तिमीलाई पछ्याउँदै जाँदा
तिमी हिँड्ने बाटो
हिउँझैँ कोमल माटो
तिम्रो पैतालाको छाप
असाध्यै मिलेको नाप
तिम्रो मनमोहक हिँडाइ
वनमा कस्तूरीको कुदाइ
तिमी घर जाने उकालो
घुमाउरो भए नि लाग्छ सजिलो
तिमी खाने घट्टको पानी
अमृत समान मीठो छ सानी
तिमी बस्ने चौतारा
शीतल पानीको फोहोरा
तिम्रो ओठको मुस्कान
हराउँछ सारा थकान
तिमीले गाउने गीत
गासूँ लाग्छ साइनो र प्रीत
तिमी बस्ने सुन्दर डाँडा
फूलै फूल छैन कुनै काँडा
हावाले उडाउने तिम्रो पछ्यौरी
फूलको सुगन्धले आकर्षण गरेको मौरी
आकाशमा गर्जिरहेको बादल
तिम्रै पायलको लयमा बजाइरहेको छ मादल
रुझाएको तिमीलाई साउने झरी
तिमी भएछौ वर्षामा नाचेको मयूर सरी
तिमी र मेरो बीचको केवल चार पाइलाको दूरी
पृथ्वी र चन्द्रझैँ टाठा बस्नुपर्ने मजबुरी
अन्ततः तिमीले आफ्नै छेउमा बस्न गरेको इसारा
मेरो अविराम यात्रालाई टुंगोमा पुर्याउने सहारा
धनुषा, नेपाल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया