सप्ताहन्त

सुत सुत

विरही बाबु ढुंगेल |
असोज ८, २०७९ शनिबार ११:७ बजे

कवि जहिलेजसो कुनै न कुनै कविता लेख्ने गर्थे । अचानक उनको दिमागमा एक दिन एउटा कथा फुर्यो । त्यो कथालाई जतिसक्दो छिटो कापीका पानामा उतार्न चाहन्थे । समय बेलुका खाना खाइसकेपछिको थियो । साघुँरो कोठा, सानो खाट, त्यही खाटमाथि बसेर घुँडामाथि कापी राखेर कवि कथा लेख्दै थिए । लेख्नका लागि सम्पूर्ण वातावरण त ठीक थियो । तर एउटै कुराले उनलाई सताइरहेको थियो । त्यो के भने टोलभरिका बासिन्दाहरूले कविनी भनेर सम्बोधन गरेकी उनकी श्रीमतीले सुतेको ठाउँबाट जुरुक्क उठ्न खोज्दै पिलिक्क हेर्ने क्रम दोहोरिएकाले उनलाई सारै अप्ठ्यारो परिरहेको थियो । उनी जति फेर उठ्थिन, कवि त्यति नै फेर सुत सुत भन्थे । के थियो त त्यो कथा एक चोटि कवितामा पढौँ ल :

तिम्रो विरुद्धमा नालिस लेख्न लागेको हैन प्रिय, 
तिमी किन झसकझसक झस्कँदै उठ्छ्यौ
म साँइलो माझीको जीवनकथा लेख्दै छु
यो कथा तिमीलाई सुनाएँ भने
तिमी रनक्क रन्किन्छ्यौ
तिम्रो आँखाबाट यो कपीलाई
ओझेल पारेरै लेख्नुपर्ने भको छ,
यदि तिमीले देखि हालेमा 
मेरो गर्दनले दुःख पाउन सक्छ,
त्यसैले तिमी उता कोल्टो परेर सुत,
सपना जे देख तिम्रो मर्जी
चाहे कारमा गुड
चाहे हेलिकप्टरमा उड
म अहिलेलाई कथा लेख्दै छु प्रिय
तिमी उता कोल्टो परेर सुत


०००
कविको कथामा साइलो माझी
बिहान बिहान जहिले
जाल बोकेर खोलातिर झर्छ
दिउँसो अबेला आएपछि
अनी श्रीमतीलाई भन्छ
जालमा माछा परेको छ
श्रीमती माछालाई ओल्टाई पल्टाई हेर्छे
अनि भन्छे माछा हैन माछी परेकी छे
ऊ भन्छ माछी हैन हो, माछा परेको छ,
ऊ भन्छे माछा हैन हो, माछी परेकी छे
विवाद चर्कंदै जान्छ
दुबैलाई हार्न मन छैन
जित्नु परेको छ
दुबैले माछाको पखेटो पल्टाउँदै हेर्न लागे
साइलीले फेरि जिती
हेर यहाँ माछी नै परेकी छे
खै के परेको छ, के परेको छ
साइलो माझीको आँखा अलि धमिलो छ,
र पनि ऊ जिद्धी गरेर भन्छ
हैन माछै परेको छ,
साइलीलाई खपि नसक्नु रिस उठ्छ,
एक लबटो चुरा बजाउँदै भनी,
तिम्रो आँखा बिग्रिएको छ
यहाँ माछी परेकी छ,
लोग्नेले माछो परेको छ भनेर जित्नुपर्ने
स्वास्नीले माछी परेकी छ भनेर जित्नुपर्ने
सबैले बुझे भइहाल्यो 
जालभित्रको कहानी निकै लामो छ

०००
फेरि कविकी कविनीले
पिलिक्क आँखा पल्टाइन्
कविले झस्किएर भने— सुत सुत ।
कविकी कविनीलाई झोँक चल्यो—
केको सुत सुत, अब तिमी उठ
कविले दारी कन्याउँदै भने—
प्रिय ! मेरो कथा बाँकी छ
कविनीले भनिन्— मेरो व्यथा बाँकी छ ।
कवि भन्छन् कथा ठूलो हो
कविनी भन्छिन् व्यथा ठूलो हो
यहाँ पनि दुबैले हार्न नहुने
दुवैले जित्नुपर्ने
कविनीले कविको दारी समाउँदै भनिन्
साइलो माझीको कथामा के छ ?
कविले तरक्क आँसु खसाल्दै भने,
साइलो माझीको कथामा जाल छ,
कविनीले फेरि भनिन् जालमा के छ ?
कविले न्याउरो अनुहार लगाउँदै भने,
एकातिरको जालमा साइलो माझी छ
अर्कोतिरको जालमा यही पाजी छ ।


 


Author

थप समाचार
x