पुस्तक किन्ने पैसा नहुनु सबैभन्दा दुःखको क्षण
तपाईंको सबैभन्दा दुःखको क्षण कुन हो ?
मित्र प्रश्न गर्छन् ।
सम्झनुहोस्, म पुस्तक पसलमा हुन्छु । तर, मसँग पुस्तक किन्ने पैसा हुँदैन । सायद यो भन्दा ठूलो पीडा जीवनमा अर्को छैन ।
मेरो जवाफ सुनेर मित्र मौन हुन्छन् ।
विरलै । यस्ता पलसँग गुज्रेको हुला, विद्यार्थीकालमा । तर, मलाई हेक्का छैन । जसलाई विशेष मान्न सकियोस् । र, व्यक्त गर्न सकियोस् । यसको अर्थ किमार्थ यो हैन कि म हरेक पुस्तक सरल र सहजरूपमा प्राप्त गर्छु । खोजेका पुस्तक बजारमा नपाइनु । दोस्रो, सकसको विषय हो । यस्ता धेरै पुस्तक छन् । जसको खोज आजसम्म जारी छ । न हात पार्ने संकेत छ । न त आसै मरिसकेको छ । सम्झनामा केही यस्ता पुस्तक कुँदिएका छन् । जसको नामैले समेत मस्तिष्कमा कम्पन पैदा गर्छन् । केहीले दुर्घटना निम्त्याएका छन् । बाँकीले सोच्न विवश तुल्याउँछन् ।
दृश्य १
बिइङ एन्ड टाइम : मार्टिन हाइडेगर
आधुनिक चिन्तक एवं विचारक सार्त्र, कामु, सिमोन बोउवार, फुको, डेरिडालाई समेत माथ खुवाउने यो किताब कस्तो होला ? कुन विषयवस्तुमा लेखिएको होला ? कस्तो संघर्षको रूपरेखा कोरिएको होला ? म सोचमग्न हुन्थेँ, प्रायः । नेपाली बजारमा यो पुस्तक हात लाग्नु, भाग्यको चिठ्ठा पर्नु सरह न हो । त्यसैले दोस्रो विकल्प रोज्न बाध्य भएँ, इन्टरनेट तथा युट्युब ।
त्यहाँ उपलब्ध स्रोतसामग्रीमा हराउन पुगेँ । पढेको पढ्यै छ, केही बुझेको हैन । अडियो सुन्यो, भिडियो हेर्यो । तर, आशातीत प्रगति भएन । वाक्कदिक्क भएर निचोड निकालेँ । अब दुई भाषामा जम्ने । हिन्दी र अंग्रेजी एकैसाथ । केही सहज त पक्कै भयो । तर, सोचेझैँ भएन ।
केही वर्ष पहिले पोखराको गल्लीमा बरालिएको सम्झना अझै ताजा छ । त्यो पनि एउटा गुरुको खोजमा । जसले मलाई हाइडेगर पढाऊन् । तर, भेटिनँ वा गुरुहरू थिए होलान् । दुर्भाग्यवस उहाँसँग मेरो भेट भएन । दुई महिना यसै बिते । हल्लिएरै । अर्का महिना पनि बित्नै आँट्यो । अब यो चालले हुँदैन भन्ने लाग्यो । फेरि सुरु गरेँ, बिइङ एन्ड टाइम ।
यसैबीच हठात् भेटिए हबर्ट ड्रेफस । अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका प्रोफेसर । बिइङ एन्ड टाइममाथिको उनको व्याख्यान सहज र सटिक मात्र हैन, शानदार थियो । यद्यपि यहाँ पनि भाषिक जटिलता तगारो बनेर उभिदियो ।
हाइडेगरलाई छुन, छाम्न खोज्ने । जो कोही भाषिक एवम् संरचनागत जटिलताको सिकार हुन्छन् । कतिसम्म भने सार्त्रलेसमेत तीतो अनुभव चाख्नु परेको इतिहास साक्षी छ । भनिन्छ, सार्त्रले बिइङ एन्ड टाइम बुझ्दै बुझेनन् । अथवा गलत बुझे । त्यसैले तथ्यलाई तोडमोड गरी आफ्नो कृति बिइङ एन्ड नोथिङनेसमा प्रस्तुत गरे । बरु उनैका सारथि मोरिस मार्लो पोन्तीले बुझेका थिए ।
हाइडेगरका सन्दर्भमा दार्शनिकमाझ एउटा किस्सा बढी बिकाउ छ । उनी जर्मनीमा जन्मेका हुन् । जर्मनी भाषामै कलम चलाउँथे । र पनि जर्मनीमा अनुवाद गर्न कठिन छन् । जे होस्, उनी आफ्नो तर्क गज्जबले उठान गर्छन् । उनको दासेनको अवधारणा बेजोड छ । यो मानिस हुनुको सारतत्वमाथि केन्द्रित छ । सत्य के हो ?, स्वतन्त्रता के हो ? प्रश्न गर्छन् । अन्ततः हामी जन्मनुको अर्थमाथि घोत्लिन विवश तुल्याउँछन् हाइडेगर ।
दृश्य २
आउटसाइडर : अल्बेयर कामु
यदाकदा । कलेजका दिन सम्झन्छु । ती साथीहरू सम्झन्छु । जो मसँग पुस्तकालयमा हुन्थे । र्याकमा किताब खोज्थे । र, उधुम पढ्थे । खुलिएका तस्बिरझैँ आउँछन् यादहरू । र, बिनासितै हराउँछन् । यस्तै यादको संग्रह पल्टाउँछ, यो किताबले । एक जना साथीले मेरो हातमा थमाएका थिए, आउटसाइडर । तर, उनले आफैँले चाहिँ पढेका थिएनन् ।
भर्खरै । दर्शनतिर झुकाव बढ्दै थियो । त्यही समय कामुसँगको भेट निकै महँगो साबित भयो मलाई । देख्दा सामान्य कथा भए पनि । अन्तर्यमा दार्शनिक सवालमा उभिएको छ आउटसाइडर । निकै दिन रन्थनिएको थिएँ, पुस्तक पढेपछि ।
दृश्य ३
दि ब्रदर्स कारामाजोभ : फ्योदर दस्तोभ्स्की
कैयौँ पटक पढ्न सुरु गरेको । तर, सधैँ अपूरो थन्काएको पुस्तक हो, ब्रदर्स कारामाजोभ । तीन वर्ष पहिले । दसैँमा ब्रदर्स कारामाजोभ चलचित्र हेरेपछि निकै पछुताएँ, अधुरै छाडेकामा । र, फेरि आरम्भ गरेँ, ब्रदर्स कारामाजोभलाई । तीन पात्र, तिनका अलगै झुकाव । उनीहरूका विशिष्ट स्वभाव र वैचारिक पृष्ठभूमिले उत्पन्न आन्तरिक द्वन्द्वमा जानजान बाबु पिसिन्छन् । अर्थात् जानजान बाबुको हत्या हुन्छ । न्यायालयको त्रुटिपूर्ण न्याय सम्पादन । र, उत्पन्न परिस्थितिले निर्दोष पात्र सजायको भागिदार हुन्छ । अन्ततः उसले साइबेरियामा कष्टपूर्ण जीवन बिताउनुपर्ने हुन्छ ।
कुनै समय रसियाले भोगेको आर्थिक, सामाजिक तथा सांस्कृतिक विचलनको मार्मिक चित्र आउँछ, ब्रदर्स कारामाजोभमा । जुन आजको समयमा हाम्रोमा ठ्याक्कै लागू हुन्छ ।
दृश्य ४
कम्युनिस्ट घोषणापत्र : मार्क्स-एङ्गेल्स
सानोतिनो जमघट । सभासमारोह, चियापसल, विवाह ब्रतबन्धमा समेत गाउँका भलाद्मी भनाउँदाले खुब फलाकेका थिए, कम्युनिस्ट घोषणपत्र । अजिब नाम रहेछ । कुन चाहिँ मनुवाको यति बिघ्न प्रशंसा हुँदै छ, मैले बुझिनँ । त्यसपछि भलादमीको दैलो चहार्ने काम सुरु भयो ।
उनीहरू ठूल्ठूला गफ चुट्थे । मानौँ, मार्क्सलाई तिनले प्रत्यक्ष भेटेका हुन् । घोषणापत्रको ड्राफ्ट कोर्ने मार्क्स-एङ्गेल्स मात्र थिएनन् । स्वयं तिनीहरू नै सामेल भएका होऊन् । केही वर्षपछि । यो दस्तावेज सुम्सुमाउने मौका पाएँ । मार्क्स, लेनिन र माओका विचार धेरथोर जान्ने अवसर पाएँ । दर्शनका आधारभूत प्रश्न, वाद र प्रतिवादका जोड-घटाऊ सिकेँ । र, भलादमी, जान्ने बुझ्नेका अगाडि उभिएँ । आठौँ आश्चर्यमा त्यति बेला परेँ, म । जसलाइ मैले दस्तावेजका जन्मदाता सरह प्रेम र सम्मान गर्थें । तिनले पुस्तक पठन गर्नु त दूरको कुरा भो, राम्रोसँग बुझेकासम्म रहेनछन् । हठात् । भलाद्मीलाई मार्क्स बुझाउनु पर्छ भन्ने सोच आयो दिमागमा । अनि यो हो, त्यो हैन-को बहसमा उत्रिएँ । फलस्वरूप भलादमीसँगको सम्बन्ध धरापमा पर्यो । बोलचालको नातासमेत टुट्यो ।
दृश्य ५
सेपियन्स : युभल नोहा हरारी
मन रमाएको त्यो दुर्लभ र सुन्दर पल थियो । काल्पनिक यथार्थ र वास्तविक यथार्थको समीकरण बडो विचित्रमय बन्दै गइरहेको थियो । कता कति । नित्सेको सुपरम्यानको परिकल्पनाले समेत सताएको थियो । समूहमा कार्य गर्न हुँदा सेपियन्सले आजको यात्रा तय गरेकामा सन्देह पोख्ने ठाउँ थिएन । पठन सलल्ल बगेको थियो । तर, अनायास ब्रेक लाग्न पुग्यो । जसको मुख्य कारण थियो, एउटा सम्झना । फगत एउटा सम्झना । धेरै पहिले । कुनै समय । म पुस्तक पसलमा किताबका पाना पल्टाउँदै थिएँ । अचानक । एक युवा मेरो समीप आए । र, भने :
- तपाईंलाई यो पुस्तक पढ्न छुट छैन ।
- किन ?
- माफ गर्नुहोला । यो बेच्नका लागि मात्र हो ।
- मैले पनि किन्ने न हो । तर, थोरै पढेर मात्र ।
- माफ गर्नुहोला । त्यस्तो हुँदैन यहाँ ।
'माफ माग्ने र दिनेको खेल खत्तम गन मैले हातको किताब टेबलमा राखेँ । ऊ आफ्नो कामतिर लाग्यो । म केही बेर घोरिरहेँ । पुस्तकको सुरु, मध्य र अन्त्यका दुई-चार अनुच्छेद नहेरी हतपत गोजीबाट रकम नझिक्ने म, एकदमै द्विविधामा परेँ । पुस्तक किने वा नकिन्ने ।
कहिलेकाहीँ हामी आत्महत्या गर्नेसम्म योजना बनाउँछौँ । थाकेर, जीवनबाट वाक्कदिक्क भएर । यद्यपि चाहेर वा नचाहेर यो जीवन लतार्न विवश छौँ ।
न पुस्तक किनेँ, न नामै सम्झेँ । रित्तो हात घर फर्किंएँ । कालान्तरमा पुस्तक नकिनेको पछुतो लाग्यो । पछि नखोजेको पनि हैन । नामनिसान नै थाहा नभएपछि के खोज्नु ? कहाँ खोज्नु ? मैले त आसै मारिसकेको थिएँ । संयोगवश, धेरै समयपछि सोही पुस्तक मेरो हातमा थियो । अनि म सोही अनुच्छेदमा थिएँ । जुन मैले पुस्तक पसलमा पढ्दा-पढ्दै बीचैमा छाडेको थिएँ ।
दृश्य ६
आमा : मेक्सिम गोर्की
अनेकन् अनुत्तरित सवालको संग्रह हो आमा, मेरा लागि । कसैले नाम लियो कि सयौँ प्रश्नले घेरिएको हुन्छु म । उपन्यास सक्दा-नसक्दा नै मनमा थुप्रै प्रश्न उब्जेको थिएँ । दश वर्षे जनयुद्धमा रुसमा जस्तै कति आमा जन्म होलान् हाम्रो देशमा ? जो युद्धमा होमिए । कोख रिताए । र देहत्याग गरे । जो जत्ति मरे । तिनीहरूले आफ्ना सपनाको अवसान भएको देख्नु परेन, आज । तर, जो बाँचेका छन् । तिनीहरू कहाँ होलान् ? के गर्दै होलान् ? देशको वर्तमान स्थितिबारे के सोच्दा होलान् ?
दृश्य ७
उलार : नयनराज पाण्डे
मधेस अन्दोलन र त्यसका उपलब्धिको लेखाजोखा इतिहासले गर्ला । तर देश-मधेसकै नाममा स्थापित नेता र दलबाट शोषित पात्रको कथा हो, उलार । तिथि-मिति याद छैन । एक बिहान उलारसँगैको बसाइ रह्यो । नयनराज पाण्डेको लेखनले मन छोयो । अर्को हप्ता लिटरेचर फेस्टिभल थियो । एक अर्धपरिचित मित्रले भेट्ने इच्छा जाहेर गरे । र, फेस्टिभलमा भेट भयो । अनायासै मित्रले कुन पुस्तक पढ्ने भन्ने जिज्ञासा प्रकट गरे । कुनै उत्तरबिना । मैले दुई पुस्तक उनको हातमा धमाइदिएँ । जसमा एक उलार थियो ।
दृश्य ८
अ ब्रिफ हिस्ट्री अफ टाइम : स्टेफन हकिन्स
एक मित्रसँग पुस्तकबारे सोधेको थिएँ । उनले आफूसँग रहेको । र पढ्न चाहे ल्याइदिने वाचा गरे । त्यो पनि भोलिको पहिलो प्रहारमा । नकार्नुपर्ने कुनै कारण थिएन । त्यसैले ‘हुन्छ’ भने । एक महिना बित्यो, अर्को महिना बित्यो । ल्याइदिने छाँटकाँट देखिएन । आक्कलझुक्कल भेट हुँदा भन्थे, ‘आज पनि बिर्सिएछु तपाईंको नासो । भोलि चाहिँ अवश्य ल्याउँला ।’ तर, दुःखको कुरा आजसम्म ल्याएका छैनन् ।
लगत्तै दुई महिनापछि हकिन्सलाई उठाएँ । र, छिट्टै सिध्याएँ पनि । यो कुरा मित्रलाई थाहा छैन । हाम्रो भेट भएको पनि छैन । सोच्दैछु, अर्को भेटमा बरु उनै मित्रलाई यही पुस्तक उपहार दिनुपर्ला । जन जीवनको लय र भाषामा लेखिएको यो पुस्तक । विज्ञान र दर्शनका बोझिला भाषिक संरचनाबाट टाढा छ । सायद जो कोहीले निल्न सक्छ । सानो भएकाले सुन्दर छ वा सुन्दर भएकाले सानो छ । म बताउन सक्दिनँ । यसको निक्यौल गर्ने जिम्मा तपाईंको ।
दृश्य ९
द डेथ अफ अ सेल्समेन : आर्थर मिलर
विदेश । अर्थात् खाडी मुलुकको भिसा लागेपछि कसैलाई भेट्न पुगेको थिएँ । थोरै खुसी, थौरै पीडा बोकेर । त्यस्तो बेला कस्तो औपचारिकता निभाउनु पर्थ्यो । त्यसको मलाई अनुभव थिएन । त्यसैले चुपचाप उनका अगाडि उभिएँ । उनैलाई हेरिरहेँ । इन्तु न चिन्तु अवस्थामा थिए, उनी । दुई-चार वाक्य बोले । बडो सकससाथ । ती वाक्यको मलाई सम्झना छैन । तर, उनले अन्त्यमा भनेका दुई शब्द म आज पनि सम्झिन्छु । लामो मौनता चिर्दै उनले भनेका थिए, ‘बीमा छ ।’
जसको सोझो अर्थ हुन्छ । मेरो लास बाकसमा आए पनि केही पैसा आउँछ । बीमाको त्यो रकमले परिवारको आर्थिक अवस्था सुधारिनेछ । त्यसको केही दिनभित्र उनी विदेश प्रस्थान गरे । सोचेझैँ भयो । घरको आर्थिक अवस्था सुधारियो पनि । तर, आजसम्म मेरो मानसिक विचलन सुधारिएको छैन । म त्यहीँ छु, जहाँ उनले मलाई छाडेको थिएँ । उही शब्दमा, ‘बीमा छ ।’ यस्तैमा भेटिएका थिए, आर्थर मिलर । र, उनको डेथ अफ अ सेल्समेन ।
परिवारको पालनपोषण गर्न बिलीसँग कुनै काम धन्दा हुँदैन । एउटा असफल अमेरिकन पुरुषको परिचय कमाएको छ उसले । सबै तिरबाट ठक्कर पाएपछि उसले बीमा गर्छ । अन्ततोगत्वा बाँच्नुभन्दा मर्नु नै जाती ठानी आफ्नो कारभित्र आत्महत्या गर्छ । बीमाको रकमले श्रीमती र छोराले नयाँ जीवनको सुरुवात गरुन् भन्ने सोचेर उसले आत्महत्या गरेका हुन्छ ।
दृश्य १०
वेटिङ फर गोडोट : स्यामुअल बेकेट
जब कुनै धार्मिक स्थलतिर भौँतारिन्छु । भक्तजनको भीडमा आफूलाई पाउँछु । तब उनको याद आउँछ । उनी अर्थात् बेकेट । बारम्बार म ‘वेटिङ फर गोडोट’का पात्रमा ठोकिन्छु । लाग्छ, हामी पनि बेकेटका दुई भिखारी पात्रमध्ये एक हौँ । जो भगवान्को प्रतीक्षामा छौँ । थुप्रै आशा र सपना बोकेर । भगवान्को पखर्नु हाम्रो नियति बनिसकेको छ । प्रतीक्षाको घडी यति लामो हुन्छ कि ? कहिलेकाहीँ हामी आत्महत्या गर्नेसम्म योजना बनाउँछौँ । थाकेर, जीवनबाट वाक्कदिक्क भएर । यद्यपि चाहेर वा नचाहेर यो जीवन लतार्न विवश छौँ ।
यस्तै अलौकिक एवं अकल्पनिय दृश्य उघार्न आउँछन् टाल्सटाय, लुसुन, पामुक र ओ हेनरी । पूर्ववत् मेरा मान्यतालाई विघटन गरिदिन्छन्, फ्रायड, जुङ्ग, कान्ट र किक्रेगार्ड । अन्य कुराहरू यथावत् रहेमा । बस अहिललेलाई यति नै भन्न सकिन्छ । जे छन्, जस्ता दृश्य देखापर्छन् । जीवनलाई अर्का एउटा आयाम थपेर सार्थक तुल्याएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया