‘मेरो किताब मेजर फणेन्द्रविक्रमकी श्रीमती जगकुमारीको नाममा छापियो’
आजभोलि ‘संग्रह’को निक्कै बढी चलन चलेको छ । जुनसुकै क्षेत्रका महारथीहरू – पद्यकार, निबन्धकार, कथाकार आदि जोसुकै हुन् ‘संग्रह’ नै छपाउनतिर बढी लहसिएका देखिन्छन् । किताब लेख्ता बढी श्रम र समय लाग्ने भएर होला, लेखिसकिएका र छापिसकिएकाहरूलाई बटुली चाँडै ‘किताबकार’ बन्ने हतपतमा ‘संग्रह’ले मान्यता पाएको ! हुन पनि संग्रह ननिकाली लेखन्तेको धित नमर्ने भइसकेको छ अब ।
यो संग्रह लेखकको त्यस किसिमको धोको पुर्याउन गरिएको होइन । पुराना पत्रिका– उद्योग, शारदा आदि– पढ्दा नियमित रूपमा ‘खुकुरी’ जस्ता पद्यकारका रूपमा हाम्रा हवल्दार देवीप्रसाद उपाध्यायको नाम पढ्न पाइन्छ । आठै पहर सिंहदरबार गारतमा बस्नुपर्ने व्यक्ति भए पनि देवीप्रसादका पद्म सुन्दर छन्, मीठा छन् । अझ त्यसभन्दा पनि अर्कै आकर्षण त्यहाँ छ लेखकको नाम अगाडि ‘हवल्दार’ दर्जा जोडिनु । कविताले भन्दा पनि लेखकको यही दर्जा ‘ह.’ ले पाठकलाई बढी कुत्कुती पैदा गराइदिन्छ । कस्तो होला कविको जिन्दगानी भनेर ! यो त्यही विषयमा केही जानकारी दिने प्रसङ्गको क्रम हो ।
नेपाली साहित्यको इतिहास पल्टाउँदै जाँदा ’पल्टनियाँ’ हरूको योगदान निकै महत्वपूर्ण देखिन्छ । प्रारम्भिक ‘पद्य–कार’हरूका ताँतीमा थुप्रै सिपाहीहरूको नाम पढ्न पाइन्छ । कसैले भीर–पैरो, भुइँचालो आदि दुर्घटनाको वर्णन गरी आफ्नो भाव व्यक्ताएका छन् भने कसैले भगवान्को स्तुतितिर कलम दौडाएका छन् । जे जस्तै भए पनि पद्य–साहित्यतर्फ पल्टनियाँहरूको परिश्रम प्रशंसनीय छ ।
विभिन्न पेशा अपनाएर गुजारा गर्नुपर्ने यस जिन्दगानीमा कोही सिपाही बनेका छन्, कोही लेखन्ते भएका छन् । यो रुचिअनुसारको छनोट हो, परिस्थितिअनुसारको बनोट हो । परन्तु सिपाही पेशा लिईकन पनि लेखन्ते बन्न सक्ने भावना चाहिँ बिरलैमा मात्र पाइन्छ । यो तारीफयोग्य गुण हो ।
आफ्नो समयका प्रतिष्ठित पत्र–पत्रिकाहरूमा लेख छाप्न दिई देवीप्रसादले आफ्नो कलमलाई सधाउँदै लगेको देखिन्छ । ‘सैनिक भएर लेख लेख्न हुन्छ ?’ भनी आफ्ना हाकिमहरूबाट हप्की खान नपरेको भए कविका कलमबाट अझै अरू केही पाउन सकिन्थ्यो होला तर त्यसो हुन नसके पनि जे जति गर्नुभयो, समयअनुसार यसलाई ‘निकै’ नै भन्नुपर्छ ।
महाकवि देवकोटाले वि.सं. २००३ मा नै हाम्रा कवि पौडेलबाट रचनात्मक आश निकै गर्नुभएको देखिन्छ । त्यसैले त ‘सीता’ भन्ने किताबमा कविको ‘परिचय’ लेख्ता उहाँ भन्नुहुन्छ– श्रीदेवीप्रसाद पौड्यालले रच्नुभएको सीता नामको किताब मैले एकफेरा हेरें । राम्रो लाग्य । झुसिल्कीराबाट पुतली, पुतलीबाट परी हुँदै विकास हुनु सबै कविको क्रम हो । यस पुस्तकमा कमसेकम पुतली त देखिएको छ । शैलीमा मैले राम्रो विकास पाएँ ।
मैती देवी कविकुञ्ज, नेपाल
२ गते फाल्गुण २००३
प्रो. लक्ष्मीप्रसाद देवकोटा
बी.ए., बी.एल.
देवकोटाले आश गरेअनुसार कविले यथाशक्ति प्रगति गर्दै जानुभयो । परन्तु आज २७ वर्ष (वि.सं. २०३०) भइसक्ता पनि यी कविको बारेमा कसैले पनि चर्चा चलाएको नदेख्ता अलि अचम्म लाग्छ । अहिले कवि आफ्नै जन्मभूमि सैंपूमा शेष जीवन विताउँदै हुनुहुन्छ । २३ वर्ष सैनिक सेवा गरी मनोकरीको हद्भ्याद पुगेकाले उहाँले अवकाश पाउनुभएको हो । हाल रु. ३०/पेन्सन पाउँदै हुनुहुन्छ– उहाँ ।
यस्ता कविसँग भेटी कुराकानी गर्ने रहर थियो । त्यो मेटियो एकदिन भूतको भिनाज्यू (वासुदेव लुइँटेल) को घरमा । दौरा सुरुवालमा कालो ज्वारीकोट,
ढाकाको सेतो टोपी, छाँटेको जुँगा, बनाएको दाह्री, उमेरले साठी वर्ष नाघे पनि ठम्ठम् हिंड्न सक्ने अवस्थाको हुनुहुँदो रहेछ उहाँ । यताउताका कुराकानी भएपछि मैले सोधें–
‘तपाईंहरूको पुख्र्यौली घर ?’
‘धेरै पहिलेको त मलाई थाहा छैन । जयप्रकाश मल्लले हाम्रा पुर्खा ऋषि पाध्यालाई ताम्रपत्र गरी जग्गा बिर्ता दिंदा उहाँहरू कानपुर (दाप्चानजीकै) मा बस्नुहुन्थ्यो । अनि बिस्तारै हामीहरू सैंपू (कानपुरबाट तीन दिन पर) तिर लाग्यौं ।
नेपालका कतिपय लेखककाझैँ तपाईका लेख अरूका नाममा त छापिएका छैनन् ?
छन् । ‘दिदीबहिनीहरूलाई भेट !’ भन्ने किताब मैले नै बनाएको हुँ । तर मेजर फणेन्द्रविक्रमकी श्रीमती जगकुमारीले मेरो मञ्जुरी लिईकन सो किताब आफ्नै नाममा छापिन् ।
तपाईं त सैनिक, तपाईको अङ्ग–भङ्ग भएको छ कि ?
युद्धभूमिमा गोली लागेको त छैन, ०९६ सालमा भाइसराय आएका वेला जुद्धसमशेरसँग ठोरीमा शिकारमा जाँदा दायाँ तिघ्रामा गोली लागी ४२ दिनसम्म अस्पतालमा बसेको छु ।
तपाईंलाई लडाइँमा लड्नुपरेथ्यो ?
द्वितीय विश्वयुद्धमा बहादुर समशेर फौजको मुख्य भएर गएका वेला दिल्ली र दरगाई (आजभोलिको पाकिस्तान) मा गरी पाँच महीना त बिताएको हुँ । परन्तु युद्धभूमिमा चाहिँ पुग्न परेन ।
तपाईंको पहिलो जागीर ?
२४ पल्टनमध्येको शमसेरदलमा मासिक रु १२/पाउने गरी म भर्ना भएको हुँ ।
तिनताका रु. १/ को कति माना चामल पाइन्थ्यो ?
(१ मानाको कति रु. पर्थ्यो किन भनूँ ?)
रु.१/– को १२ माना चामल ।
तपाईंलाई कविता बनाउने प्रेरणा कताबाट मिल्यो ?
फुर्सतका बेला यसो पत्र–पत्रिकाहरू पढ्ने बानी, बाहिरतिर गएका
बेला बसेको थियो । यसैबाट प्रभावित भएर मैले पटनाबाट
निस्कने पत्रिकामा, अनि गो.प.मा. लेख दिंदै गएँ, छापिँदै गयो ।
गो.प.का सम्पादक प्रेमराजजीले पनि मलाई उत्साहित पार्दै लैजानुभयो ।
यस किसिमले कविसँग कुराकानी गरियो । यस किसिमको छोटो कुराकानीबाट भएपनि दुई दशक भन्दा बढी अवधिसम्म सैनिक सेवामा र हेर पनि नेपाली साहित्यको अभिवृद्धि गर्नमा उल्लेखनीय योगदान दिन समर्थ कवि हवल्दार देवीप्रसाद उपाध्यायको बारेमा छोटो जानकारी प्रस्तुत हुन सकेको छ ।
(हवल्दार देवीप्रसाद; संग्रह प्रकाशन; २०३० । इतिहासकार डा. नयनाथ पौडेलको पुस्तक ‘एक दामको चार माना चामल’बाट ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया