सप्ताहन्त

प्राज्ञिक भएर पनि असल र सरल होस् न, जस्तै : कृष्णप्रकाश

नेत्र एटम |
चैत २८, २०७७ शनिबार ७:३५ बजे

सन् १९३८ नोभेम्बर ७ मा काठमाडौँको थानकोट नजिकै शोणितपुरमा जन्मेर कोभिड-१९ का कारण सन् २०२१ मार्च ३० को दिन रुसको मास्कोमा भौतिक अवसान भएपछि उहाँ स्मृतिमा सीमित हुनुभएको छ । तीन महिनाअघि फोनमा लगातार २ घन्टा वार्ता भएको थियो, काठमाडौँ-मास्को दुई राजधानीसम्बद्ध साहित्यिक सिर्जनको कृति प्रकाशन गर्ने उत्साह र त्यसका निम्ति लेख्‍न मलाई प्रेरित गरिरहनुभएको थियो । तन्‍नेरी प्रकाशनबाट आउँदै गरेको उहाँको ‘आधुनिक नेपाली साहित्य’ शीर्षकको गहन अनुसन्धानात्मक कृतिको प्रकाशकीय लेखेको दुई महिना मात्र भएको थियो । कोभिड-१९ ले थला पारेर मास्कोको अस्पतालमा भर्ना भएको थाहा भएको थियो कवि नाज सिंहबाट । स्वास्थ्यलाभको कामनाका बिच अचानक आयो फेसबुकमा एउटा दुखद खबर मार्च ३० का दिन बिहानै, कृष्णप्रकाश श्रेष्ठ भौतिक रुपमा सहनुभएन । यति सक्रिय र प्रेरक व्यक्तित्वलाई गुमाउनुको पीडाको सीमा नै रहेन । निराशाको त्यसै क्षणमा विमलजीको सन्देशले फेरि बाध्यताले ‘सीमान्त आकाश’को समयमा फर्कनुपर्ने भयो । 
०००

फ्ल्यासब्याकमा १६ वर्षअघि ।
कृष्णप्रकाश श्रेष्ठसित छु म । छेउमा टी.भी स्ट्यान्ड छ, फोन त्यसमाथि सुतेको देखिन्छ भने विपरीत दिशामा ठड्याएर राखिएको लामो र्‍याकमा रुसी भाषाका वर्णहरू स्पष्ट चिनिने टाल्सटोय, गोर्की र पुस्किनका किताबका ठूला ठेलीहरू चिल्ला गातामा टल्किरहेका छन् । म नेपाली समालोचक, अनुवादक, अनुसन्धाता र पत्रकारका रूपमा आफ्नो छवि उच्च बनाइसकेको व्यक्तित्वका अगाडि बसेर आफ्नो डायरी पल्टाउने धृष्टता गर्दै छु । प्रश्न कहाँबाट सुरु गरूँ भन्दाभन्दै उनी नै अगाडि पर्छन् र मैले भनेका कुराहरू डायरीमा टिप्न थाल्छन् । म पुगेको त्यो घर त उनकी छोरी जान्‍ना र ज्वाइँ श्याम उपाध्यायको पो रहेछ । श्री उपाध्याय नेपालका अर्थशास्त्री, रुसमा पढेका, आइएन्जीओका कन्सल्ट्यान्ट रहेछन् । उनीसँग पनि चिनाजान हुन्छ र सुरु गर्छु म कामका कुरा- 


‘तपाईंलाई लेखनतिर नै आकर्षित हुने कारणचाहिँ के परेको हो ?’
‘त्यो त पढ्दैखेरिको प्रभाव हो । किताब पढ्दा, ‘बालक बबुरो... ’ जस्ता कविताहरू पढिन्थ्यो । बुबा पनि पढ्ने र कहिलेकाहीँ लेख्‍ने समेत गर्नुहुन्थ्यो । लेखनको आकर्षण त वंशानुगत नै पनि होला ।’
हाँसो गुन्जिन्छ । म उनको बाल्यकालमा अल्मलिने स्थितिमा छैनँ, सिधै रुसतिरै जान चाहन्छु । मास्को रेडियोको अनुभव सुन्‍न चाहन्छु र तुरुन्तै सोधि पनि हाल्छु-

‘रेडियो मास्को’मा संलग्‍न भएको कति भयो ?
‘ए ! त्यो त निकै भइसक्यो । सन् १९६२ को अक्टोबर महिनामा रेडियो मास्कोको नेपाली सेवा सुरु भएको दिन नै ‘यो रेडियो मास्को हो’ भन्‍ने व्यक्ति हुँ म । त्यस बेलादेखि अटुट रूपमा अहिलेसम्म पनि म त्यसैमा कार्यरत छु तर गएको पाँच वर्षदेखि नेपाली सेवा बन्द छ । म हिन्दीतिर काम गर्छु ।’
रुस ! एउटा ‘नाम’ थियो कुनै जमानामा- ‘सोभियत सङ्घ’ ! र अहिले त्यो शक्तिको पहिचान र प्रभाव निकै फिकाजस्तो लाग्छ मलाई । उनकै अनुभूति कस्तो होला भन्‍ने कुतूहल जाग्छ मनमा ।

‘जाँदाको बेलाको र अहिलेको रुसमा के फरक पाउनुभएको छ ?’
‘पूरै फरक ! समाजवादबाट पुँजीवादतर्फको सङ्क्रमण भएको अवस्था हो अहिलेको । जीवनपद्धति, विचारधारा, बजार सबै भिन्‍न । साहित्यको मूल्याङ्कनसमेत पहिले विचारका आधारमा गरिन्थ्यो भने अहिले चाहिँ भिन्‍न सौन्दर्यशास्त्रीय आधारमा गरिन्छ ।’

मान्छे असल पनि होस् र क्षमतावान् पनि, मान्छे सरल पनि होस् र प्राज्ञिक पनि, मान्छे आदर्शको प्रणेता पनि होस् र यथार्थवादी कर्मशील पनि । खोजीको बर्सौंपछि जीवन्त निवार्तामा पाएको एउटा यस्तै मान्छे हो कृष्णप्रकाश श्रेष्ठ ।

‘त्यत्रो परिवर्तनले त साहित्यको प्रवृत्ति पनि फरक बनाएको होला, मूलधार कतातिर हिँडेको छ नि ?’
‘त्यो त त्यसै भन्‍न गाह्रो छ ।’ उनमा निकै अलमल देखिन्छ । हाँस्न खोजेजस्तो, सोच्‍न खोजेजस्तो,  सतर्कता अपनाएजस्तो म अझै स्पष्ट गर्छु-
‘म पनि क्याम्पसमा रुसी साहित्यका बारेमा पढाउँछु तर अङ्ग्रेजीका किताबमा त ‘रुसको अहिलेको साहित्यको मूलभूत विशेषता देखिइसकेको छैन’ भनेर लेखिएको पाइन्छ । तपाईं रुसमै बसी भोक्ता र द्रष्टा दुबै अनुभव सँगालेको मान्छे हुनाले यस विषयमा बढी जोड गरेको मैले !’
‘हुनत साहित्यको धारा जहिले पनि अविरल छ तर पनि मूल धार यथार्थवादी नै हो । यथार्थवादलाई उछिन्‍ने त्यस्तो कुनै धारा विश्वसाहित्यमै पनि आएजस्तो लाग्दैन मलाई त ।’ वाक्यसँगै दृढ आत्मविश्वास बोल्छ उनको अनुहारले पनि । 

‘रुसले लेखक बनाएको हो त तपाईंलाई ?’
‘यो त एउटा संयोग नै हुनुपर्छ- मलाई रुसले लेखक बनाएको हो । पटनाबाट बी.ए. गरेपछि मेरा जीवनका तीनओटा बाटा थिए- लोकसेवा दिएर जागिर खानु, बुबाको पेसा छान्‍नु, काठमाडौँमै पढ्नु वा विदेश पढ्न जानु । मैले लोकसेवा र छात्रवृत्तिका लागि निवेदन एकैपल्ट दिएँ । छात्रवृत्तिका लागि रुसलाई छान्‍नुको कारणचाहिँ त्यस बेला अन्तरिक्षका क्षेत्रमा रुसको स्थान पहिलो थियो, अमेरिका त धेरै पछि । त्यसैबाट प्रभावित भएको म छानिएर रुस गएपछि भने पूरै भाषा र साहित्यकै क्षेत्रमा एकोहोरिएँ र साहित्यकार बनिएँ । फेरि मेरो पेसा पनि रेडियो पत्रकारिता नै हुन पुग्यो, भाषासितै सम्बन्धित ।’

‘नेवारी साहित्यतिर कसरी तानिनुभयो नि ?’ प्रसङ्ग फेर्न खोज्छु म । खुब हाँस्छन् उनी र त्यसको प्रसङ्ग सुनाउन थाल्छन्- ‘पढ्दै गर्दा त नेवारी नै आउँदैनथ्यो । मेरा गुरु बदरीनाथ भट्टराई त्यस बेला मलाई बाहुन ठान्‍नुहुँदो रहेछ । दुर्गालाल श्रेष्ठ मेरो क्लासमेट थियो । मैले ‘श्रेष्ठ’ थर भनेको सुनेपछि उसले एक दिन नेवारीमा निकै रिसाएर केके कुरा भन्यो । पछि बुझ्दा त ‘नेवार भएर पनि नेपालीमा कुरा गर्छस्’ भनेर मलाई हप्काएको रहेछ । त्यसै घटनाले दुर्गालालसँग घनिष्ट सम्बन्ध भयो र उसकै प्रेरणा एवम् गुरुत्व ग्रहण गरेर नेवारी सिकेँ अनि केही पढ्न र लेख्‍न पनि थालेँ ।’

‘नेवारी साहित्यमा यहाँको खास योगदान के भएजस्तो लाग्छ ?’
‘जङ्गबहादुरको पालामा एउटा मिनायब भन्‍ने रुसको संस्कृत र पाली भाषाको विद्वान् नेपाल आएको रहेछ । ऊ नेपाल आउने पहिलो रुसी नागरिक हो । उसले त्यतिबेला नेवारी भाषा र साहित्यको अध्ययन गरेर शब्दकोश पनि बनाएछ । उसले त्यसो गर्नुको कारण नेपाली त उसलाई हिन्दीजस्तै हुनाले सजिलो लागेछ तर नेवारीचाहिँ पूरै भिन्‍न भएकाले त्यतातिर बढी आकर्षित भएको रहेछ । मैले पनि रुस गएपछि पहिले त नेपाली साहित्यमै थेसिस लेखी रुसीमा एउटा किताब तयार पार्ने योजना बनाएको थिएँ तर त्यसैबेला एकजना रुसी विदुषी ल्युद्मिलाले नेपाली साहित्यका बारेमा किताब प्रकाशित गरेपछि मचाहिँ नेवारीतिर सरेँ । त्यसैले गर्दा रसिया इन्साइक्लोपिडियामा नेवारी साहित्यकारको बारेमा मेरै किताबबाट सन्दर्भ लिएर राम्रो जानकारी दिइएको छ । यसले नेवारी साहित्यलाई पनि व्यापकता दिएको मैले ठानेको छु । हामीले एउटै कुरा दोहोर्‍याएर आफ्नो देशको साहित्यको दरिद्रता देखाउनुहुँदैन भन्‍ने मलाई लाग्छ ।’

‘नेपाली साहित्यप्रति रुसीहरूको धारणा कस्तो छ नि ?’
‘रुसको संस्कृति नै भनौँ, अरू भाषाका कृति अनुवाद गर्ने र त्यसलाई प्रचारप्रसार गर्ने खालको प्रचलन छ । भारतीय साहित्यमध्ये पहिलो रुसी अनुवाद कालिदासको शाकुन्तलको भएको थियो । नेपालीमा चाहिँ ल्युद्मिला अगानिनाले नै नेपाली साहित्यलाई चिनाउन हरप्रयास गरेकी छन् । रुसका मानिसले ‘नेपालीमा पनि साहित्य छ’ भन्‍ने थाहा पाएको तासकन्दमा देवकोटाको भाषणपछि मात्र रहेछ । त्यस बेला देवकोटाले इन्द्रेनी पत्रिकाको अङ्ग्रेजी संस्करण लैजानुभएको रहेछ र पछि निकोलाई कोरोलोभ भन्‍ने नेपाली भाषाका अध्येताले देवकोटा र माधव घिमिरेका कविताहरू रुसीमा अनुवाद गरेका रहेछन् ।

त्यो अनुवाद पनि कस्तो भने उनले भाषाको अनुवाद गरेछन् र त्यसलाई अर्का रुसी कविले कविता बनाइदिएछन् । अर्थात् त्यसरी कविताको सही अनुवाद सम्भव भएछ । त्यसैले नेपाली साहित्यको छवि रुसमा उज्ज्वल ठानिन्छ । अहिले त नेपाली साहित्यलाई चिनाउने काममा अलिअलि म पनि सक्रिय नै छु ।... ’

‘... रुसमा नेपालको छवि भन्‍ने किताबले राम्रो काम गरेको छ ।’ उनी रुसी भाषामा समेत लेखिएको उक्त किताब मेरा अघिल्तिर राखिदिन्छन् । नबुझे पनि भव्य र चम्किलो आकारप्रकार हेरेर म त्यसलाई टेबुलमा राखिदिन्छु । 

‘रुसी भाषाको गहन अध्ययनपछि रुसी भाषामै चाहिँ कुनै कृति लेख्‍नुभएको छैन ?’
‘ओहो ! मैले रुसी भाषामा किन लेख्‍ने ? नेपालीमै लेख्छु नि ! मैले रुसी भाषामै लेखेँ भने पनि त्यसको खास मूल्य के ? त्यो रुसी साहित्य हुँदैन त ! बरु, नेपालीमा लेखेर रुसीमा अनुवाद गरेँ भने त त्यसले नेपाली साहित्यको महत्त्व पनि बढ्छ र रुसीहरू पनि राम्रो काम भएको ठानेर खुसी हुन्छन् ।’
समग्रमा हेर्दा कृष्णप्रकाश श्रेष्ठको महत्त्वपूर्ण व्यक्तित्व अनुवादकको हो- नेपालीबाट रुसीमा र रुसीबाट नेपालीमा । त्यसैले म अनुवादतिर पनि केन्द्रित हुन्छु । 

‘यहाँले निकै कृतिको अनुवाद गर्नुभएको छ, अनुवादको कठिनाइका बारेमा यहाँको के धारणा छ ?’
‘तपाईंले गलत मूल्याङ्कन गर्नुभो, नेत्रजी !’ खुब हाँस्छन् उनी- ‘मैले धेरै पढेकै छैनँ र गरेको काम पनि अत्यन्त सीमित छ । फेरि सबै पढेर साध्य पनि त छैन ! मेरो अनुवादसम्बन्धी धारणा के छ भने सबै भाषाबाट सबै भाषामा अनुवाद गर्न सकिन्छ, यदि कसैले ‘सकिँदैन’ भन्छ भने त्यो अनुवादकको कमजोरी हो । यसमा देखा पर्ने मुख्य कठिनाइचाहिँ एउटा सांस्कृतिक परिवेशलाई अर्काको परिवेशमा मिल्ने गरी राख्‍नु हो । मैले पुस्किनको जिप्सी काव्यलाई नेपालीमा अनुवाद गर्दा त्यहाँको सांस्कृतिक यथार्थ, पात्रको मानसिकता, जीवनदर्शन सबैलाई नेपाली सन्दर्भमा मिल्ने गरी राख्‍न निकै अप्ठेरो महसुस गरेको थिएँ । अनुवादकले शब्दमा मात्र ध्यान दिनुहुँदैन; सच्चा भावमा खेल्न सक्नुपर्छ । त्यसैले सही अनुवाद मूल भाषाबाट हुनुपर्छ, दोस्रो वा तेस्रो भाषाबाट होइन । तेस्रो भाषाबाट अनुवाद गर्दा त कृतिको मौलिक बास्ना नै उडिसकेको हुन्छ ।’

‘त्यसो भए आफूले गरेकामध्ये कुन कृतिको अनुवादबाट बढी सन्तुष्टि प्राप्त गर्नुभएको छ ?’
‘आफूले पहिलोपटक गरेको अनुवादलाई नै महत्त्व दिन्छु म त, पुस्किनको ‘जिप्सी’ काव्य । पुस्किन भन्‍ने रुसी कवि छन् भन्‍ने कुरा मास्को गएपछि मात्र थाहा पाएको हुँ तर उनका कृति पढेपछि त टाल्सटोय आदिभन्दा पनि पुस्किनबाटै प्रभावित भएँ म, किनभने उनको लेखनमा नेपाली गाउँले परिवेशको झझल्को आउँथ्यो मलाई । त्यो मेरो अनुवाद सफल छ भन्‍ने कुराको चर्चा रुसी समालोचकले जिप्सीका बिसौँ भाषामा भएका अनुवादहरूको अध्ययन गरी विश्लेषण गर्दा गरेका छन् । विशेष गरी रुसी शब्दलाई नेपालीपन दिएर अनुवाद गरेको तथा त्यसको पात्र जेन्फिरालाई नेपाली व्यक्तित्व प्रदान गरेकाले रुसमा त्यसको निकै प्रशंसा भएको छ । म पनि त्यसबाट धेरै सन्तुष्ट छु ।’

‘आफ्नो कामप्रति नेपालीहरूको प्रतिक्रियाचाहिँ कस्तो पाउनुभएको छ नि ?’
‘पहिले रेडियो मास्कोमा नेपाली कार्यक्रम चलाउँदा महिनामा ६०/७० ओटा चिठी पाउँथेँ । नेपालका पहाडी क्षेत्रबाट त्यस्ता प्रशंसाका, जिज्ञासाका चिठी आउँथे । नेपाली सेवा बन्द भएपछि ‘हिन्दी भाषामा कार्यक्रम सुनौँ’ भनी भन्दा त श्रोताहरूले ‘हिन्दीमा सुन्दैनौँ’ भन्‍ने खरो प्रतिक्रिया पठाए । म त श्रोताको नेपालीप्रतिको प्रेम देखेर छक्क परेँ । भाषा भनेको सम्प्रेषणको माध्यम मात्र नभएर ‘आफ्नोपन’ पनि रहेछ । टाढा छु, नेपालसँग सम्पर्क कम छ तर यो ‘जगदम्बाश्री पुरस्कार’ पनि मेरो कामकै प्रतिक्रिया नै हो नि, होइन र ?’ उनी परको कुर्सीमा अड्याइराखेको ‘जगदम्बाश्री’ लेखेको काठको ‘लोगो’तिर देखाउँछन् । म मुसुक्क हाँसेर स्वीकृति जनाउँछु । 

‘टाढा भएको कुरा गर्नुभयो, रुसमा नेपाली किताब पाउन के गाहै्र हुन्छ र ?’ 
‘गाह्रो त कुरै नगर्नुहोस् । एकेडेमीले छापेको मेरो स्थाननामकोश भन्‍ने किताबका चार प्रति पाउन मैले डेढ वर्ष कुर्नुप¥यो । अरू किताबको के गति होला ? पठाउन चाहनेहरूले पनि हुलाकको शुल्क चर्को हुनाले पठाइदिन सक्दैनन् ।’

‘अनि मास्कोमा कतै नेपाली पुस्तकालय स्थापना गर्नुभएको छैन र ?’
‘केको पुस्तकालय ? यसका लागि नेपाली दूतावासलाई भन्दाभन्दा म त थाकिसकेँ । मसँग भएको किताबको सङ्कलन राख्‍ने ठाउँ त छैन, कोठा भाडामा लिएर राखूँ भने महँगो पर्छ । आधिकारिक पुस्तकालय भएदेखि त्यसैलाई किताब समर्पण गर्ने इच्छा छ तर त्यो पूरा भएको छैन । रुसीहरूले नेपालबारे गहिरो रुचि राखे पनि नेपालको यथार्थ जान्‍नै पाउँदैनन् । इन्टरनेटमा आएकोबाट मात्र चित्त बुझाउनुपर्ने हुन्छ । मधुपर्क, कान्तिपुर आदि पत्रिकामा राम्रा कृतिहरूको समीक्षा त देखिन्छ तर तिनलाई पढ्ने अवसरै पाइन्‍न ।’

मेरो हातमा उपन्यास-सिद्धान्त र नेपाली उपन्यास देखेर नेपालीमा विधागत समालोचनाका कृतिहरू प्रकाशन हुन थालेकोमा अत्यन्त खुसी पनि व्यक्त गर्छन्- ‘समालोचनाले साहित्यिक प्रगतिको सङ्केत गर्छ र अझ विशेषतः विधागत रूप विश्लेषण गर्ने तपाईंको जस्तो कृतिले ।’

‘नेपालको संस्थागत एवम् अन्य साहित्यिक गतिविधिलाई कसरी हेर्नुभएको छ ?’
‘यहाँको गतिविधि आंशिक रूपमा नै भए पनि चहलपहलयुक्त छ । वास्तवमा यस्तो साहित्यिक क्रिया-प्रतिक्रियाले पनि लेख्‍न लगाउँदो रहेछ । रुसमा पनि हामीले नेवारी, नेपाली, हिन्दी, अङ्ग्रेजी र रुसी भाषाको इन्टरनेट पत्रिका निकाल्छौँ । विभिन्‍न कार्यक्रमका लागि रचना माग्न आउँछन् र समय नहुँदा पनि लेख्‍न कर लाग्छ । नछापिने भए त किन लेख्‍ने र ? त्यसैले संस्थाहरूले घचघच्याउने काम गर्नुपर्छ । धेरै काम हुनुपर्छ, । व्यक्तिगत प्रकाशनहरूले पनि काम गर्न थाले भने केही कृति त राम्रा निस्कन्छन् नि ! साझा प्रकाशनले पनि लेख्‍ने मानिसलाई झकझक्याउनुपर्‍यो । मेरा त नछापिएका ८/१० ओटा कृतिका पाण्डुलिपि नै छन् । हराउलान् भन्‍ने डर भइसक्यो । रुसीमा छापे पनि हुन्छ, रुस विश्वमा ६ खण्डको एक खण्ड हो, त्यसलाई हामीले खाली छाड्न हुन्‍न । संस्थाहरूले अनुवादको योजना बनाउनुपर्छ । प्रकाशन मुख्य कुरो हो, यहाँ त्यसैको खाँचो छ ।’

रुसी भाषाका बारेमा कुरा हुन्छ हामीबीच । उनी आफूले सम्पादन गरेको रुसी किताब, जसमा नेपालबारे विश्लेषण गरिएको छ, त्यसका बारेको छोटो लेख देखाउँछन् । शीर्षक छ- ‘नेपाल सहस्राब्दीहरूको सँघारमा ।’‘नेपाली साहित्य विश्वसाहित्यकै हाराहारीमा उभिन सक्छ ?’ नेपाली लेखक-समालोचकबीच धेरैजसो भइरहने विवादको कुरा उप्काइदिन्छु म । ‘सङ्ख्यात्मक दृष्टिले हामी धेरै पछि छौँ तर गुणात्मक दृष्टिबाट हेर्दा हामी पनि विश्वसाहित्यको बहावबाट टाढा रहेका छैनौँ तर विश्वमा आफूलाई चिनाउन भने निकै पछि परेका छौँ ।’ 

‘रुसजस्तो देशमा गएर संस्थागत कार्यक्रमको नेतृत्व गर्दा एउटा नेपालीका हैसियतले कस्तो अनुभूत गर्नुहुन्छ ?’
‘म अहिले रुसमा बसेको सबैभन्दा पुरानो नेपाली हुँ । सबै काममा आफू पहिलो- रेडियोमा बोल्ने, पत्रिका निकाल्ने आदिआदिको शृङ्खला नै बन्छ । जाँदाखेरि नै नेपाललाई चिनाउन गएको थिएँ । पढ्न थालेपछि ‘बुद्ध भारतमा जन्मेको’ भनेर किताबमा लेखेको देखेपछि ‘त्यो होइन’ भन्‍नुपर्ने भयो र नेपालको परिचय देखाउनै पर्ने स्थिति आयो । भिक्षु अमृतानन्द रुस गएको बेला उहाँसँग त्यसबारेमा कुरा गरेँ र विद्वत्सभामा उहाँले मञ्चमा गएर रुसको समुन्‍नतिको कुरा गर्दै बुद्ध जन्मेको स्थान नेपालको लुम्बिनी हो भन्‍नुभयो र नेपालको नाम अगाडि आयो । चाहे जति नेपाललाई चिनाउन सकिएको छैन तर रुचि भने पर्याप्त छ ।’ अति सन्तुष्ट अनुहार देखिन्छ उनको । छोरी जान्‍ना आउँछिन् र रुसी भाषामै कुरा गर्छिन् उनीसँग । साहित्यमा गोल्ड मेडल ल्याएर पिएच्.डी. समेत गरेकी जान्‍ना काठमाडौँको रुसी कल्चरल सेन्टरमा पढाउँदिरहिछन् ।
‘छोरी त रुसीजस्ती छिन् नि ?’ म व्यावहारिक कुरा कोट्याउँछु ।

‘श्रीमती नै रुसी भएपछि छोरी त रुसीजस्ती हुने नै भई, हैन र ?’ उनी कुनै धक नमानी कुरा खोल्छन् । ‘रुसमा नेपालको छवि त लेख्‍नुभयो, ‘नेपालमा रुसको छवि’ लेख्‍ने योजना छैन ?’
मेरो सङ्केत नेपालीमा रुसी साहित्यबारे किताब लेख्‍नेतर्फ हुन्छ । 
‘योजना होइन, तयार नै छ । १९९० सम्मको रुसको साहित्यिक इतिहास एवम् त्यसका महत्‍वपूर्ण प्रतिभाका बारेको किताब दराजमा थन्केको छ । तपाईं छाप्ने ग्यारेन्टी गर्नुहुन्छ ? हुन्छ भने म पठाइदिन्छु ।’
म अक्कनबक्क पर्छु । ‘हुन्छ’ भन्‍ने आँट पनि आउँदैन र ‘हुन्‍न’ भन्‍न पनि सक्दिनँ । एकछिन सोच्छु र दह्रिलो बन्छु- ‘ल, मेरो ठेगानामा पठाइदिनुस्, सकेँ भने साझा वा अन्य प्रकाशनलाई अनुरोध गरुँला, नभए तन्‍नेरीमा भए पनि छापुँला ।’ उनी एकपटक पुनर्लेखन गरेर पाण्डुलिपि पठाइदिन सहमत हुन्छन् र मचाहिँ त्यत्रो दायित्वबोधले नुहिन्छु । 

‘के हो यो समालोचना भनेको ? तपाईं त समालोचनाको बारेमा कृति नै तयार गरेको मान्छे ! यो सृजनात्मक साहित्यमै पर्छ ?’
‘समालोचना पनि सृजना नै हो र यसले साहित्यमा महŒवपूर्ण स्थान राख्छ । यस युगमा झन् यसको महत्‍व छ । देवकोटाको भनाइलाई पूर्णतः स्वीकार गर्छु म ।’ उनले ठीक भनेका रहेछन् र कृष्णप्रकाश श्रेष्ठले आफ्नो किताबको प्राक्कथनमा देवकोटाका वाक्य यसरी उद्धृत गरेका रहेछन्- ‘सिर्जनाभन्दा पनि एक दृष्टिले त म समालोचनालाई नै अझ ठूलो देख्छु ।’

कृष्णप्रकाश श्रेष्ठ बालसाहित्यका असल अध्येता र कुशल अनुवादक पनि हुन् भन्‍ने जानकारी पाएको हुँदा म त्यसतर्फ पनि केही पहल गर्न खोज्छु- ‘नेपालमा बालसाहित्यको स्थिति कस्तो पाउनुभयो, यसको खास उपादेयता के हो ?’
‘नेपालमा बालसाहित्यले अहिले निकै फड्को मारेको रहेछ । पहिले थोरै किताब थिए, अहिले त संस्था, व्यक्तित्व र कृतिहरू निकै बढेका रहेछन् । यसबारेमा पनि अध्ययन-लेखन भइरहेको रहेछ । बालबालिकालाई शिक्षित बनाउनु, समाजलाई सभ्यतामा चढाउनु यसको उपादेयता हो र यसबाट नै त्यो देश उज्ज्वल बन्छ । उनीहरूलाई उपदेश-अर्ती दिने खालका रचनाको आवश्यकता छैन, ज्ञानका हाँगा, लोकसाहित्य, लोकखेलकुद आदिका बारेमा लेखिनुपर्छ । बालमनोविज्ञानलाई ख्याल गर्नुपर्छ तर बुझ्दैनन् भनेर नलेख्‍नुचाहिँ राम्रो होइन । मेरी नातिनी काठमाडौँमै चार कक्षामा पढ्छे तर पुरातत्‍वमा अत्यन्त रुचि राख्छे । रुस गएको बेला ऊ सङ्ग्रहालयका भित्तामा रहेका चित्र हेर्न र त्यससम्बन्धी चर्चा सुन्‍न आकर्षित हुन्थी । त्यसैले विषयको बन्देज नलगाई जति बढी दिन सक्यो, बालबालिकाहरू त्यति बढी लिन सक्ने हुन्छन् । नेपालीमा वैज्ञानिक चेतना दिनेभन्दा नीतिशिक्षा दिने बालसाहित्य बढी छ, त्यसलाई भने सुधार्नै पर्छ ।’

सही अनुवाद मूल भाषाबाट हुनुपर्छ, दोस्रो वा तेस्रो भाषाबाट होइन । तेस्रो भाषाबाट अनुवाद गर्दा त कृतिको मौलिक बास्‍ना नै उडिसकेको हुन्छ ।

उनकी नातिनी आठबर्से एलिजा उपाध्याय, आफ्नो नाम आएको सुनेर भर्‍याङ उक्लने ठाउँमा उभिएर हामीलाई हेरिरहेकी छिन् । उनी हाँस्तै नातिनीतिर हेर्छन्- हजुरबुवालाई उनले आफ्नो नाम वार्तामा नभनिदिन अनुरोध गरेकी रहिछिन् तर मेरो दुईपल्टको अनुरोधमा त्यो फुस्किहालेछ । म मुस्कुराउँछु उनलाई हेरेर अनि एलिजा लजाएर माथितिर भाग्छिन् । 

एउटा कर्मनिष्ठ मान्छेले समयलाई कसरी हेर्छ, म प्रश्न गर्छु- ‘समयअनुसार काम गर्ने कि आफ्नो कामले समयलाई प्रभाव पार्ने ?’
‘त्यसमा दुबैतर्फ जाने द्वन्द्वात्मक नियम लाग्छ तर मचाहिँ कामले नै प्रभाव पारेर समयलाई अगाडि बढाउन चाहन्छु ।’
दाहिनेतिरको भित्तामा झुन्डेको घडी हेर्छु, साढे नौ बज्न थालिसकेछ । दुई घन्टा समय लिएको थिएँ । बित्न लागेछ । जिन प्यान्ट लगाएकी जान्‍ना भित्रबाहिर गर्दै छिन्, ‘ब्रेकफास्ट’गर्ने बेला पो हुन थाल्यो कि ! आत्तिँदै म एकैपटक प्रश्नको अन्तिम स्तम्भ ‘बाँकी कुरा’मा पुग्छु, सोध्ने कुराहरू अनगिन्ती हुँदाहुँदै पनि । 

‘नेपालमा आएर लेखकहरूसँग सम्पर्क गर्न पाइयो, अब व्यक्तित्व र कृतित्व पनि जान्‍न पाइयोस् भन्‍ने चाहना छ । रुसमा पनि तपाईंहरूको प्रतिनिधि छ भन्‍ने ठान्‍नुभयो भने मलाई पुग्छ ।’ उनी आँखामा गम्भीरता भरेर आत्मीयता साट्छन् । बारम्बार मास्को आउने निमन्त्रणा दिइरहन्छन् । खोइ, कसरी पुगिएला र मास्को ? अनि खोज्‍न हिँडिएला र कृष्णप्रकाश श्रेष्ठको ‘लेनिन्स्की प्रोस्पेक्ट’ को ५०३ औँ फ्ल्याट । तैपनि म फोनसहितको उनको पूरा ठेगाना डायरीको पानामा सार्दै जनमैत्री क्याम्पसबाट दक्षिणतिरको ओरालो सिँढी हतारहतार ओर्लन थाल्छु, रुसबाट हराइसकेका ‘पावेल’ र ‘आमा’ यहीँका गल्लीमा कतै भेटिन्छन् कि झैँ गरेर... !

मान्छे असल पनि होस् र क्षमतावान् पनि, मान्छे सरल पनि होस् र प्राज्ञिक पनि, मान्छे आदर्शको प्रणेता पनि होस् र यथार्थवादी कर्मशील पनि । खोजीको बर्सौंपछि जीवन्त निवार्तामा पाएको एउटा यस्तै मान्छे हो कृष्णप्रकाश श्रेष्ठ । यस्ता विशिष्ट व्यक्तित्वप्रति अतीतका यिनै नोस्टाल्जिक शब्दपुष्प चढाएर हार्दिक श्रद्धाञ्जली !

(समालोचक तथा कवि डा. नेत्र एटमको निर्वार्ताहरूको संग्रह ‘सीमान्त आकाश : स्रष्टासितको अन्तर्यात्रा’बाट । ‘रुसी परिवेशमा नेपाली प्रतिबिम्ब’ शीर्षकमा प्रकाशित निर्वार्ता यहाँ सम्पादकबाट शीर्षक परिमार्जन गरिएको छ भने तथा निवार्ताकारबाट अद्यावधिक गरिएको छ । एटमको हालै ‘प्रिय मौनता’ कवितासंग्रह प्रकाशित छ ।)


Author

थप समाचार
x