संस्मरण
दिदी : पढाइ कि पराइ !
दिदी पढाइमा निक्कै अब्बल हुन् । उनलाई अंग्रेजी खुब आउँथ्यो । हिसाबमा पनि उस्तै । म हरसमय उनीसँग हिसाब सिकाइमाग्थेँ । बीजगणितका सूत्र कण्ठ बनाउँथिन् ।
कति सकेको हो, संस्कृत व्याकरणका लामालामा सूत्रहरू आउँदो बनाउन । संस्कृत साहित्यमा पढ्नुपर्ने रघुवंश महाकाव्यका श्लोकहरू । भावार्थ थाहा थियो थिएन, थाहा भएन मलाई तर शार्दूलविक्रीडित छन्दमा भाका हालेर सुनाउँथिन् ।
म उनको लयमा हराउँथेँ । फेरि उनको नजिकको मान्छे पनि मै थिएँ । उनको पढाइ देखेर कहिलेकाहीँ ईर्ष्या लाग्थ्यो, म पनि दिदी जस्तै जान्नी हुन पाए ।
दिदी घाँस काट्न जाँदा पनि चालको पहिलो, दोस्रो, तेस्रो नियम के–के भनेर सुनाउँथिन् ।
मलाई के वास्ता, न्युटनको गुरुत्वाकर्षण, कार्य सामर्थ्य, ध्वनिको गति, प्रकाशको गति मिश्रण यस्तै यस्तै के–के हो के–के ।
बिहान स्कुल जानु पहिले वा स्कुलबाट फर्केपछि एक डोकी घाँस काट्नुपर्थ्यो । दिदी प्रायः स्कुलबाट फर्केपछि, घर नजिकै छेउछाउमा घाँस काट्थिन् । वरिपरि कोही नदेख्ने हो भने उनले भाका फिराएर लोकगीत गाउँथिन् । गाउनमा पनि उस्तै ।
म प्रायः दिदी सँगसँगै हुन्थेँ, काम गर्न भन्दा नि साथ दिन ।
मलाई उनी गन्दिनथिन् भुसुनो जत्तिकै पनि तर म नभई उनको खुट्टो पनि चल्दैनथ्यो । कहिलेकाहीँ निहुँ खोजेर दिदीसँग नजान खोजेँ भने उनले मलाई पहिले फकाउँथिन् चक्लेट दिन्थिन्, तँलाई भन्दा भाइलाइ माया गर्छु भन्दै धम्काउँथिन् पनि तर कान्छो सानो हुँदा उनीसँग साथे हुन मै जानुपर्थ्यो ।
कसैगरी उनीसँग साथे हुन नजाँदा उनले मलाई लछारपछार पार्थिन् अनि मुर्मुरिएर गाली गर्थिन् । तँ आँखे, खाल्टे के–के भन्थिन् ।
हाँस्दा गालामा खोपिल्टो पर्ने भएको हुनाले मलाई गाली गर्दा दिदीले खाल्टे भन्थिन् । मैले पनि गाली फर्काउँथेँ कहिलेकाहीँ, कोप्रे भन्दै ।
उनको नाम बिगारेर उनका साथेले गाली गर्दा सुनेको नाम थियो त्यो । दिदीको खास नाम कोपिला हो ।
सँगै नभई पनि नहुने र भए पनि झगडा गरिरहने भएर होला, आमा यिनीहरू कुकुर बिराला जस्तै गर्छन् भन्नुहुन्थ्यो ।
छुट्टीको समय थियो । घाँस काट्न गएको बेला एक दिन, दिदी बेस्करी आत्तिइन् ।
दिदी के भो ? मैले सोधेँ ।
उनी केही बोलिनन् । मैले बुझेँ उनलाई गारो भएको थियो तर बुझ्न सकिनँ, खास के भएको थियो ।
उनले मलाई आफू रोएको देखाउन चाहेकी थिइनन् तर मैले देखेँ उनका आँखा गालाको बाटो भिजाउँदै लगाएको बुसर्टसम्म पुगे । म झन् आत्तिएँ । त्यसपछि आमालाई बोलाएँ ।
दिदीले सबै कुरा आमासँग भनिन् । मलाई घर पठाएर आमाले दिदीलाई फुपूकोमा लैजानुभएछ ।
पछि थाहा पाएँ, दिदीलाई पहिलोपल्ट नछुनी भएको रैछ । दिदी त्यही थाहा नभएर के भएको भन्ने डरले रोएकी रैछन् ।
थाहा पाएँ, नछुनी भएको बेला दिदी घरमा बस्न हुन्न रे । उनी अब फुपूकोमा बस्ने रे । १५ दिन जति ।
हर समय नछुट्टिएर, झगडा गरिरहने दिदीलाई नछुनी भएको बेला भाइले देख्नहुन्न रे त्यसैले फुपुकोमा लगेको रे । छिः कस्तो चलन मलाई भित्रभित्र मन परेन ।
म झन् आत्तिएँ । झन् देख्न मन लाग्यो दिदीलाई ।
लाग्यो, दिदीले मलाई देख्न मन लागे होला कि नहोला । दिदीलाई त्यत्रो लामो समय देख्न नपाउँदा म कत्ति रोएँ । लाग्यो, दिदी रोइहोलिन् कि नहोलिन् ।
फुपूको घर नजिकै पर्छ, त्यसैले खुसुक्क जाऊँ कि भन्ने लाग्थ्यो तर झुक्किएर भए पनि दिदीलाई देख्न जाने मन दिदीलाई देख्न हुन्न भन्ने डरले रोकिन्थ्यो । घरिघरि लाग्थ्यो, जाबो के पो भैहाल्ला र ? जान्छु । तर गइनँ ।
दिदी १५ दिनपछि घरमा आइन् । मैले उनलाई अर्कै देखेँ ।
हेरिरहन मन लाग्यो । आँखामा आँखा जुधाएर मैले हेरिरहँदा, हेराहेरै उनका आँखा डिबडिब भए ।
परेलाले छोप्न नसकेर आँसु त्यही गालामा खसालिन् र मलाई च्याप्प समातेर म्वाइँ खाइन् ।
हुन त पढाइमा मलाई पनि टाठै भन्थे सबैले तर दिदी जस्तै खटेर पढ्न मैले कैलै सकिनँ । उनी जहिले राती अबेरसम्म पढ्थिन् । बत्तीको उज्यालो छन्जेल मलाई पटक्कै निद्रा लाग्दैनथ्यो । घरीघरी लाग्थ्यो, बत्ती आफँै निभाइदिऊँ । तर
यसो गर्दा उनको चड्कन र आमालाई कुरा लाएर आमाको गाली खाने डर हुन्थ्यो ।
केरालाबाट बाले ल्याएको फिलिप्स रेडियोले ११ बजाउन्जेल दिदी पढिरहन्थिन् । आमा बत्ती कातिरहनुहुन्थ्यो । मेरो व्रतबन्धमा लाखबत्ती जलाउने रे । रेडियोमा कहिले नवराज लम्सालको सुरसंगम आउँथ्यो कहिले मधुवन । बत्तीको
उज्यालोमा नदिदाऊँ बानीले मलाई रेडियो सुन्ने लत बसेको हो पछि । दिदीको यही मेहनत थियो उनी कहिल्यै फेल नहुनुको कारण । बाले पठाइदिएको निलोमा रातो बुट्टा भएको कुर्ता सलवारमा उनी दुईतिर रिबनका फोका पार्थिन्
चुल्ठोमा । मलाई स्कुलभरिमा सबैभन्दा राम्री दिदी नै लाग्थ्यो ।
उसबेला पनि बा आमाले कस्तो अड्कलेका । ४, ५ वर्षको फेर पारेर तिन्टा छोराछोरी । दिदीलाई जेठो मान्दा म बीचको । मलाई जेठो मान्दा भाइ कान्छो । पढाइको रफ्तार पनि यही वरीयतामा थियो । दिदी तिख्खर, म त्यसपछि, कान्छो अलि कमजोर ।
एक साँझ बाले ल्याएको त्यही फिलिप्स रेडियोले भन्यो, यस वर्षको प्रवेशिका परीक्षाको परीक्षाफल सार्वजनिक गरिएको छ । उत्तीर्ण प्रतिशत त्यस्तै २५ को हाराहारी । दिदी खङरंगै परिन् । आत्तिइन् । अल्मलिइन् । मानाँै, उनलाई के गरौँ र कसो गरौं भइरहेछ ।
गाउँमा फोनको सुविधा थिएन, रेडियोले भन्नेबित्तिकै फोन गरेर सोध्न कसैलाई ।
फेल पो भइयो कि भन्ने चिन्ताले दिदी खटपटिइन् । रातभरि रोइन् । घरि बर्बराइन् ।
भोलिपल्ट, पर्सिपल्ट केही निधो भएन । त्यसको अर्को दिन गाइँगुइँ सुनियो, रिजल्ट छापिएको गोर्खापत्र गाउँमा आयो रे । संस्कृत मावि बेलबगरबाट जम्मा ६ जना पास भए रे ।
दिदी झन् कांक्रिइन् । त्यत्रो ४५ जना भन्दा बढीले परीक्षा दिएकामा जम्मा ६ जना पास ।
एसएलसीलाई फलामकै ढोका भन्थे उतिखेर पनि । त्यसैले दिदी त्यसरी आत्तिएकी होलिन् । फेल भइयो भने आजसम्मको पढाइ पूरै खेर जाला भनेर ।
यसै बीचमा खबर आयो, दिदी पास भइछन् । कुरो सुनाउनेलाई उनले दोहोर्याएर तेहेर्याएर सोधिन् । हैछ । पक्का हैछ । दिदी पास भैछन् एसएलसी ।
यही खबर सुन्दा आँगनको डिलमा बसेकी आमाको आँखाका डिलबाट आँसुका ढिक्का खसे ।
दुःखका बेला आमा रोएको लुकाउन खोज्दा खोज्दै पनि मैले देखेको थिएँ, तर खुसीको खबर सुन्दा पनि आँसु आउँदा रैछन् भन्ने त्यही बेला थाहा भयो ।
दिदीको चर्चा चुलिन थाल्यो गाउँमा । उस्तै असल । उस्तै पढाइ । उसको नाम जस्तै भई कोपिला, बा आमाको नाक राखी भने धेरैले । यही खबर यही बेला बाले पनि सुन्न पाएको भए कम्ती खुसी हुनुहुने थिएन ।
दिदी पास त भइन् तर अब कहाँ पढाउने भन्ने पिरलो सुरु भो आमालाई ।
क्याम्पस पढ्न सदरमुकाम नै जानुपर्थ्यो । छोरी मान्छे । एक्लै । कहाँ । के । कसो । यी धेरै प्रश्नका बीच एउटा बाटो आयो । उनी मधेस मामाघर बसेर नजिकैको क्याम्पस पढने भइन् ।
केही दिनपछि दिदीले चिठी लेखिन्, बा म पास भएँ एसएलसी । अब मामाघर बसेर क्याम्पस पढ्ने निधो भएको छ । तपाईंले भनेजस्तै अब अंग्रेजी पढ्छु ।
यो खबर बाका लागि छोरी हुनुको सबैभन्दा गर्वको विषय थियो । मलाई लाग्थ्यो हुलाकीले यो चिठ्ठी छिट्टै पुर्याइदिए हुन्थ्यो केराला ।
केही महिनामा चिठीको उत्तर आयो । छोरी म परदेशमा बसेको आज सार्थक भएको छ । राम्रोसँग पढेस् । म बेलाबेलामा पैसा पठाइदिनेछु ।
बाको चिठ्ठी आउँदा दिदी मामाघर पुगिसकेकी थिइन् ।
यसरी लामो समय घर छोडेर दिदी कहीँ पनि गएकी थिइनन् । त्यसैले पढ्न मधेस जाने बेला दिदी कम्ता रोइनन् । रातभरि रोएर आँखा फुलाएकी थिइन् बिहान हिँड्ने बेला । साँच्चै भन्दा उनको जानै मन थिएन, तर जानैपर्ने थियो ।
मलाई त्यो दिनभरि अँध्यारो लाग्यो । स्कुलबाट फर्किंदा उनले लगाउने चप्पल बलेनीमा देख्दाभित्र छन् झैँ मानेर दिदी भनेको थिएँ । मलाई सिकाइदिने, मलाई गाली गर्ने, मलाई पिट्ने अनि मलाई मायाले आफैँभित्र लुकाउने दिदी
थिइनन् अब मेरो छेउछाउ र वरिपरिमा । उनले क्याम्पस पढ्न थालेर पठाएको पहिलो चिठी कति कोसिस गर्दा पनि मैले पूरै बाँच्न सकिनँ ।
मलाई लाग्दै थियो, दिदीसँग सँगै हुने दिन अब सकिएछन् ।
दिदी पढ्न मधेस गएदेखि नै फाट्टफुट्ट कुरा चल्न थालेका थिए । उनको पढाइ तिख्खर देखेर नि हो धेरै लोभिएको ।
दिन प्रतिदिन बिहेको कुरा चल्न थालेको दिदीलाई थाहा थियो थिएन तर मलाई मनमनै लाग्थ्यो दिदी तगडा छन् । दिदीलाई पढ्न दिनुपर्छ । मैले यो कुरा कसैलाई भनिन्, किनकि मेरो कुरा कसैले सुन्दैनथ्यो ।
एकान दोकान दिदीको बिहेका कुरा बाक्लै हुन थाले । नयाँ मान्छेहरू आमासँग कानेखुसी गर्थे, केटो असल छ । पढेको छ । कुल हो । जागिरे । विदेश गको । हेर्दा राम्रो । फलानो ठाउँमा घर छ, घडेरी छ । यस्तै अनेक अनेक । म सुनिरहन्थेँ ।
उनीहरूका कुरा सुन्दा मलाई लाग्थ्यो, बसेर खाने होइन दिदी गरेर खान सक्ने मान्छे हुन् । तर मेरा कुरा मैसँग हुन्थे । सानो मुखले ठूलो कुरा गरेको कसले सुन्ने ? लाग्थ्यो, दिदी मसँग भएको भए कम्तीमा उनीसँग त भन्थेँ होला ।
दिदी अंग्रेजी विषय लिएर आइए पहिलो वर्ष पास गरिन् । जाडो बिदामा घर आउँदा उनले खररर सुनाएकी थिइन, संस्कृतका श्लोकजस्तै अंग्रेजी कविता ।
टाइगर टाइगर बर्निङ ब्राइट
इन द फरेस्ट अफ द नाइट
मलाई लाग्थ्यो, दिदी कति तगडा छिन् । विलियम सेक्सपियरका सनेटहरू, पीबी शेली, डब्लु बी इट्सका कविताहरू । अंग्रेजी साहित्यका कत्ति कुरा गर्थिन् । दिदी पास भइछन् । भित्रैबाट गदगद भयो मन ।
दोस्रो वर्ष पढाइ सुरु हुँदा नहुँदै फेरि बिहेको कुरा चल्यो । दिदीले पढ्न पाउलिन् जस्तो छैन, मलाई हर समय यही लागिइरहन्थ्यो ।
मध्यबर्खाको बेला थियो । रोपाइँको चापाचाप । असारको मेलो चलिरहँदा खबर आयो, घरमा कोही मान्छे आएका छन्, आमा जाने रे । मेलो रोप्न छोडेर आमा घर हानिनुभो । कसैले नभने पनि मनमा चिसो पसेको थियो मलाई, पक्कै दिदीको बिहेको कुरा हो ।
आमा मेलामा फर्किनुभएन । मेलैमा कुरा चल्न थाल्यो के हो कसो हो भन्दै । साँझ थाहा भयो, आमा र केटा पक्षका केही मान्छे भोलि बिहानै मधेस जाँदैछन् ।
भोलिपल्ट बिहान आमा मधेस जानुभो, उनीहरूसँगै ।
बा केरालामा भएकै बेला एक्लै आमा किन सुरिनुभएको होला यसरी । कम्तीमा हिउँद पनि त आउँथ्यो । मनमनै यिनै कुरा खेलिरहँदा दिदीलाई देख्न मन लागेको थियो ।
उनी पहिलो नछुनी बारेर घर फर्किंदाझैँ उनका आँखामा हेरेर रुन मन लागेको थियो ।
एक मन भन्थ्यो, दिदी सोझी छिन् । पेल्छन् होला ।
अर्को मन भन्थ्यो, त्यति पढेकीले आफ्ना कुरा पनि त राख्लिन् ।
एक मन लाग्थ्यो बा नआइकन कुरा कसरी टुङिगएला र ?
फेरि लाग्थ्यो, सबै कुरा मिले फोनमा सल्लाह भएर पनि कुरा सक्न नि के बेर ?
मनमा यिनै कुरा खेलिरहेका थिए । आमा भिरकुनोमा देखिनुभो मधेसबाट फर्किंदै । पारिबाट आउने आमा नै हो भन्ने चिनेपछि मुटु धड्केर बाहिरै आइहाल्ला कि जस्तै भो कुरो के भए होला भनेर । आमा घरै आउनुभो । के भनेर
सोधिहाल्ने आँट आएन । कुरो छिनिसकेको जवाफ पो आउने हो कि भन्ने डरले हो सोध्न नसकेको ।
आमा पनि केही बोल्नुभएन ।
अलि बेर पछि थाहा भो, कुरो छिनिइसकेको मात्र हैन, दिदीको बिहे नै भइसकेको रहेछ, मामाघरबाट ।
त्यो कुरा घरका लागि र मेरा लागि अप्रत्याशित थियो ।
त्यो बेला दिदी दुलही बनेर अर्काको घर गएको कल्पनै गर्न सकिनँ ।
सोचेँ, उनलाई पढाइ र बिहे कसैले रोजायो कि रोजाएन । यदि रोजाएको भए उस बेला दिदी पढाइ नै रोज्थिन् ।
मलाई मनमनै लाग्यो, अब दिदीको पढाइ के हुनी होला ?
(बाग्लुङका मोहराज शर्मा कवि तथा टेलिभिजनकर्मी हुन् ।) [email protected]
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया