सप्ताहन्त

रूपान्तरण

इकागज |
असोज ८, २०७९ शनिबार ७:३० बजे

आगोमा रूपान्तरित भएपछि
आफूतिर जम्मै पानी बगेर वेगमा आइरहेको देख्थेँ

पानीमा रूपान्तरित भएपछि
आफूबाट जम्मै आगो भागेर दनदन सल्किरहेको देख्थेँ


धर्तीमा रूपान्तरित भएपछि
भित्रैबाट भूकम्प, आँधी, पहिरो र भुइँचालो विष्फोट बनाएर 
आफूतिर आकाश आइरहेको पाउँथँे

आकाशमा रूपान्तरित भएपछि
भित्रभित्रबाट प्रकाश, वर्षा, चट्याङ र कुइरो अभिव्यक्त गराएर 
आफूइतर धर्ती गइरहेको पाउँथेँ

प्रतीक्षालयमा रूपान्तरित भएपछि
आफूमा सारा अन्धकार लुकाई 
धपक्क बलेर जडवत उभिएको ल्याम्पपोस्टलार्ई हेर्ने गर्थें


ल्याम्पपोस्टमा रूपान्तरित भएपछि
आफैँलाई पूर्णतया थकाएर अरुलाई आराम दिई 
थचक्क बसेको प्रतीक्षालयलाई हेर्ने गर्थें
 
सहरमा रूपान्तरित भएपछि
आफूले अरुलाई देख्न छाडेको हुनाले
आफूलाई झन्झन् नदेख्ने बनाउँदै गएको महसुस भइरहन्थ्यो

गाउँमा रूपान्तरित भएपछि
आफूलाई सहरले देख्न छाडेकाले 
आफैँलाई नै सहर बनाउन लागेको महसुस भइरहन्थ्यो

हो यसरी रूपान्तरित हुन थालेदेखिबाट नै
मैले बुझेको हुँ अर्काको अस्तित्व
अर्काको अस्तित्व आफू भइन्जुल थाहा नपाइने रहेछ
थाहा पाउन अर्कामा रूपान्तरित हुनैपर्ने रहेछ 
र जब अर्कामा रूपान्तरित भइन्छ    
हामीले स्वतः आफ्नो पनि अस्तित्व थाहा पाइहाल्ने रहेछाँै 

रूपान्तरण आवश्यक छ
त्यसकारणले मृत्यु जन्ममा रूपान्तरित हुनुपर्छ
र जन्म मृत्युमा रूपान्तरित हुनुपर्छ
रूपान्तरित भएपछि उनीहरु बुझ्नेछन्
किन हामी सँगै जन्मिन्छौँ ?
तर किन सँगै मर्दैनौँ ? 

नदी किनारमा रूपान्तरित हुनुपर्छ
र किनार नदीमा रूपान्तरित हुनुपर्छ
रूपान्तरित भएपछि उनीहरुले बुझ्नेछन्
कति सकस छ 
कसैलाई अविरल बगाइरहनुपर्दा ? 
झन् कति सकस छ
आफैँ अविरल बगिरहनुपर्दा ?

धुलो हावामा रूपान्तरित हुनुपर्छ
र हावा धुलोमा रूपान्तरित हुनुपर्छ
रूपान्तरित भएपछि उनीहरु बल्ल बुझ्नेछन्
कत्ति गाह्रो हुने गर्दछ
जब कसै गरेर पनि एकै ठाउँमा अडिन नसक्दा ?
झन् कति गाह्रो हुने गर्दछ
जब कसैले एकाएक उडाइदिँदा ?

रूपान्तरण आवश्यक छ
हो यसरी हरेक चिज रूपान्तरित हुन आवश्यक छ
रूपान्तरित नभएर नै  
यहाँ एक अर्काको अस्तित्व अधीनस्थ पार्ने 
घिनलाग्दो खेल खेलिँदै छ
अहो अस्तित्व नै नामेट पारिदिने खेल !
अहो अस्तित्व नै संकट हुने खेल !

रूपान्तरण आवश्यक छ
हो म पनि रूपान्तरित हुन अत्यन्त आवश्यक छ
यसर्थ योपटक राक्षसबाट मानिसमा रूपान्तरित हुँदै छु
मानिस भएर राक्षस कस्तो हुन्छ ? हेर्नुछ
राक्षस भएर मानिस कस्तो हुन्छ ? जो हेरिसकेको छु !


 

 


 


Author

थप समाचार
x