सप्ताहन्त

कविता

अर्को एउटा नयाँ वर्ष

जगन्‍नाथ कँडेल |
बैशाख ११, २०७८ शनिबार ६:५८ बजे

अर्को एउटा नयाँ वर्ष 
थपियो फेरी अर्को साल 
सुस्त सुस्त बाह्य चाल 
भित्रि मन छ धेरै लाल 
थपियो फेरी अर्को साल 

अर्को एउटा नयाँ वर्ष 
केहि साथ अझै त्रिपालमा 
भोको पेट र नाङ्गो आङ्गमा 
फोहोर थुप्रो छेवै चाङ्गमा 
थपियो फेरी अर्को साल 


अर्को एउटा नयाँ वर्ष 
स्वामीहरुलाई चाँदीको थाल 
व्यापारीलाई सुनको माल 
बिचैलियालाई मालामाल 
थपियो फेरी अर्को साल 

अर्को एउटा नयाँ वर्ष 
जनता लडे के नै भयो?
संविधान फेरे के नै भयो?
कोहि फुटे के नै भयो?
केहि जुटे के नै भयो?
थपियो फेरी अर्को साल 

अर्को एउटा नयाँ वर्ष 
मूल्यको उंचाइमा उंचो वृद्धि 
हत्या-हिँसामा धोक्रै वृद्धि 
बाल मस्तिष्कमा खोक्रै वृद्धि 
अनियमितता-भ्रस्टाचारमा श्रीवृद्धि 
थपियो फेरी अर्को साल 

अर्को एउटा नयाँ वर्ष 
खै कसको जित र कसको हार 
सडकमा मान्छे भन्छ मलाई के बाल
छिमेकीले सार्दैछ भित्रैभित्र त्रिपाल 
सम्प्रभुता भनेको डलरको हार 
थपियो फेरी अर्को साल 

अर्को एउटा नयाँ वर्ष 
ढल्यो खसी बज्यो गितार 
कुइरोमा उक्ल्यो सेयर बजार 
लगाउ चुस्की दौडाउ गाडी
अब आउनेछ सम्वृद्धिको बाढी 
थपियो फेरी अर्को साल


Author

थप समाचार
x