सप्ताहन्त

साठी हजार जितेको ‘डढेको आकाश’

रमेशजङ्ग थापा |
कात्तिक ९, २०७९ बुधबार ८:५९ बजे

दिल्लीको पहाडगन्जस्थित एउटा सानो लज चलाएर हाम्रो यहाँ गुजरबसर भइरहेको छ । हाम्रो सानो परिवारमा म, मेरी श्रीमती शिवानीसिंह र स्वयंप्रकाश । मेरी अर्धाङ्गिनीले धेरै समयको कसरतपछि जुराएको स्वयंप्रकाश छोराको नाउँ हो । समय कति छिट्टै कट्यो थाहै भएन । किनकि म त्यति फुर्सदिलो मान्छे अझै भएको छैन कि दिन र रात गन्दै बस्ने । 

छोराले धेरै पटक मलाई भन्ने कर गर्छ । मैले उसलाई टार्दै आएको छु । 'पख..पख कुनै फुर्सदको दिनमा निर्धक्क सुनाउँला ..बाबु ।' छोरो मन मारेर बोल्छ, 'हस् ! हजुरको इच्छा ।' यो सर्दी यामको सुरुवातमा मेरो देब्रे खुट्टा दुखेर डाक्टरको सल्लाहअनुसार घरमै थलिएँ । यसैबीच छोराको शिशिरकालीन छुट्टी भयो । श्रीमतीले लजको जिम्मेवारी लिइन् । छोरा र मैले घरको । 


आज धेरै सुतेछु । ढोका नक गरेर खोल्दा मेरो आँखा खुल्यो । 'ड्याडी चिया... । अहिले कस्तो छ ? खुट्टा दुख्न कम भयो ?' मैले चियाको पहिलो घुट्को लिँदै भनेँ, 'सब ठीकठाक...Don't Worry.. ।' ऊ हास्दै  बोल्यो 'Good…‘ आज डाक्टरकाँ Follow Up  मा जानुपर्छ...।' 'पर्दैन ..पर्दैन बिस्तारै ठीक हुँदै छ । दुख्न धेरै कम भइसकेको छ ।' ऊ सोफामा थचक्क बस्यो । म चिया पिउँदै गएँ । उसले अचानक केही सम्झेझैँ भन्यो, 'ड्याडी..अब त हजुरलाई फुर्सद भो हैन ?' मेरो नेत्रचेष्टा ऊतर्फ सोझियो । 'आज त म हजुरलाई छाड्दै..छाड्दिनँ । कुनै बहानाबाजी चल्दैन ..ल अब मैले यहाँ जरो गाडेँ ।' 

कोठामा शून्यता छायो । छोरा मलाई पुलुपुलु हेरिरहेको थियो । मैले चिया सकेर लामो सास फेरेँ । आँखा चिम्म गरेँ । मुटुको ढुकढुकीको स्पष्ट धुन मैले अनुभव गरेँ । विविधतापूर्णयुक्त, रङ्गीबिरङ्गी चित्र....विचित्र पलहरू मेरो स्मृतिपटमा अङ्कन हुँदै घचघच्याउन थाले । सुस्तरी म बोलेँ, 'बाबु, अब सुन ! ...' अतीतोन्मुख पानाहरू..बिस्तारै खुल्दै गए..। 

मैले माटो स्पर्श गर्दा त्यो भूमि अर्कैको भइसकेको अवस्था थियो । बाजको पन्जामा कैद बिचरो चल्ला जस्तो मेरो जमीनको अनागरिक यो पाल्तेनको हतभाग्यमा कुनै देश थिएन । दुई दिदीहरूपछिको एक्लो छोरा म सारै पुलपुलिएको थिएँ । मायालु पाराले 'भिजु' (बाबु) भनेर मलाई सबैले फुक्र्याउँथे । मेरो धेरैजसो समय पावा (बाबा) को वरिपरि...अघिपछि अल्झिरहेको हुन्थ्यो । मेरो पावा रिनझिन काष्ठकलामा निपुण साथै टोङ्गा बाजा बनाएर बेच्नुहुन्थ्यो ।

बाबा अत्यधिक निपुणताका साथ टोङ्गा बजाउन पनि त्यत्तिकै पोख्त हुनुहुन्थ्यो । बाबा, बाबाको बाजा एवं टोङ्गाको मधुरतम धुन–तरङ्गहरूसँगसँगै मेरो बाल्यवस्था डुक्रिँदै...हुरिँदै गयो । पावाको दरो हात..मामा (आमा) ले कर गरीगरी ख्वाएको फापरे रोटी र चम्पा (सातु) को बलियो खुराकले पुष्टिँदै म नौ वर्षमा पुगिसकेछु । ल्हासाको बजारमा टोङ्गाको माग निकै थियो । हाम्रो गाउँबाट घोडा चढेर ल्हासा पुग्न पूरा चार दिन लाग्थ्यो । पावा महिनामा करिब दुई पटक ल्हासा पुगेर आफ्नो माल बेच्नुहुन्थ्यो । उहाँ ल्हासा हिँड्न लाग्दा म रुँदै सँगै जान जिद्दी गर्दथेँ । बाबाले जसोतसो गरी फुस्लाई..फकाई अर्को पटकको भाखा राखेर मनाइहाल्नुहुन्थ्यो । 

ल्हासा पुगेर त्यो अद्भुत स्थापत्य पोताला दरबारको साक्षात्कार गर्ने मेरो अत्युत्कट अभिलाषा कहिल्यै पूरा भएन । भविष्यकालमा ..झन् त खै कसरी होला र ? पावा ल्हासा गएको समयमा आमासँग म माथि पाटनको चौँरी–भेडा–खर्कमा पुग्थेँ । त्यहाँ मेरो बालचपलताको मजा बेग्लै थियो । हाम्रा अगु (काका) टासी छिरिङ, खर्कमा चौरी–भेडा र घोडाहरूको रेखदेख गर्नुहुन्थ्यो । जब म त्यहाँ पुग्थेँ । अगु मलाई काँधमा काँधे घोडा बन्दै भिजु..भिजु.. कराउँदै चारैतर्फ दौडाउनुहुन्थ्यो । म एकछिन त चिसो हावाको झोंकाले आतिन्थेँ । 'काकु..काकु..हट्..हट् घोडा..हटहट..मेरो घोडा हट्..हट् ।' चौंरी र भेडाको पुच्छर तानेर चिल्लो–चिप्लो बुकीघाँसमा चिप्लिँदै...छिलिन्थेँ । कैले बछेडोमाथि चढेर सर्पट मार्थें । कति पटक त बछेडीले बुर्कुसी मार्दा काँडाका झ्याङ, कुलो र हिउँको थुप्रोमा उछिट्याइदिएको छ । मीठो दुखाइ र थकाइ बोकेर.. छुर्पी चपाउँदै हामी ओरालो लाग्थ्यौं । घर पुग्दा साँझ झमक्क परिसकेको हुन्थ्यो । 

पावा, अगु, मामा (आमा), दुई दिदीहरू र मसमेत ६ जना पूरा परिवारमा हामी गुम्फित थियौं । पावापट्टिको म, काकापट्टिका मेरा दुई दिदीहरू र सबैको एउटै साझा आमाको मायामा हामी सबै गुथित थियौं । राति सधैं म बाबाको गुटीमुटीमा लुटपुटिएको हुन्थेँ । प्रायजसो, धर्मशास्त्रसम्बन्धी थुप्रै कुराहरू सरल रूपमा बुझाउनुहुन्थ्यो । उहाँको चाखलाग्दो वृत्तान्त सुन्न निद्राले छोप्न लाग्दा पनि म आँखा मिचीमिची निद्रा भगाउँथेँ । 

पावाले मलाई चार वर्षको उमेरदेखि पढाउन थालिसक्नुभएको थियो । प्राथमिक शिक्षा, प्रारम्भिक बुद्धदर्शन र सम्यक् संस्कार घरमै सिकिसकेको थिएँ । त्यसैकारणले होला पछि स्कुलमा म अरू विद्यार्थीभन्दा चङ्ख, तेज र परिपक्व थिएँ । स्कुल भर्ना भएपछिको एक बिदाको दिनमा मैले हाम्रो पूजाकोठामा सजिएका विभिन्न भगवान्हरूका मूर्तिहरूका बारेमा जिज्ञासा प्रकट गरेको थिएँ । त्यो मेरो बालसुलभ प्रथम कौतुकी थियो । पावाले मलाई पूजाकोठामा लगेर सुरुचिपूर्ण तवरले चिनाउनुभएको वर्णन मनमा दुरुस्त छ ।

'हेर भिजु ! ती दुई सुवर्ण काश्य मूर्ति नेपालमा जन्मिएका सङ्घेच्योमदेनदी (गौतम बुद्ध) र उनकी आमा मरमेन्दी (मायादेवी) का हुन् । ऊ त्यो पित्तलको मूर्ति छैटौं बुद्ध वज्रसत्त्वको हो । बाँकी पाँच मूर्ति पञ्चरत्न निर्मित पञ्चरङसङ्केतयुक्त पञ्चबुद्ध हुन् । राम्ररी सुन । पाँच बुद्धका पञ्चरङसङ्केतहरूको अर्थ महत्त्वपूर्ण छन् । बुझ ..भिजु । सेतो रङमा नम्बर नाङ्जे (बैरोचन बुद्ध) –संयमता, नीलो रङमा दोर्जे सेम्बा (अक्षोम्य बुद्ध) – समृद्धि, पहेँलो रङमा रिङ्छेन जङ्देन (रत्न सम्भव बुद्ध) –पवित्रता, रातोरङ्मा नाङवाङ थोय (अमिताभ बुद्ध) –शालीनता र हरियो रङमा तोनयात ढूप्पी  (आमोदसिद्धि बुद्ध) –स्वस्थ र संरक्षणताको प्रतीक..।' हाम्रो पावाको स्वाध्यायनशीलता र त्यसको सटीक प्रकटीकरण गज्जब सानदार थियो । गुम्बामा रोज बिहान–बेलुका निस्स्पृह जपध्यान र बुद्धोपासनाको नियमनिष्ठामा पावा निर्लिप्त हुने गर्नुहुन्थ्यो ।

कुनै बखत मध्यरातमा जुन साँघुरो झ्याल भएर हाम्रो कोठामा भित्रिएको म हेरिरहन्थेँ । जुनुमामाका तृण किरणहरू कोठाका भित्ता..भित्तामा फैलिँदै..भुइँमा छरिँदै हुन्थे । म सुस्तरी उठेर झ्यालबाहिरको माथि आकाशमा आँखाहरू दौडाउँथेँ । बाल–बादलका टुक्राहरू  जुनसँग लुकामारी खेल्दै..खेल्दै ..कता हो..कहाँ बिलाइजान्थे । म बुदबुदाउँदै फर्कन्थेँ, 'कता गए ती बादल... ?'

एक रात म नसुतेको चाल पाएर पावाले भन्नुभएको थियो, 'सुन भिजु ! त्यस बखत तिमी जन्मेको थिएनौ । म पहिलो पटक ल्हासा गएको थिएँ । एक जना नेपाली शेर्पासँग राम्रो हेलमेल भयो । दुवै जना हामी ल्हासामा मज्जासँग घुम्यौं..फिर्‍यौं । हामी सँगसँगै यहीं फक्र्यौं । उनलाई मैले यहाँ तीन दिन राखेँ । उनी यहाँबाट हिंड्न लाग्दा म पनि सँगै जान ज्यादै कर गरे । मैले नकार्न सकिनँ । उनको घरगाउँ किमाथान्कामा मेरो पाँच दिन मज्जासँग कट्यो । 

आपसी प्रगाढताको सम्बन्ध स्वरूप, लामालाई बोलाएर विधिपूर्वक हामीले मीत लगायौं । हामीहरूबीच ३–४ पटक यता..उता आवतजावत भयो । एकपल्ट त हामीले यम्बु (काठमाडौं) जाने सल्लाह गरेका थियौं तर अनुकूल मिलेन । ६–७ वर्ष बित्यो सम्पर्क हुन पाएको छैन ...।' मैले पावाको कुरा उछिन्दै जिद्दी गरेँ .. 'पावा..मलाई त्यहाँ जान मन लाग्यो ..बरु ल्हासा म जान्नँ..म मीतबाकहाँ जान्छु ..लगिदिनुहोस्..पावा..पावा..।' मेरो स्वर मलिन भयो । म निद्रामा डुब्दै गएछु ।

अघिल्लो रातमा ल्होसार मनाइसकेर हामी सबै मस्त निद्रामा थियौं । झिसमिसे बिहानीमा ८–१० जना चिनिया सैनिक टुकडी घरको मूलढोका फुटालेर भित्र घुस्यो । अपर्झटको दुष्ट्याइँ कारबाहीले हामी सन्न भयौं । बटजुत्ता..लात..घुस्सा.. साथै लछारपछार गर्दै सबैलाई उनीहरूले आँगनमा थचारे । मामाघरको हजुरबा बिरामी पर्नुभएको हुँदा काकु उतैतिर जानुभएको थियो । हाम्रो बारीको डिलमा फे–सैनिक हाकिम (तिब्बतीहरू चिनियाहरूलाई फे भन्ने गर्दछन्) उपीर आत्मा (प्रेत) झैं ठिङ्ग उभिएर चुरोट तान्दै, धुवाँ उडाइरहेको थियो । दुई सैनिकले पावालाई लातले भकुन्ड्याउँदै हाकिम अगाडि पुर्‍याए । आमा सैनिकहरूको पछि..पछि म र दिदीहरू आमाको पछि कुद्दै त्यहाँ पुग्यौं ।

वरिपरिका छिमेकीहरू आफ्ना झ्यालहरूबाट मूर्तिवत् तमासा हेरिरहेका थिए । मैले केही..कुनै बुझ्न सकिरहेको थिइनँ । मेरो नजर आमाको बगिरहेको आँखा हुँदै...पावाको नाकमुखबाट भल्भली बगिरहेका रक्तधारामा पर्‍यो । एउटा ठूलो ढुङ्गा उचालेर फेहरूलाई मैले हान्न खोजेँ तर आमाले तुरुन्त खोसेर बिस्तारै जमिनमा राखिदिनुभयो । हाकिमले देखेन, ऊ आफ्नै धुनमा चुरोट तान्दै गाली बकिरहेको थियो । सैनिकको पिटाइ थामिएको थिएन । 

अचानक आमाले आफ्नो पूरा शरीर पावामा ढाकिदिनुभएको थियो । त्यसपछि मात्र उनीहरूले पावालाई पिट्न छोडे । श्वेतरक्तवर्णको फे–हाकिम घोक्रो फुलाउँदै आगो ओकलिरहेको थियो, 'तिमी तिब्बती फोहरी जन्तु...भातमारा कुवाका ब्याङ हौ । अवाञ्छित क्रियाकलापमा लाग्ने...गद्दार । समयले ल्याएको नयाँ कुरा सिक । गर या मर । पोलिदेऊ तिम्रा मक्किसकेका गुम्बामठहरू..समाजका लागि अफिम विष हुन्... । हाम्रा पछि लाग..हामी विकास गर्छौं..तिम्रा भिक्षु लामाहरू अर्काको कमाइमा पालिने अपाङ्ग परिजीवि हुन्..।' फे–हाकिमको फौजी तानाबानामा अल्झेका मोटा...मोटा पित्तले टाँकमा भर्खरै उदाएको घाम टलक्क टल्केर आँखामा पर्दा पावा अलिपर सर्नुभयो ।

त्यसै गरी टल्केको फेको कालो बुट र त्यसमुनि हाम्रो जमिन अनि त्यही जमिनमा घुँटा टेकेर थरथर काम्दै पावा परचक्रीको सामु प्रस्टीकरण दिइरहनुभएको मर्मान्तक दृश्य प्रेषण गर्न मलाई अहिले धौ..धौ परेको छ । पावाले मतर्फ पुलुक्क हेर्नुभयो । पावाको अनुहारमा प्रतिबिम्बित आर्तनाद सँगै मेरो अन्तर्दयनीताको स्थिति एकाकार भएको पावालाई स्पष्ट भयो । अब उहाँले आफ्नो पीडालाई लुकाउने असफल प्रयास गर्दै हुनुहुन्थ्यो । ..के..गरौं..कसो गरौं भन्ने ऊहापोहमा म अल्झिरहेको थिएँ । 

हाम्रो घर–छाना वरिपरि पवनलहरको सङ्गीतमा  साथसाथै नजिकै गुम्बाबाट ध्वनित् ॐ मणि पे मे हुँ को महाश्रवण पाठमा ..फर्र..फर्र नाचिरहने पञ्चरङयुक्त लुङ्दर (ध्वजापताका) सैनिकहरूले च्यातचुत पारेर मिल्काइदिए । एघारवटा पेटारे बाकसमा चिरसञ्चित धार्मिक पुस्तक, पाकृत पालि भाषामा लिखित त्रिपिटक बुद्ध ग्रन्थ रत्नलगायत पूजाकोठामा भएका सबै मूर्तिहरू उठाएर लगे । आँसुमा मन मुछेर हात जोड्दै पावाले उनीहरूलाई बिदा गर्नुभयो । पावाको मुखभित्र र अनुहारमा घाउ नै घाउ थियो । त्यस दिन पावाले मनतातो पानीको अतिरिक्त अन्य केही खान सक्नुभएन । 

'डैडी..सरी..सरी..पावा हाम्रो तिब्बतको जनसङ्ख्या कति छ ।' मैले छोटो जबाफ दिएँ, 'करिब साठी लाख तीस हजार ।' 'पावा ! आजदेखि हाम्रो पितृभूमि तिब्बतको जनसङ्ख्या साठी लाख तीस हजार एक भयो । कुनै दिन मेरो पावालाई म ल्हासामा अवश्य लान्छु । पावा, मलाई अबदेखि पासाङ भनेर बोलाउनुहोस् र बिस्तारै तिब्बती भाषा सिकाइदिनुहोस् न एभिबकभ पावा ..।' 

सधैंझैं राति म पावासँगै सुत्न गएँ । उहाँको सुन्निएर फुलेको नाक–मुख हेदै मैले सोधेँ, 'पावा के हामी कमजोर छौं ? हामीसँग लड्ने हतियार छैन ? हामी फेहरूसँग लड्न भिड्न सक्दैनौं ?' पावाले मलाई गहिरिएर हेर्नुभयो । मुस्कुराउँदै भन्नुभयो, 'छैन भिजु..छैन लड्ने भिड्ने हतियार ..।' 'के छन् त..पावा ?' 'हामीसँग सूत्रबद्ध सम्यक् बुद्धमन्त्र वाणी छन्..पाल्तेन ।' मैले हौसिँदै सोधेँ 'मन्त्रले उनीहरूलाई जित्न सक्छौं..पावा ?' 'अहँ सक्दैनौं..मन्त्रले ।' म निरास भएँ । बाहिर फैलिँदै गरेको गाढा अन्धकार मेरो मनभित्र गढ्यो । एकछिन दुवै चुपचाप भयौं । अनि पावाले आफ्नो स्नेहासक्त हातले मेरो गाला मुसार्दै भन्नुभयो, 'हेर भिजु ! बुद्ध वाणी मन्त्रले हाम्लाई लड्नु–भिड्नु–काटमार..छलकपट..अर्काको धन सम्पत्ति जमिन हडप्न सिकाउँदैन ।

त्यसको साटो दयामाया, करुणा, क्षमा, त्याग, श्रद्धा एवं सबैसँग मिलेर बस्ने र रम्ने पाठ पढाउँदछ ।' मेरो त्यो दसवर्षे केटौले वयमा केकति बुझेँ मलाई हेक्का रहेन । 'सुन भिजु ! संसार विचित्रको छ । यहाँ कुनै कुरा कसैका लागि ग्राह्य र अनुकरणीय हुन्छ भन्ने त्यही अर्काको दृष्टान्तमा हेय, त्याज्य एवं निन्त्य भइदिन्छ । तैपनि यो संसार बलियो बाङ्गाको निम्ति मात्र बनेको होइन । कमजोर, असहाय, सोझा–साझा, अशक्त आदिका लागि पनि यहाँ त्यत्तिकै ठाउँ–अधिकार छ ।' 

पछि मलाई थाहा भयो त्यो कालखण्डको कुकृत्य–उन्माद त्यहाँ अतिशय हल्लाखोर गरिएको चिनियाँ सांस्कृतिक क्रान्तिको जल्दोबल्दो नमुना थियो । त्यो महान् भनिएको सांस्कृतिक क्रान्ति करिब एक दशक चलेर अपर्झट शङ्कास्पद र रहस्यपूर्ण ढङ्गबाट नेस्तनाबुद भएर गयो । त्यस उटपट्याङ्गे हरकतको कारणले कैयौं सांस्कृतिक सम्पदा ज्यान–धन–जन आदि कति बलिवेदीमा चढे भन्ने कुराको लेखाजोखा सबै भूतको अन्धकारमा विलीन भए । 

अवाञ्छनी क्रियाकलापमा उद्यत भएको आरोपमा स्थानीय जनअदालतले पावालाई एक वर्षका लागि श्रम शिविरमा पठाउन निर्णय गर्‍यो । पावालाई एकाबिहानै हिँडाउँदा म सुतिरहेको थिएँ । उहाँलाई कहाँ..कुन ठाउँ लग्ने भन्ने परिवारलाई थाहा दिइएन । त्यो पूरा दिन  डाँको छोडेर म रोइरहेँ । रातभरि सपनामा पावाको झल्को आइरह्यो । बिउँझँदा म सुकसुकाइरहेँ बिहानसम्म .. । बिहानै खर्कबट काकु आएर सम्झाइबुझाइ गर्नुभयो । त्यस बेलासम्म मैले अन्नपानी मुखमा हालेको थिएन । खाना खाएपछि काकुले घोडामा काठी कस्नुभयो ।

बुर्लुक्क घोडा चढ्दै मलाई हाँक दिनुभयो, 'पाल्तेन..दौड..घोडालाई जित..।' म घोडापछिपछि जित्न दौडेँ ..मेरो गतिसँगै..घोडाको गति पनि बढ्दै गयो..काकुले घोडालाई एक चाबुक मार्नुभयो..घाडाले सर्पट मार्‍यो । अब घोडा मभन्दा धेरै अघि हान्निइसकेको थियो । मैले 'काकु..काकु..' भनेँ । पारि मोडमा घोडा पुगी फनक्क फक्र्यो । वायुवेगले सर्पट मार्दै म छेउ आइपुगी काकुले टपक्क मलाई टिपेर काखमा राखेर घोडा दौडाइरहेको मैले पत्तै पाइनँ । म हर्षातिरकेमा एकदम चिच्च्याएँ, ' हुर्रा..हट..हट.. घोडा..हट..हट..काकु ...काकु अलि धेरै ..अझ धेरै..हट..हट घोडा..।' मेरो आवाज नजिकैको पहाडि पखेरोबाट ठोक्किँदै मैकहाँ फर्केर मलाई जोसाउँदै थियो । 'हट..हट..घोडा..हट..काकु..हट..घोडा...।'

एक वर्षको प्रत्येक दिनहरूलाई विभाजन गर्दै मैले खरीढुङ्गामा कोरेर गन्न सुरु गरेँ ..१..२..३..४..। एवंरीतले दिन बिते ..महिनाहरू गुज्रिँदै गए । अब थोरै दिन बाँकी थियो । सबैको मुटुले ठाउँ छोड्न थाल्यो । कि उहाँ नफर्किने हो कि ? या जिउँदो हुनुहुन्छ ? वर्ष दिनपछिको तेस्रो दिनमा साँझ बोकेर पावा झुल्केको पहिला मैले देखेँ । मुटुको धडकन मेरो स्थिर भयो । म कराएँ, 'पावा...मेरो पावा... ।' दुब्लो एवं थकित–व्यथित पावाको शरीरमा मैले मलाई झ्वाम्म फालेँ । अङ्कमाल गर्दै पावा मन्दस्वरमा बोल्नुभो, 'भिजु..मेरो भिजु.. मेरो पाल्तेन ।' 

पावा फर्केपछि हाम्रा दिनहरू झन् गए गुज्रिएका हुँदै गए । हामीउपर अनेकौं बन्देज लगाउन कुनै कसर छोडिएन । हाम्रो परिवारमा सधैं अनुचित दण्डजनित भय, लज्जा, विरिक्त आदि सन्त्रास छाइरह्यो । दुवै कुरालाई समतुल्य रूपमा मान्न सकिन्थ्यो तर एउटालाई पूरै मिल्काएर अर्को नवस्थापित विचारलाई पूरै अँगाल्न हामी नकार भयौं । हाम्रो वैचारिक पार्थक्यको मिलाप बिन्दु निकै टाढा र असम्भव थियो । उनीहरू वर्गसङ्घर्षका कुरा गर्थे हामी मेलमिलाप भन्थ्यौं । उनीहरू अधिनायकत्वका गह्रौं भार घोकाउँथे । त्यसको विपरीत सम्यक् आचारविचार, विनयशीलता, सरलतायुक्त बुद्ध मन्त्र–वाणी हाम्रो मार्गदर्शन थियो । 

हाम्रो घरको माथिल्लो तलामा एउटा भित्री कोठा थियो । पावाका साथीहरू बेल–बेलामा आएर त्यहाँ भलाकुसारी हुन्थ्यो । एक साँझ पावाका साथीहरू गुम्बाका मिलारे लामा, आम्ची (वैद्य) लाक्पा दोर्जे, जिन्पा चोतेन र पावा कोठामा अलि चर्को स्वरमा कुरा गरिरहेको मैले सुनेँ । मलाई के चाख लाग्थ्यो, म बाहिर कोठामा बसेर कुरा सुनिरहेँ । मिलारे लामा बोल्दै थिए, 'यिनीहरूको एकोन्मादपूर्ण शासन प्रणालीले सबै हद पार गरिसक्यो । तिब्बती सभ्यता र संस्कृति सङ्कटको अवस्थामा छ । क्षणिक भौतिक सुखको खातिर आफ्नो अस्तित्व कसरी मास्न सकिन्छ ..।'

पावाले लामो सास फेरेर सबैतिर हेर्नुभयो । बिस्तारै बोल्नुभयो, 'हो हाम्रो बौद्ध आन्वीक्षिकी न फेहरू बुझ्न चाहन्छन् र हाम्रो भन्दा नितान्त पृथक् फलाम साङ्ले साम्यवाद न हामी अँगाल्न सक्छौं ।' आम्ची (वैद्य) दोर्जे कस्सेर बोले, 'फेहरू कहिले कसो घरमा आएर टाउको गन्दै कुखुरालाई चारो हालेझैं गरी रासन फालेर जान्छन् । हामी आफ्नै बाहुबलले देश चलाएर आफैं गरेर खान्छौं भन्दा लठी बर्साउँछन् । वास्तवमा यो दास जीवनवृत्ति मरणभन्दा निकृष्ट हुन्छ । अझ अहिले आएर तिब्बत सधैं हाम्रो संरक्षणमा थियो भनेर ढवाङ् फुक्दै छन् । पावाको गोरो वर्ण रक्तिम हुँदै आयो । आवेगलाई दबाउँदै भन्दै जानुभयो, 'संसारकै छानो हाम्रो अतुल्य तिब्बत हजारौं वर्ष अघिदेखि नै स्वतन्त्र अस्तित्वमा रहेको छ ।

महाभारतकालीन पाँच हजार वर्षपूर्व यस भूमिमा सुशर्मा नाम गरेका राजाले राज्य गरेको कुरा पुरानो अभिलेखले स्पष्ट जनाएको छ । संस्कृत शब्द त्रिविष्टप् जसको अर्थ स्वर्ग भन्ने जनाउँदछ । त्रिविष्टप् शब्दबाट नै तिब्बत हुन गएको हो । पावा अडिनुभो । चियाको घुट्को लिँदै जीम्पा बोले, 'संसारका सबै मान्छेहरू विचारको एउटै पेटारोमा कसरी अटाउँन सक्छन् । फेहरूकै एकोहोरो बाटोमा उनीहरू जस्तै सोच्न, बोल्न, चल्न कसरी सकिन्छ ...। हामी पशु हौं..र ? माओका राता किताबहरू घोकेर..रटेर..बुद्धका त्रिपिटक कसरी सक्छौं मिल्काउँन । चिनियाँहरूको हेराइमा हाम्रो तिब्बत छिमेकी देशको सीमावर्ती मजबुत किल्ला मात्र रहन गएको छ ।' लामा मिलारेले थपे, ' हो । विकारग्रस्त प्रपञ्च र छलकपटद्वारा भित्रिएको अवाञ्छनीय परिवर्तन हाम्लाई कसरी स्वीकार हुन सक्छ । एक दिन त सबैले मर्नु नै पर्छ । तर मृत्यु भयमा बाँच्नु मृत्युभन्दा भयानक हुन्छ । अब हामीहरूले आश्रयस्थल खोज्नुपर्छ । अरूहरू गएझैं भारततिर लागौं । पछि परिस्थितिमा सुधार हुँदै आएमा देश फर्कौंला ।' सबैले टाउको हल्लाउँदै मौन समर्थन गरे । पावाले छोटो बोल्नुभयो, 'तयारी गरौं..चाँडै ।'

बिहानी भुइँ उज्यालो पनि भैसकेको थिएन हिँड्ने तयारी भैसकेछ । म एकदम आत्तिएँ,  अब कतातिर हो.. ? एघारवर्षे बालवयमा एउटा अनिश्चित भविष्य साथै एउटा बोक्ने पोको तयार थियो । मनतन दुवैलाई भारी बनाउँदै हाम्रो परिवार नजिकै कुरिरहेको बगालसँग मिसियो । प्रायः सबैले आफ्नो क्षमताअनुसारको पोको–पन्तरो बोकेका थिए । हामी सबै एकै रातमा नाङ्गाबुङ्गा भइसकेका थियौं । अब हाम्रो सम्पत्ति भन्नु हामीले बोकेको पोकोबाहेक अरू केही रहेन । जम्माजम्मी ५१ जनाको समूहमा सबै वयका आबालबृद्धवनिता शरण यात्रामा थिए । 

यात्रा सहज थिएन । लामो यात्रामा यथेष्ट समान बोक्न सम्भव थिएन । हिउँदे याम सुरु भइसकेको थियो । अल्प भोजन, अल्प वस्त्र एवं अपुग ओढ्ने ओछ्याउनेको भरमा लामो हिंडाइ वास्तवमा एउटा ठूलो चुनौती भयो । मार्गमा पर्ने पुलिस चौकी र सैनिक दुर्गहरूलाई छल्दै हिंड्नुपर्ने भएकोले मूलबाटो छाडेर हामीले प्रायः वनमार्ग उपयोग गरिरहेका थियौं । हाम्रो हिंड्ने बाटो वक्रगमनमा कुदिरहेको थियो । कथंकथ पकडाउ खाइएमा कठोर श्रमशिविर अवश्यम्भावी थियो । एकछिन अडेर माथि आकाशमा हेरेँ दलबद्ध मालचरी सिन्दुरे घाम ओढ्दै ..कर्याङकुरुङ्.. कर्याङकुरुङ्..को स्वरसँगै समदिशामा ओझेल भए । 

थकाइले लखतरान भई बाटामा म प्रायः पछि..पछि.. हुँदै जान्थे । हाम्रो बगाल निकै अगाडि पुगिसकेको हुन्थ्यो । त्यो ..हूलमा म फुच्चेको याद कसलाई हुन्थ्यो र ? काकु दौडेर मछेउ आई मेरो पोको थुतेर कराउनुहुन्थ्यो, 'भिजु अब धेरै छैन...तिम्रो मीतबाको घर आउनै लाग्यो ..हट..हट..घोडा..हट ..हट हुर्रा...।' ममा फूर्ति सञ्चार हुन्थ्यो र दौडदै कराउँथेँ, 'हुर्रे काकु..हट..हट..घोडा...मेरो ... घोडा...हट..हट.....।' 

नाङ्गा भीर, पहरा, कन्दरा एवं पर्वतहरू हिउँले पूरै ढाकिसकेका थिए । प्रायः वृक्षशून्य ऊसरभूमि, बर्फिलो राप र कठाङ्ग्रिने बतासे स्याँठको निरन्तरताले मुटु, दन्त कलेटी परेका ओठसँगसँगै पूरा जीउ कम्पन हुन्थ्यो । निधार, गाला, ओठ पट...पट फुटेर रगत चुहिन्थ्यो । अधिक हिंडेर फोकाहरू पाइतालामा उठ्दै फुट्दै थिए । पग..पगमा हिउँका दलदले धरापलाई छल्दै हिंड्दै थियौं । तीन मुठी सातुसँग झ्यात्तल–फाँडोको आधापेट खुराकले सास कसरी टाँगेको थियो भन्न कठिन छ । जनशून्य–विरल वस्ती, सघन बन, जोखिमपूर्ण भिरालो बाटो हिंडेर गुफा, ओढार, ढुङ्गा र रूखको आड लिएर बास बस्नुपथ्र्यो । शरणस्थल खोजीको हाम्रो शरण यात्रा कहाँ टुङ्गो लाग्ने हो अत्तोपत्तो थिएन ।

तेस्रो दिन पूरा हिंडेर एउटा पातलो बस्तीमा पुग्यौं । गाउँको माझमा चौकी रहेछ । सानो थुम्कोमा स्थित सैनिक दुर्गको टुप्पोबाट पाँचतारे लाल झन्डाले नजर चारैतिर दौडाउँदै थियो ।  नजिकैको वनमा बास बस्ने निधो भयो । रूखका मुनि आड लिएर लस्करै सुत्यौं । रातभरि हिउँ परेछ । बिहानीपख जुरमुर्‍याउँदै सबै उठे । हाम्रो सुताइको लस्करमा काकु छेउमा सुत्नुभएको थियो । काकुको आधा आङ सिरक र आधा हिउँले छोपिएको थियो । मैले आफूलाई हेरेँ । काकुको बाक्लो बक्खु मेरो शरीरमाथि थियो । काकु हिउँले कक्रक्क लास भइसक्नुभएछ । नजिकै सैनिक दुर्ग थियो । हाम्रो रोदन अरण्यमा हरायो । खुलेर पनि हामी रुन सकेनौं । बेस्सरी मुख छोपेर रुँदा त्यसको चापले आँसु सँगसँगै आमाका आँखा झर्लान् जस्तै देखिन्थे ।

काठले हिउँ खोस्रेर खाल्डो बनायौं । मिलारे लामा अगाडि आएर छोटो मृत्यु संस्कार गरे । आँसुले काकुलाई भिजाउँदै बिस्तारै खाल्डोमा सुतायौं । माथिबाट हिउँको बाक्लो सिरकले ओढाएर पछाडि नफर्की भक्कानिँदै...अगाडि बढ्यौं । खण्ड...खण्डमा खण्डित त्यस दीनहीन बेलामा हिउँ पर्न रोकिएको थिएन । हिउँ फुर्र..फर्र हावमा छताछुल्ल छरिएका कपास झैं फैलिँदै र तल झर्दै थियो । बतास हिउँको कब्जामा पिछा गरिरहेको थियो । आमाको आँखा अविच्छिन्न आँसुका धाराले धमिलिएर उहाँ बेला–बेलामा धङधङ्गिएर हिंड्नुहुन्थ्यो ।

कहिलेकसो मेरो काकु सपनामा कैलो घोडा चढेर आउनुहुन्छ । मलाई भन्नुहुन्छ ठूलो स्वरमा, 'भिजु...घोडापछि लाग...।' म दौडन्छु..मेरो घरगाउँको घोडेटो बाटोमा ...घोडा सँगसँगै ..। काकुले मलाई टपक्क टिपेर काखमा राख्दा–राख्दै घोडा सर्पट मार्छ.. 'हट..हट.. घोडा..हट...हट..हुर्रे ...काकु...हट हट . हुर्रे .।' 

मेरो काकु थाकेर चिरविश्राम लिनुभयो । यात्रा थामिने स्थिति थिएन । पाइला यन्त्रवत् हिंड्दै गए । हाम्रो हिंडाइ सँगसँगै जमिनको उचाइ कम र हरियाली बढ्दै गइरहेको थियो । बिस्तारै..बिस्तारै नेपालवर्ती सीमारेखाको हाराहारीमा पुग्न हामी सफल भयौं । बस्तीहरू निकै पातला र विपन्न थिए । शरीरलाई लतार्दै घिसार्दै हिंडेको पूरा पाँच दिन कटिसकेछ । हाम्रो अभागी बगाल बल्लतल्ल नेपालको सीमावर्ती अन्तिम गाउँ चाङ्गा पुग्यो । तिब्बत–नेपाल छुट्याउने नदी काभा चाङ्बू प्रचण्ड जलधारका साथ पुरानो काठे पुल तल सुसाउँदै थियो । काठे पुलमुनि काभा चाङ्बू नथाकेरै द्रुत दौडिरहँदा मनमनै सोधें यो कहाँ पुग्छ..? .... कहाँ अड्छ..? ...एक्लै दौडिरहेछ..दौडिरहेछ...हामीहरूभन्दा कत्ति धेरै धेरै .. ? अनि कहाँ हराउँछ होला हँ ? चारैतर्फ सतर्कताका साथ हेर्दै काठे पुल हामीले पार गर्‍यौं ।

पुल तरेर जमिन टेक्नुपूर्व लामाले सबैलाई रोक्दै भन्नुभयो, 'यद्यपि शरणको खोजीमा हामी सबै भांैतारिएर हिंडिरहेका छौं । पुल तरेपछिको यो उर्वर सुन्दर धर्ती निःसन्देह शाक्यभूमि गौतम बुद्धको पावन जन्मभूमि नेपाल हो भन्ने कुरा सबैलाई थाहै छ । नेपालभित्रको भूमि मार्गमा हाम्रो शरण यात्रा स्वतः तीर्थयात्रामा परिणत भएर जानेछ । बुद्धभूमि नेपालमा सबै हामी तीर्थयात्री हौं । यो हाम्रो अहोभाग्य हो । दुःख र पीडा सँगसँगै सुख र आनन्द पनि सँगै लुकेर आउँदो रहेछ भन्ने कुरा आज सिद्ध भयो ।' त्यसपछि पावाले सबैलाई अनुरोध गर्नुभयो, 'श्रद्धाशील भएर यस पावनभूमिलाई अब नमन गरौं । सबैले आफ्ना पूरा शरीर भुइँमा बिछ्याएर जुम्ल्याहा हात जोड्दै अलि परसम्म जीउलाई घिसार्दै लग्यौं । बुद्ध माटो हर्ष–आँसु–श्रद्धाले भिज्दै गयो .... ।

भोक, तिर्खा, थकान सबै दुःखहरू बिर्सिए । मलय पवनका उत्ताल तरङ्गहरू सुस्त– मधुर–धुन–सङ्गीतमा तरङ्गित..हुँदै...हुँदै नजिकको चौतारीमा विश्राम खोज्दै थिए । पश्चिमगामी घाम किरणहरू थकित क्षीण हुँदै वासोन्मुख थिए । चौतारीमा बसेर थकाइ मार्‍यौं । माथि हेर्‍यौं निभिसकेका ताराहरू आकाशमा बल्दै चम्किँदै थिए । आकाशको ठीक तल गुजुमुज्ज–चिटिक्क शेर्पा बस्ती..नेपालको सीमावर्ती अन्तिम किमाथान्का गाउँ । पावाले सुस्तरी भन्नुभयो, 'अब बाँचियो ।' त्यहाँका घरधुरी छाने झ्यालभित्रबाट धुवाँ रोकिँदै रोकिँदै हावामा मिसिँदै थिए । घरवरिपरि घेरिएको पञ्चरङयुक्त लुङ्दर हाम्रो स्वागतमा हर्षध्वनि तरङ्ग–तरङ्गित हुँदै ..फर..फर..फर.. फर फरफराइरह्यो । उल्लासको तीव्रता बोकेर छिट्टै मााथि किमाथान्का पुग्यौं । एक झट्कामा देश गुमाएर पितृभूमि हाम्रो बिरानो भइसकेको थियो । आँखामा आँसु झार्दै एकटक हेरिरह्यौं त्यो प्रिय धर्तीलाई ..।  कनक भू–धराको नयनाभिराम दृश्यावली माथि ध्वाँसे तुवाँलोले ढाक्दै थियो । डढेलो आकाशमा तुवाँलो मडारिएर, फैलिन नपाउँदै बादल हराउँदै.. हराउँदै गयो । हात छातीमा राख्दै..नेत्र स्पर्शले पितृभूमिलाई हामीले अन्तिम सलाम गर्‍यौं । 

जिङ्ज्रिङ्ग लामो कपाल, कटकटिएको फोहर बक्खु, दुर्गन्धित शरीर, हिलाम्मे दोचा एवं क्लान्त–श्रान्त अवस्थामा हामी गाउँमा पुग्यौं । हाम्रो सपरिवार मीतबाको घरमा बस्यौं । बाँकी १–१ जनाको दरले गाउँको प्रत्येक घरमा सबैले आश्रय लिए । दुई मीतहरू धेरै वर्षपछिको धेरै बेरसम्म स्नेहालिङ्गनमा हराउँदा पिलपिले टुकीको मन्द प्रकाशमा उनीहरूका आँखाहरूबाट अश्रुकणहरू चम्किँदै तल बगिरहेको दुवैले थाहै पाएनन् । 

त्यस्तो सङ्कटावस्थामा किमाथान्काको आतिथ्य हाम्रा लागि अमृतमय प्रवाहले ओतप्रोत मृतसञ्जीवनीयुक्त आश्रय दान थियो । पूरा तीन दिन हाम्रो त्यहाँ राम्रो आराम भयो । चौथो दिनको बिहानै किमाथान्का गाउँको बीचमा अवस्थित गुम्बामा गयौं । त्यहाँका लामा छिसाङ शेर्पाले हामी सबैलाई खादा ओढाइदिएर मीठो स्वागत गरे । गुम्बामा पूजा अर्चना र काष्टमौनवत रूपले  ध्यान साधना भयो । त्यसपछि ॐ मणि पेमे हुँ को महाश्रवण वाणीले हामी सबैको मन चङ्गा भयो । मीतबा र सबै गाउँलेहरूप्रति चिरकृतज्ञता व्यक्त गर्दै हाम्रो शरणयात्राले निरन्तरता लियो । प्रभातीय बालसूर्यको शुभआगतमा चञ्चल समीरको बहाना समात्दै हामी किमाथान्काबाट ढुक्कसँग झुल्दै ओरालो हिंड्दै गइरह्यौं । तल खोलाबाट माथि किमाथान्का अन्तिम पटक हामीले हेर्दा त्यो सुन्दर ठाउँ आकाशको झुलनामा झुलिरहेको हवाइ उद्यान जस्तो देखिन्थ्यो ।

पञ्चरङ एवं पञ्चशीलयुक्त लुङ्दर आफ्ना पञ्चहातहरूले हाम्लाई बिदाइ गरिरह्यो...फर..फर...फर...। प्रत्युत्तरमा हामी सबैले एउटा हात हल्लाएर अर्को हात आफ्ना छातीमा राख्दै बोल्यौं  'ॐ मणि पेमे हुँ....ॐ मणि पेमे हुँ....' भारतमा मेरो शरण आश्रयले ५ दशकभन्दा बढी कटाइसकेछ  । त्यहाँ जस्तो प्राकृतिक जीवनचर्या यहाँ भेटिँदैन । अल्छीलाग्दो समय बिताइले म निक्कै मोटाइसकेको छु । कुनै एक बिहानी बखत मैले गहिरिएर ऐना हेरेँ । उमेर बुढ्यौलीमा खस्किसकेछ । मसित अहिले धन, सम्पत्ति र पूरा सुखी सानो परिवार छ । तर ती मेरा पावा, आमा, काका, दिदीहरू...गाउँघर...पितृभूमि मेरो आफ्नो देश तिब्बत छैन । विस्मृत कालखण्डको पुर्नस्मरण ज्यादै कष्टसाध्य हुँदो रहेछ । मेरो यो शरणार्थी जीवनवृत्ति या त्यो क्षुद्र पराधीन दैनिकी कुन मनासिब हो ? मैले छुट्याउन सकिरहेको छैन ।

'बाबुछोराको रमाइलो गफगाफ आज निक्कै पो चल्यो ..।' शिवानी हामी दुवैलाई हेरिरहेकी थिइन् । उनी कोठामा पसेको हामीले पत्तै पाएनौं । छोरोले केही सम्झेझैं गरी बोल्यो, 'डैडी..सरी..सरी..पावा हाम्रो तिब्बतको जनसङ्ख्या कति छ ।' मैले छोटो जबाफ दिएँ, 'करिब साठी लाख तीस हजार ।' 'पावा ! आजदेखि हाम्रो पितृभूमि तिब्बतको जनसङ्ख्या साठी लाख तीस हजार एक भयो । कुनै दिन मेरो पावालाई म ल्हासामा अवश्य लान्छु । पावा, मलाई अबदेखि पासाङ भनेर बोलाउनुहोस् र बिस्तारै तिब्बती भाषा सिकाइदिनुहोस् न Please पावा ..।'

म फिस्स हाँसेँ मात्र । ऊ दोहोर्‍याउँदै थियो, 'हुन्छ भन्नुहोस् न मेरो पावा ... Please... ।' मैले श्रीमतीतर्फ हरेँ । झ्यालबाहिरबाट सुस्तरी पसेको घाम उनको मङ्गलसूत्रमा गुम्फित सेतो मोतीमा टलक्क टल्किएर मेरो आँखा तिर्मिराए । बिस्तारै टाउको छल्दै म अलि पर सरेँ । एक चपल दृष्टि मतिर ओछ्याउँदै शिवानी बोलिन्, 'खाना तयार भैसक्यो ...।' आमाछोरा भोजन कक्षतिर सँगसँगै गए । एकछिन अडेर, खुट्टा खोच्याउँदै...खोच्याउँदै उनीहरूको पछि म लागेँ ।

(बाह्रखरी कथा प्रतियोगितामा दोस्रो स्थान प्राप्त कथा । लेखक र प्रकाशकको अनुमतिमा यो कथा प्रकाशन गरिएको छ ।)


Author

थप समाचार
x