कविता
कैदी
निस्कँदा अचेल बाहिर
पोल्छ आँखा, प्याजको गन्धले झैँ
बिझाउँछ छाती,
प्रेमीसँग बिनाकारण झगडा गरेर फर्केको साँझजस्तै
भएको छ पर्यावरण, एउटा कैदी जस्तो
जो बिनाकसुर जेलको चिसो छिँडीमा छ ।
सम्झन्छ, कैदी उसको बालापन
फुर्कन्छ, उसको मन
चैतमा हुरी र पानी रोकिएसँगै उड्ने-
आकाशे कमिला सम्झेर,
रुन्छ आँसुसँगै र निकाल्छ अमिलो डकार
र, झिनो आशा बोकेर बाहिर हेर्छ ।
उसका आँखा पिरा हुन्छन् र निस्कन्छ आँसु !
कतै कुनामा रहेको कम्पनसँगै ऊ मुस्कुराउँछ ।
जूनकिरीझैँ उसका आँखा उज्याला हुन्छन् !
कैदी हेर्छ टेलिभिजनको मुख, नझिम्क्याई आँखा
बिरुवाजस्तै कलिला साथीहरूलाई गाडीमा कोचेको देखेर-
कैदी हराउँछ आफैँ माझ
र, खोज्छ आफैँलाई ।
भेट्ने आशामा !
तर, अहँ भेट्दैन उसले केही
न आफैँ !
भेट्छ त केवल, निर्दोष अन्य कैदीहरू
परिवर्तनका आवाज उठाउनेहरू ।
महामहिमको राजर्षि ठाँटविरुद्ध बोल्नेहरू
यस्तै यस्तै !
उसले त्यो चिसो सिँढीमा राम्रो केही भेट्दैन !
कैदी, जो बिनाकारण थुनिएको छ,
फर्काउँछ आफ्नो मुन्टो अँधेरो कुनातर्फ,
उसको मन पनि सँगै पल्टन्छ, पुर्लुक्क !
र देख्छ कैदी, फरक स्वरूप ।
घृणा, प्रेममा बदलिन्छ ।
प्रेम, घृणा होइदिन्छ ।
त्यहाँ भएका अरुसँग उसको भाव-भंगी मिल्दैन
उसको भाषा र शैली परिवर्तन हुन्छ, अनायासै ।
तर उसले पत्तो पाउँदैन,
अब ऊ फेरिएको छ ।
निस्कन्छ कैदी सहीछाप गरेर बाहिर ।
जब निस्कन्छ कैदी बाहिर उज्यालोमा,
आउँछ उसको मन पहिलेकै ठाउँमा
र,
पोल्छ आँखा, प्याजको गन्धले झैँ
बिझाउँछ छाती
प्रेमीसँग बिनाकारण झगडा गरेर फर्केको साँझजस्तै
भएको छ पर्यावरण, एउटा कैदीजस्तो
जो बिनाकसुर जेलको चिसो छिँडीमा छ !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया