छन् । कथाका पात्रहरू दिमागमा डेरा जमाएर बस्छन् । बेलाबखत झक्झक्याइरहन्छन् । कहिले खुसी खुसी बनाउँछन् त कहिले दुःखी । खुसी बनाओस् वा दुःखी उनलाई अक्षरको संसार रमाइलो लाग्छ, त्यो संसारमा उडान भर्न रमाइलो लाग्छ ।
परिवारको जेठो छोरा । घरमा सधैँ एक्लै हुन्छन् । एक्लोपनले गाँज्छ । आफूसँग खेल्ने कोही नभएपछि उनी पुस्तकमा आफूलाई खोज्छन् । बिस्तारै पुस्तक उनको स्थायी साथी नै बन्छ ।
अध्ययन गर्ने रुचि दिनदिनै बढ्छ । कथाबाट उनी बिस्तारै जासुसी उपन्यासतर्फ लाग्छन् । मन र मस्तिष्क झन्झन् चञ्चल हुँदै छ । शंका–उपशंकाले रन्थनाउँछ । जिज्ञासा निवारणका लागि हजुरबुवाको सहयोग लिन्छन् ।
उमेर र शिक्षासँगै उनमा अझ गम्भीर पुस्तक पढ्ने लत बस्छ ।
०००
आजभन्दा ६३ वर्षअघि काठमाडौंको लगनमा जन्मिएका, नेकपा एमालेका स्थायी सदस्य तथा पूर्वसांसद, रुघुजी पन्तको अब कलेज जीवन सुरु भयो । त्यो विस २०३६ आसपासको समय थियो । पञ्चायतीविरोधी आवाज पेचिलो भइरहेको थियो ।
कलेज पढ्न थालेपछि उनको अध्ययनको दायरा झन् फराकिलो भयो । कथा, उपन्याससँगै चर्चित दार्शनिकका विचार तथा दर्शनमा पनि उनी घोत्लिन थोले । कार्ल मार्क्स, माओ, लेनिनलगायतका सैद्धान्तिक पुस्तक तथा रुसी, हिन्दी, अंग्रेजीलगायतका विभिन्न मूलका लेखकका आख्यान र गैरआख्यानले उनको माथिंगलमा हलचल मच्चाउन थाल्यो । पठनले उनलाई आलोचनात्मक र विद्रोही स्वभावको बनाउँदै थियो ।
देशमा नयाँ उभार ल्याउने दृढ संकल्पसहित उनी राजनीतिमा होमिए । यतिबेलासम्म उनले लेख्न पनि थालिसकेका थिए । पञ्चायतीविरोधी आन्दोलन उत्कर्षमा पुगेका बेला उनी पत्रकार भए । साहित्य, पत्रकारिता र राजनीति, तीनै कुरा उनको जीवनमा सँगसँगै सुरु भए ।
२०३६ को पञ्चायतीविरोधी आन्दोलन र २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि भएको आन्दोलनमा उनको महत्वपूर्ण भूमिका रह्यो । उनले कहिले लेखेर सत्ताको विरोध गरे त कहिले सडकमै आएर । १५ वर्ष पत्रकारिता गर्दा उनी नेपाल पत्रकार महासंघको महासचिवसम्म बने । पछि चुनावमा उठ्ने भएपछि राजीनामा दिए र पूर्णकालीन राजनीतिक जीवन सुरु गरे ।
त्यसपछि उनी सधैँ राजनीतिमै भए पनि अध्ययन र लेखनबाट कहिल्यै टाढिएका छैनन् । बेलाबेला पत्रपत्रिकामा उनका सामाजिक–राजनीतिक लेख, पुस्तक तथा सिने–समीक्षा पढ्न पाइन्छ ।
०००
हजुरबुवाको संगतबाट रहरै रहरमा पढ्न सिकेका उनका लागि अब पढ्नु प्यासन र अब्सेसन दुवै हो । उनी दैनिक ६ घण्टा पढेर बिताउँछन् । कुनै दिन पढ्ने समय पाइएन भने जीवनमा ठूलै कुरा छुटेको भान हुन्छ । खल्लो खल्लो लाग्छ । पार्टीको कामले होस् वा आफ्नै कामले उनी जहाँ गए पनि उनी साथमा पुस्तक बोकेरै हिँड्छन् । मेसो मिल्यो कि पढिहाल्छन् ।
उनको पढ्ने लय अरुको भन्दा अलि फरक छ । उनी एकैसाथ विभिन्न विधाका पुस्तकहरू पढिरहेका हुन्छन् । यस्तो किन भन्ने प्रश्नमा उनी भन्छन्, ‘१५ वर्ष पत्रकारितामा व्यतित गर्दा म अधिकांश समय सम्पादक थिएँ । त्यतिबेला सम्पादक मुख्य लेखक हुन्थ्यो । राजनीति, समाज, अर्थ, खेललगायत सबै विधामा उसले लेख्न सक्नुपथ्र्यो । अहिले जस्तो एउटा मात्र विधा जानेर हुँदैनथ्यो । विविध विषयमा ज्ञान र लेख्न सक्ने मात्र सम्पादक हुन्थ्यो ।’
उनले अगाडि भने, ‘यसरी ममा विभिन्न विधाका पुस्तकहरू पढ्ने बानी बस्यो । अर्को कारण चाहिँ एउटा राजनीतिज्ञको हैसियतमा मैले धेरै ठाउँमा बोल्नुपर्ने हुन्छ, लेख्नुपर्ने हुन्छ । वास्तवमा भन्ने हो भने मलाई सानैदेखि विविध विधाका पुस्तक पढ्न मन लाग्यो ।’
अहिले उनको हातमा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठ, पिटर जे. कार्थक र गुल्जार छन् । त्यस्तै, जावेद अख्तरसँग सिने संवादमा आधारित पुस्तक पनि उनी पढिरहेका छन् ।
‘मैले बीपी र पुष्पलालका भोल्युमहरू थुप्रै पल्ट पढिसकेको छु, तर अहिले फेरि यी दुवै पढिरहेको छु । पुष्पलाल र बीपी स्मृति नजिकै छन् । मैले दुवैको स्मृतिमा विभिन्न ठाउँमा बोल्नु र लेख्नुपर्ने भएकाले फेरि पढिरहेको छु’ उनले सुनाए ।
खास पत्रकार, लेखक तथा राजनीतिज्ञ हुन चाहने व्यक्तिले धेरैभन्दा धेरै पढ्नुपर्ने उनी मान्छन् । अध्ययनबिना भाषा, सिर्जनात्मकता र चिन्तनको दायरा फराकिलो नहुनेमा उनको जोड छ । त्यसमा पनि राजनीतिज्ञले अझ धेरै पढ्नुपर्ने उनको बुझाइ छ ।
‘एउटा नेताले त अझ धेरै पढ्नुपर्छ । उसले आफ्नो देशको इतिहास, भूगोल, अर्थतन्त्र, विभिन्न समुदाय तथा जातजातिका परम्परा, रीतिथिति अनि संस्कृतिबारे पढ्नुपर्छ । पढेपछि न उसले देशलाई बुझ्छ, देशवासीका समस्या बुझ्छ, उनको अनुभव छ, ‘यी तमाम कुरा बुझेपछि न उसले यी समस्यालाई चिर्ने समाधानको उपाय दिनसक्छ ।’
नेपालमा अहिलेका नेताहरूमा पढ्ने संस्कार नभएको बताउँछन् उनी । ५० को दशकपछि नेपाली नेताहरूमा अध्ययन गर्ने बानी घटेकोमा उनको चिन्ता छ । पहिले पढ्नेहरू पनि अहिले पढ्दैनन् । अहिलेका युवा नेताहरू पनि खासै पढ्दैनन् । ‘मेरै समकालीन नेताहरू अहिले पढ्दैनन् । खै के कारणले हो धेरैले पढ्न छाडिसके । थोरै नेताहरू मात्र पढ्छन् ।’ पन्तको गुनासो छ ।
उनी समग्रमै नेपालमा पढ्ने कल्चर घटेको आशंका गर्छन् । घर तथा विद्यालयमा विद्यार्थीलाई पढ्नुपर्छ भनेर राम्रोसँग नसिकाइने भएकाले यस्तो भएको उनको तर्क छ । पन्त भन्छन्, ‘पढ्ने बानीको विकास त बाबुआमाले आफ्ना सन्तानलाई घरैबाट सुरु गराउनु पर्छ । विद्यालयहरू पनि यो विषयमा सचेत हुन आवश्यक छ ।’
यसबाहेक पुस्तकालयको कल्चर पनि अत्यन्तै कम भएकामा उनको गुनासो छ । एकातिर भएका पुस्तकालय मर्मत सम्भारको अभावमा बन्द छन् भने अर्कोतर्फ नयाँ खुल्न सकेका छैनन् । ‘नेपालमा जुन गतिमा पुस्तकालयहरू खुल्थे र खुलेका थिए । पछिल्लो समय त्यो गति सुस्ताएको छ । यो बडो दुःखको कुरा हो ।’ उनी भन्छन् ।
पुस्तकालय स्थापनाले निरन्तरता नपाउँदा पठन संस्कृति अपेक्षित रुपमा बढ्न नसके पनि उनी पछिल्लो पुस्ताका केही लेखकबाट एकदमै प्रभावित छन्, आशावादी छन् ।
यो भिडियो स्टोरीमा पन्तसँग उनको पठन रुचि, उनको उमेर र भूमिकामा आएको परिवर्तनले अध्ययन गर्नेहरूमा ल्याएको परिवर्तन, उनलाई मनपर्ने विधा तथा लेखक, नेपालमा पठन संस्कार र पुस्तकालयको अवस्थालगायत विविध विषयमा चर्चा गरिएको छ । त्यस्तै, पुस्तक किन पढ्ने, पढ्ने संस्कारको विकास कसरी गर्नेलगायत यावत् प्रश्नमा उनले आफ्नो विचार प्रस्तुत गरेका छन् :
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया