सप्ताहन्त

आख्यानकार अमरलाई प्रश्न : यौन मनोवैज्ञानिक साहित्यले समाजलाई के दिन्छ ?

कमल विष्ट |
साउन १४, २०७९ शनिबार ७:८ बजे

२०६६ सालको कुरा । आख्यानकार अमर न्यौपानेको पहिलो सिर्जना प्रकाशोन्मुख थियो– ‘पानीको घाम’ । पुस्तक अन्तिम चरणमा थियो । ‘लेआउट’को काम हुँदै थियो । पहिलो पुस्तक आउन लाग्दा एउटा लेखकको अनुहारमा कस्तो भाव हुन्छ ?

उनको मुहारमा केही उत्सुकता, केही डर, केही आशाको मिश्रित भाव सल्बलाइरहेको थियो । पाठकहरूबाट कस्तो प्रतिक्रिया आउला भन्‍ने खुल्दुली छँदै थियो । किताबलाई अन्तिम रूप दिन उनी लेआउट डिजाइनर ज्ञानु महर्जनसँग बसिरहेका थिए, पुतलीसडकको एक घरको दोस्रो तल्लामा । महर्जनले अर्को पुस्तकको पनि लेआउट गर्दै थिए, समालोचनाको पुस्तक । लेखक थिए, त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापन गरिरहेका एक समालोचक । अमरजस्तै उनी पनि आफ्नो पुस्तकको लेआउट हेर्न डिजाइनर महर्जनसँग भेट्न आएका थिए । 


अमर र उनीबीच आआफ्ना प्रकाशोन्मुख पुस्तकबारे कुरा हुन थाल्यो । कुरै कुरामा ‘पानीको घाम’को ‘ऊ असुरक्षा माग्छे’ शीर्षकको कथामा ती समालोचकको आँखा पुगे । उनलाई कथाको शीर्षक अनौठो लागेछ क्यारे । चस्मा मिलाइमिलाइ पढ्न थाले । पढ्दै गर्दा अमरले बेलाबेला उनको अनुहारमा कस्तो भाव आउँछ भनेर हेर्दै थिए । तर उनको अनुहारबाट खासै उज्यालो भाव आइरहेको थिएन । पढिसकेपछि त झन् उनको अनुहारको भाव नै बदलियो । चश्माभित्रका ठूल्ठूला आँखा उठाएर उनले अमरलाई हेरे र कठोर भावमा सोधे, ‘यो कथाले समाजलाई के दिन्छ ?’

प्रश्नले अमर अलमलिए । जवाफका लागि शब्दै भेटेनन् । उनलाई लाग्यो- बाबुआमा, घरबार, धनसम्पत्ति केही नभएकी एक दुखिया युवतीबारे गरिबीको कथा लेख्नुको सट्टा यौनको कुरा लेखेर मैले गल्ती गरेँ । प्रश्नले उनी विलखबन्दमा परे । 

उनले आफैँलाई सोधे- साँच्चै यो कथाले समाजलाई के दिन्छ ? सोच्दासोच्दा उनी हैरान भए । कसैले आफ्नो सिर्जनाको औचित्यमाथि प्रश्न गर्दा आफूले औचित्य पुष्टि गर्न नसक्दा उनी आफैँसँग हारे । उनलाई लाग्यो, जुन कथाले समाजलाई केही दिँदैन, त्यो कथा छाप्न हुँदैन ।

त्यतिकैमा ती समालोचकको मोबाइलको घण्टी बज्यो । रिङटोन थियो- न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई ! 

अन्जु पन्तको आवाज रहेको यो गजल त्यो बेला खुबै चर्चित थियो । ती समाचोलक फोनमा कुरा गर्न एकैछिन बाहिर गए ।  

उनलाई राहत मिल्यो । उत्तरबारे शान्त भएर सोच्ने मौका पनि पाए । त्यही बेला उनको मनमा उत्तरसहित ती समालोचकलाई गर्ने प्रश्न फुर्‍यो । 

कुरा सकेर एकछिनपछि ती समालोचक भित्र आए । न बिर्सें तिमीलाई न पाएँ तिमीलाई... गजलतिर सङ्केत गर्दै उनले उल्टै सोधे, ‘तपाईंलाई यो मन पर्छ ?’

‘मन परेर त रिङटोन हालेको,’ समालोचकले जवाफ दिए । 

उनले उल्टै प्रश्न सोधे, ‘यो गीतले समाजलाई के दिन्छ ?’ 

अलमलिने पालो समालोचकको थियो । उनी निःशब्द भए, जसरी एकैछिन पहिले अमर भएका थिए । 

त्यसपछि अमरले नै भने, ‘सर, यो गीतले समाजलाई केही कुरा दिन्छ ?’

समालोचकको आँखाले के दिन्छ भनेर सोधे । 

‘मानिलिऔँ, एउटा मान्छे अर्को मान्छेलाई गोली हान्‍न बन्दुक ताकिरहेको छ । ऊ चोर औँलाले ट्रिगर दबाउन ठिक्क परेको छ । त्यतिकैमा तपाईंको रिङटोनवाला गीत बज्यो । गीत र त्यसको धुन सुनेर त्यो मान्छे थामिन्छ,’ अमरले अगाडि भने, ‘त्यो गीतले ट्रिगर नदबा भनेको छैन, तर गीतले कसैलाई लाग्ने गोली रोकिदियो । साहित्यले सीधै भन्दैन सर । साहित्यले नभनेरै भन्छ, जसरी नदीले नभनेरै बग्न सिकाउँछ । फूलले नभनेरै फुल्न सिकाउँछ । जसरी मानिसलाई प्रेमले परिवर्तन गराउँछ, त्यसरी नै असल साहित्यले भावनादेखि नै परिवर्तन गराउँछ । पानीले नभनेरै तिर्खा मेटाउँछ, अन्‍नले नभनेरै भोक मेटाउँछ । त्यसरी नै असल साहित्यले नभनेरै मानिसको मन र मस्तिष्कको भोक मेटाउँछ ।’

नेपालगञ्जलाई परिवेश बनाएर लेखिएको ‘पानीको घाम’मा १९ कथा छन्- जहाँ राजनीति, अभाव, दलनलगायतको कुरा मात्र गरिएको छैन, भोग वा वासनाको पनि कुरा गरिएको छ । त्यसैले, उनलाई लागेको थियो– भोग र वासनाबारे लेखिएका कथाको कतै विरोध त हुने होइन ?

‘‘ऊ असुरक्षा माग्छे’ नामक कथा घरबारविहीन, मन्दिरमा बस्ने एक युवतीको कथा हो । सामाजिक मान्यताअनुसार ऊ कुरूप छे । तर, मैले उक्त युवतीको भोकको कथाभन्दा भोगको कथा लेखेँ । उसको यौनप्रतिको तृष्णाको कुरा छ त्यहाँ,’ उनले भने, ‘मलाई उक्त केटीको भोकभन्दा भोगलाई विषय बनाएँ, अलि फरक लेखौँ भन्‍ने लागेर । उक्त कथाको धेरै विरोध हुन्छ कि भन्‍ने लागेको थियो, तर भएन । उक्त कथा नै सबैभन्दा धेरै मन पराइयो । धेरैबाट सकारात्मक प्रतिक्रिया पाएँ ।’

महिला पाठक तथा प्राज्ञहरूबाट अझ धेरै प्रशंसा पाएपछि उनी दंगदास भए । एक जना महिला प्राज्ञले कथाको प्रशंसामा भनेको कुरा उनी अहिले पनि सम्झिन्छन् । ‘तपाईंले पुरुष भएर यस्तो कथा कसरी लेख्नुभयो ? यस्तो कथा त मैले लेख्न सक्नुपथ्र्यो ।’ उनले भनेकी थिइन् । 

प्रतिक्रिया सुनेर उनले पनि ठट्टैठट्टामा भने, ‘पूर्वजन्ममा सायद म महिला थिएँ । त्यो मेरो अवचेतन मस्तिष्कमा बसेको छ ।’


यो चाहिँ २०६८ कात्तिकको कुरा हो । अमर पद्मश्री साहित्य पुरस्कार अर्पण कार्यक्रममा सहभागी भएर फर्कंदै थिए । साथमा थिए, अग्रज वरिष्ठ कथाकार तथा अङ्ग्रेजीको अध्यापक । कार्यक्रम रसियन कल्चर सेन्टर कमलपोखरीमा भएको थियो । 

ती अध्यापकसँग कुरा गर्दै हिँड्दा केही सिक्न पाइने भयो भनेर अमर मख्ख थिए । लेखनबारे कुरा हुँदै जाँदा प्राध्यापकले सोधे, ‘के गर्दै छौ अचेल ?’

अमरले दोस्रो आख्यान ‘सेतो धरती’मा काम गरिरहेका थिए । उनले त्यही कुरा भने । प्राध्यापकले ‘पानीको घाम’ चाहिँ पढेका रहेनछन् । चितवनबाट प्रकाशित पत्रिकामा छापिएको एउटा कथा पढेका रहेछन् । त्यो कथा एक किशोरीको यौन मनोविज्ञानमा आधारित थियो । त्यही कथालाई सङ्केत गर्दै अध्यापकले भने, ‘अमर, तिमीले लेखेको जस्तै कथा मैले २०२८ सालतिर लेख्थें । एक दिन मेरा गुरुलाई देखाएँ । गुरुले कथापढेपछि रिसाउँदै यस्तो कथा लेख्ने भए अबदेखि कथा नलेख्नू भनेर कापी नै टुक्राटुक्रा पारेर च्यातिदिनुभयो । त्यसपछि मैले कहिल्यै त्यस्तो कथा लेखिनँ ।’

अमरले उनको आशय बुझे । अमर ती अध्यापकलाई आदर गर्थे । अहिले पनि गर्छन् । आदर गरेरै आफूलाई लागेको कुरा भन्‍न मन लाग्यो र उनले भने, ‘सर, खासमा म यौन लेख्न चाहन्‍नँ, तर म नलेख्न सक्दिनँ । लेखिनँ भने सृष्टि छुटे जस्तो लाग्छ । हेर्नोस् न सडकमा यति धेरै मानिस छन् । यी घरहरूमा पनि मानिसहरू नै बस्छन् । मानिस भन्‍नासाथ यौन आएन र सर ? हामीलाई फूल, फलफूल मन पर्छ । फूल र फलफूलभन्दा पनि यौन आउँछ । हरेक जीव र वनस्पतिको नाम लिनासाथ यौन आउँछ । किनभने, ती सबै यौनका परिणाम हुन्,’ उनले भने, ‘यौन नआउने कथा कस्तो हुन्छ, बताइदिनुस् न, म त्यसरी लेख्न चाहन्छु । यौनबिना सृष्टि सम्भव भए सिर्जना पनि सम्भव छ । सर, यौनबिनाको सृष्टि देखाइदिनोस्, म त्यस्तो आख्यान लेख्न चाहन्छु ।’


अमरले इकागजसँग भने, ‘जे विषयमा कथा लेखिन्छ सकेसम्म त्यसको पिँधसम्म लेखक पुग्नुपर्छ । मलाई साधारण मानिसका साधारण कुरा लेख्न मन पर्छ । राजनीतिक विषयमा पनि लेख्न मन पर्छ । उदाहरणका लागि पानीको घामको सालिक कथा । वि.सं. १९९३ बाट अहिलेसम्म नेपालगन्जको एउटा चोकको सालिकमाथि भएको राजनीति छ । ईश्वरसँग मुद्दा, बादलमुनि, कथान्त जस्ता कथामा यौनको गन्ध छैन । किनभने, त्यहाँ आवश्यकता छैन । जहाँ आवश्यकता हुन्छ, त्यहाँ आफैँ आउँछ । संसारमा त्यस्तो कुनै कुरा छैन, जुन साहित्यमा नअटेको होस् । विज्ञान, राजनीति, अर्थशास्त्र, समाजशास्त्र, चिकित्साशास्त्र, दर्शन, जीवन साहित्यमा अट्छ । संसारमा जे छन् ती सबै साहित्यमा हटाउँछन् । यी सबै अट्दा यौन तथा वासना नअट्ने भन्‍ने हुँदैन ।’


उनले सम्झिने एउटा अर्को किस्सा पनि छ । यो हालसालैको हो । उनी महेश संन्यास आश्रममा चार दिन बसे ।तनहुँको देवघाट । हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल । अमरको प्रिय ठाउँ । उनको पहिलो उपन्यास ‘सेतो धरती’ लेख्ने प्रेरणा उनले त्यहीबाट पाएका हुन् । ‘सेतो धरती’को क्यानभास देवघाटमा उनी बेलाबखत पुगिरहन्छन्– जीवन, जगत् र साहित्यबारे चिन्तन गर्न । 

गएको असार २५ गते उनी शास्त्री र आचार्य पढ्दै गरेका विद्यार्थीलाई आफ्नो लेखन अनुभव सुनाउँदै थिए । त्यतिकैमा शास्त्री पढ्दै गरेका विद्यार्थीले भने– सेतो धरतीमा यौनको पक्ष हटाउने हो भने उपनिषद् जस्तै हुन्थ्यो ।’

युवकको प्रश्नले अमरलाई सोचमग्न बनायो । छुट्टै खाले प्रतिक्रिया सुनेर खुसी पनि भए । 

‘युवक त्यस्तै २२–२३ वर्षका थिए । वेद, उपनिषद्लगायत सबै पढेका थिए । उनको अनुहारमा एउटा छुट्टै किसिमको चमक थियो, शान्ति थियो । उनलाई हेर्दा लाग्यो, युवक मोक्षको बाटोमा हिँड्न खोजिरहेछन् । उनको प्रश्नले म एकदमै खुसी भएँ,’ अमरले सुनाए ।

‘उपनिषद्मा आत्मा र परमात्मासम्बन्धी ज्ञानको विषयमा विशद् व्याख्या गरिएको छ । आत्मा र परमात्माका सम्बन्धमा मलाई केही थाहा छैन । म त यही जीवन र शरीरबारे अलिअलि जान्दछु । त्यसैले यसैबारे लेख्छु । उपनिषद्का अनुसार आत्मा तत्वको न जन्म छ, न मृत्यु । यो त आकाश जस्तो छ । न यो मैलो हुन्छ न आगोले जल्छ । आकाश, आत्मा र परमात्मा मेरो ज्ञानभन्दा धेरै परका कुरा हुन् । यस विषयमा सन्तमहात्माहरूले लेख्नुहोला ।’ उनले भने ।

गत वैशाखमा ‘पन्ध्रौं चुली’का लेखक खिमलाल गौतमसँग सगरमाथा आधारशिविर गएका थिएँ । आधार शिविरमा उभिएर चारैतिर हेर्दा उनलाई लाग्यो, संसारमा हिमालबाहेक केही छैन । यो पृथ्वी ‘आइस प्लानेट’ हो । तर हिमालहरू त संसारमा एकदमै थोरै छन् । हाम्रो दृष्टिमा कति धेरै सीमा छ । 

उनले युवकलाई हिमालको उदाहरण दिँदै भने, ‘मेरो विचारमा ती हिमाल वेद र उपनिषद् हुन् । ती हिमाल बुद्ध हुन्, जो करोडौं वर्षदेखि ध्यान गरिरहेछन् । त्यहाँ मानिसहरू गएर हल्ला गरेको, बसेको, आरोहण गरेको मन पर्दैन । तर तिनै वेद र उपनिषद् जस्ता हिमालहरूले प्रकाशका सहायताले आफूलाई नै पगाल्दै हिमनदी बनाएर अविरल पठाइरहेका छन् । हिमालमा त एउटा झार पनि सृष्टि हुँदैन । एउटा कीरा पनि सृष्टि हुँदैन । तर त्यही हिमालले संसारमा सृष्टि हुनुपर्छ भनेर आफूलाई पगाल्दै नदी बनाएर पठाएका छन् ।

नदीहरू बगेको ठाउँमा हरियाली छ । अनेक जीवहरू छन् । मानिसहरू छन् । सृष्टि छ । तपाईं पनि तपाईंको मातापिताको यौनको परिणाम हो । त्यसैले यौनलाई घृणा गर्नुहुँदैन । यो संसारमा हिमालहरू जस्ता संन्यासी भूगोलहरू पनि छन् र पहाड र मैदान जस्ता सांसारिक भूगोलहरू पनि छन् । एउटाले मात्र संसार पूरा हुँदैन ।’

ती जिज्ञासु विद्यार्थी चित्त बुझेझैं शान्त देखिए । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x