भागवत् गीता आध्यात्म कि विज्ञान ?
आधुनिक विज्ञानको जन्म नहुँदासम्म धर्म नै विज्ञान थियो र धर्मग्रन्थहरू नै विज्ञानका पुस्तकहरु । त्यस्तै ध्यान, चिन्तन र मनन अनुसन्धान थियो भने पुरै समाज प्रयोगशाला । त्यसैमा आधारित भएर अहिले प्रचलित धर्महरूका धर्मग्रन्थहरू लेखिएका छन् ।
ती धर्मग्रन्थहरू मुलत: कसरी सुखसँग मानव जीवन जिउने, समाजमा कसरी शान्ति र सुशाशन स्थापना गर्ने उद्देश्यले लेखिएका हुन् । तर वेद पुराण हुन् या बाइबल अथवा कुरान, सबै ग्रन्थहरूमा आध्यात्मका साथै प्रसस्त वैज्ञानिक पक्षहरू पनि भेटिन्छन् । हिन्दु धर्मग्रन्थहरूलाई त आधुनिक वैज्ञानिकहरूले समेत निकै वैज्ञानिक ग्रन्थ भएको स्वीकार पनि गरिसकेका छन् । त्यसैले हिन्दु धर्मग्रन्थहरूको अध्ययन प्रति पश्चिमा विद्वानहरूको चासो बढ्दो छ ।
वेद, पुराणहरू भन्दा पनि पूर्वीय धर्मग्रन्थहरू मध्येमा सबै भन्दा बढी चर्चा पाएको ग्रन्थ सम्भवत: श्रीमद्भागवद गीता नै होला । हिन्दुहरू बाहेक अन्य धर्ममा विश्वाश गर्ने या कुनै पनि धर्ममा विश्वाश नगर्ने पाठकहरूले यो ग्रन्थलाई धर्मग्रन्थ भन्दा पनि जीवन जिउन सिकाउने शाश्त्रको रुपमा लिन्छन् । यसमा मानिसको जीवनका आउन सक्ने यावत् समस्याहरू र त्यसलाई कसरी आफैले निराकरण गर्ने तरिकाहरूको बारेमा वर्णन गरिएको छ ।
संसारको सबभन्दा ठूलो महाकाव्य महाभारतको भीष्मपर्वमा कौरव र पाण्डवहरू बिच युद्ध शुरु हुनु भन्दा पहिले पाण्डव पक्षका योद्धा अर्जुनले विपक्षी सेनामा आफ्ना भाइ भारदार र गुरुहरू देखेर विक्षिप्त भएर युद्ध गर्नबाट विमुख हुन खोज्दा उनका सारथी बनेका श्रीकृष्णले अर्जुनलाई जीवनको रहस्य, उदेश्य र यसको महत्वको बारेमा सबै कुरा छर्लङ्ग हुनेगरी बताएर अर्जुनलाई युद्धको लागि तयार गर्दाको विषय नै गीतामा समावेश गरिएको मुख्य विषय हो ।
अनुष्टुप छन्दमा लेखिएको यो ग्रन्थमा १८ अध्याय र ७०० श्लोकहरू मात्र छन् तर त्यति छोटो ग्रन्थमा श्रीकृष्णले कर्म, भक्ति र ज्ञानको माध्यमबाट जीवन कसरी सरल बनाउने र अन्त्यमा कसरी मोक्ष प्राप्त गर्नेबारेमा सरलताका साथ वर्णन गरेर मानव जीवनका हरेक आयामहरूलाई छोएका छन् । श्रीकृष्णले जीवनको रहस्यबारेमा बुझाएपछि अर्जुन पुन: युद्धका निम्ति तयार हुन्छन् । यति नै हो गीताको विषयवस्तु । तर त्यही एउटा घटनालाई यसका रचयिता व्यासले सम्पूर्ण मानव जीवनसँग जोडेर वर्णन गरेका छन् । गीताको सबभन्दा सुन्दर र महत्वपूर्ण पक्ष पनि त्यही नै हो ।
एउटा धार्मिक ग्रन्थ हुनुको नाताले गीतामा मूलत: आध्यात्म र इश्वरको बारेमा वर्णन गरिएको छ । तर गीताको आध्यात्मिक पक्ष जति बलियो छ, दार्शनिक र व्यावहारिक पक्ष पनि त्यत्तिकै सबल छ । त्यसैले गीताका आध्यात्मिक, दार्शनिक र व्यावहारिक पक्षहरूमा पूर्वमा मात्र नभएर पश्चिममा पनि धेरै सोध, खोज र अध्ययन अनुसन्धानहरू भएका छन् । प्रसिद्ध वैज्ञानिक तथा परमाणु बमका पिता भनेर चिनिने रोबर्ट ओपेनहाइमर देखि दार्शनिकहरू- थोरो, इमर्सन अनि धेरै लेखक, कलाकारहरू र राजनितिज्ञ सहित गीताबाट प्रभावित हुने विद्वानहरूको सूची लामै छ ।
उनीहरूले गीताको अध्ययन मात्र गरेका छैनन् यसबाट प्रभावित भएर त्यसलाई आफ्नो जीवनमा उतार्ने प्रयास पनि गरेका छन् । तर गीताको सन्देश यसका आध्यात्मिक, दार्शनिक र व्यावहारिक पक्षहरूमा मात्र सिमित हुँदैन । गीताले विज्ञानका अनेकौं पक्षहरू पनि मिहिन रुपमा समेटेको छ । मेरील्याण्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट डब्ल्यु न्युकम्बके सहित केही विद्वानहरूले गीताको वैज्ञानिक पक्षको बारेमा केही अध्ययन गरे पनि गीताका वैज्ञानिक पक्षहरूमा त्यति धेरै अध्ययन र अनुसन्धान नभएकोले त्यो पक्ष अझैसम्म पनि ओझेलमा परेको छ । अहिलेसम्म भएका केही अध्ययन र अनुसन्धानहरूलाई आधार मानेर यहाँ गीताका केही वैज्ञानिक पक्षहरूको बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।
उत्पत्ति र अन्त्यको चक्रिय सिद्धान्त
श्रीमद् भगवद्गीता अध्याय २ को श्लोक २७ को प्रथम पङ्क्तिमा श्रीकृष्णले अर्जुनलाई जन्म र मृत्युको बारेमा सम्झाउँदै भनेका छन्- जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च... । अर्थात् जसले जन्म लिन्छ उसको मृत्यु निश्चित छ र जो मर्छ उसको जन्म पनि निश्चित छ । हुन त आधुनिक विज्ञानले पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरेको छैन किनभने त्यो अँझै प्रमाणित हुन सकेको छैन तर हामीले हाम्रो वरपरका कृयाकलापहरू नियाल्यौं भने देख्न सक्छौं कि प्रकृतिका सबैजसो कृयाकलापहरू चक्रीय छन्- उत्पन्न हुन्छन्, समाप्त हुन्छन् र पुन: त्यही या अर्को रुपमा उत्पन्न हुन्छन् र फेरि समाप्त हुन्छन् र निरन्तर यही प्रकृया चलिरहन्छ ।
प्राणी या वनस्पतिको जीवन चक्र होस् अथवा हामी सबैले देखेको सामान्य जल चक्र नै किन नहोस् प्रकृतिमा हरेक कुरा चक्रीय छ । त्यति मात्र हैन स्वयं ब्रम्हाण्डको उत्पत्ति र अन्त्य पनि चक्रीय छ । यो पनि कुनै दिन उत्पत्ति भएको थियो र एक दिन नष्ट हुनेछ भनेर विज्ञानले स्वीकारिसकेको छ । त्यही कुरालाई गीतामा पनि मानिसको जन्म र मृत्युसँग जोडेर वर्णन गरिएको छ ।
परिवर्तन र अस्थायित्वको सिद्धान्त
संसार परिवर्तनशील छ । भनिन्छ संसारमा एउटा मात्र कुरा अपरिवर्तनशील छ र त्यो हो परिवर्तन । त्यसैले संसारमा कुनै कुरा पनि स्थायी हुँदैन र यो नियमित प्रकृया हो भन्ने कुरा विज्ञानले पनि प्रमाणित गरिसकेको कुरा हो । हाम्रै शरीरको कुरा गर्दा यसभित्र अदृष्य रुपमा हरेक पल केयौं कोषिकाहरू नष्ट भैरहेका हुन्छन् भने कैयौं नयाँ कोषिकाहरू निरन्तर निर्माण भैरहेका हुन्छन् ।
एक सेकेन्ड अगाडिको हाम्रो शरीर एक सेकेन्ड पछाडिको हाम्रो शरीर भन्दा भिन्न हुन्छ । त्यही कुरा ब्रम्हाणका हरेक जीवित र निर्जीव वस्तु सबैमा लागु हुन्छ । त्यसैलाई प्रतिबिम्बित गर्दै गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन्- मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदु:खदा:, आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत (अध्याय २ श्लोक १४) । अर्थात, हे कुन्तीपुत्र, जाडो र गर्मी जस्तै सुख दु:ख, प्रारम्भ र अन्त्य हुन्छ; यो अनित्य अर्थात् अस्थायी छ, त्यसैले तिमीले त्यसलाई सहन गर्न सक्नुपर्छ । यसरी हेर्दा विज्ञानले स्वीकारेको परिवर्तन र गीतामा भनेको अस्थीत्वको कुरा हुबहु मिल्न जान्छ ।
ऊर्जा संरक्षणको सिद्धान्त
विज्ञानमा ऊर्जा संरक्षणको सिद्धान्त (Law of conservation of Energy) निकै महत्वपूर्ण सिद्धान्त हो । यो सिद्धान्त अनुसार ऊर्जा न त बनाउन सकिन्छ न त यो नष्ट नै हुन्छ । यो खालि एक रुपबाट अर्को रुपमा परिणत मात्र हुन सक्छ । यो ब्रम्हाण्ड उत्पत्ति हुँदा जति ऊर्जा थियो अहिले पनि त्यति नै छ तर यो कहिले कुन रुपमा हुन्छ भने कहिले कुन रुपमा ।
शक्तिको बारेमा अर्को कुरा- सुक्ष्म विज्ञानमा रुची राख्नेहरूलाई थाहा होला, विज्ञानले के पनि प्रमाणित गरेको छ भने, संसारमा भएका हरेक दृष्य र अदृष्य वस्तुहरू वास्तवमा शक्तिका कम्पनहरू मात्र हुन् । अति भन्दा अति सुक्ष्म तहमा गएर हेर्दा कुनै कुरा पनि आकारमा हुँदैन र सबै कुरा शक्तिका तरंगहरूको कम्पन मात्र हो ।
ऊर्जा बारेको त्यही सिद्धान्त गीतामा उल्लेखित छ भन्ने कुरा यसको अध्ययन गर्ने सबैलाई सोच्न कर लाग्छ । गीतामा मात्र हैन हिन्दु धर्मग्रन्थहरूमा आत्माको वर्णन गरेको पाइन्छ । विज्ञानले शक्तिको वर्णन गरे जस्तै कतै गीतामा वर्णन गरिएको आत्मा एउटै कुरा त हैन? त्यसको लागि गीताका केही श्लोकहरू हेरौं-
गीताको अध्याय २ को श्लोक १९ देखि शुरु भएर त्यही अध्यायको श्लोक ३० सम्म श्रीकृष्णले आत्माको बारेमा वर्णन गरेका छन् । श्लोक १९ मा श्रीकृष्ण भन्छन्- य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम्, उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते । अर्थात् जसले आत्मालाई मर्ने या मार्नेको रुपमा सम्झन्छ उसलाई थाहा छैन कि आत्मा न आफै मर्छ न यसलाई मार्न सकिन्छ ।
त्यस्तै २३ श्लोकमा उनी भन्छन्- नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक:, न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत: । अर्थात् आत्मालाई न कुनै शस्त्रले काट्न सक्छ, न अग्निले जलाउन सक्छ, न जलले भिजाउन सक्छ, न वायुले सुकाउन सक्छ । त्यसैले यो अददृष्य, निराकार र सर्वव्यापी पनि छ ।
आत्माको बारेमा लेखिएको अर्को श्लोक, श्लोक ३० को पहिलो पङ्क्तिमा श्रीकृष्ण भन्छन्- देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ... । हे अर्जुन ! यो आत्मा सबैको शरीरमा सधैं अवेध्य छ । त्यसैले आत्मा कहिले एक शरिरमा पस्छ कहिले अर्कोमा ।
माथिका श्लोक हेर्दा थाहा हुन्छ कि विज्ञानले वर्णन गरेको उर्जा र गीतामा वर्णन गरिएको आत्माको बारेमा निकै कुराहरू हुबहु मिल्न जान्छन् । त्यसैले गीतामा शक्तिलाई नै आत्माको रुपमा भनिएको त हैन भनेर हामीलाई सोच्न करै लाग्छ ।
माथि उल्लेखित सिद्धान्तहरू त केही उदाहरणहरू मात्र हुन् । त्यो बाहेक न्युटनको गतिका नियमहरू पनि मिहिन रुपमा गीता अध्ययन गरेमा त्यहाँ भेट्न सकिन्छ । न्युटनको गतिका नियमहरू मध्येको तेश्रो नियम अनुसार हरेक क्रियामा बराबर र विपरीत प्रतिक्रिया हुन्छ भनिन्छ । त्यही कुरालाई श्रीकृष्णले गीतामा अझ विस्तृत रुपमा अर्जुनलाई बताएका छन्- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन...(श्रीमद् भागवद् गीता अध्याय, २ श्लोक ४७ को प्रथम पङ्क्ति) । अर्थात् हरेक कार्यको प्रतिफल प्राप्त हुन्छ भनेर । त्यसलाई वैज्ञानिक भाषामा बुझ्दा, हरेक कृयाको प्रतिकृया हुन्छ भनेर बुझ्न सकिन्छ ।
तर यसको मतलब गीता भनेको विज्ञान नै हो भन्न खोजिएको भने हैन । सबैजसो धर्म ग्रन्थहरू उपमा दिएर लेखिएका हुन्छन्, त्यसको अर्थ आफ्नो स्वार्थ र इच्छा अनुसार विभिन्न रुपमा लगाउन सकिन्छ- कुनै ठ्याक्कै मिल्छ भने कुनै चाहिँ उपमाको अर्थ लगाएर बुझ्नुपर्ने हुन्छ । गीताको सन्दर्भमा धेरै कुराहरू उपमा दिएर वर्णन गरिएका छन् । त्यसको कस्तो अर्थ लगाउने भन्ने कुरा पाठकमा भर पर्ने कुरा हो ।
त्यसै पनि हरेक मानिसका सोचाइ र बुझाइहरू फरक फरक हुन्छन्, एउटै घटना या व्याख्यालाई मानिसहरूले आ-आफ्नो दृष्टिकोणबाट बुझ्छन् र त्यही अनुसार आफ्नो मत बनाउँछन् । तर हामीले सही तरिकाले बुझ्न खोजेमा, सही अर्थ लगाउन सकेमा गीताका श्लोकहरू आध्यात्मिक, दार्शनिक र व्यावहारिक मात्र नभएर निकै वैज्ञानिक पनि छन् भन्ने हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया