सप्ताहन्त

एक चिनियाँ पत्रकारको नजरमा 'नेपाल'

इकागज |
बैशाख ११, २०७८ शनिवार ९:४ बजे

काठमाडौँ : विश्व पुस्तक दिवस (२३ अप्रिल) को अवसर पारेर चिनियाँ पत्रकार झाउ सिन्पिङले आफ्नो पुस्तक ‘मेण्ड अर इण्ड’ सार्वजनिक गरेका छन् । चिनियाँ समाचार संस्था, सिन्ह्वा न्यूज एजेन्सीका काठमाडौँ ब्युरो चिफका रूपमा कार्यरत रहँदा अनुभव गरेको नेपाललाई उनले २०० पृष्ठको पुस्तकाकारमा पाठकसमक्ष उपलब्ध गराएका छन् । यस पुस्तकको पाँच अध्यायमा लेखकले नेपालको राजनीति, संस्कृति, पर्यटन, अर्थतन्त्र तथा नेपाल–चीन सम्बन्धमा विभिन्न आयामहरू प्रस्तुत गरेका छन् । 

एक दशकसम्म नेपालमा कार्यरत रहँदा यहाँका राजनीतिकर्मीहरूसँगको भेटघाटका अनुभवदेखि नेपाली जनजीवनसँग विभिन्न मोडहरूमा गरिएका साक्षात्कारलाई प्रस्तुत गरेर उनले पुस्तकमा नेपाली समाजको जीवन्त तस्बिर उतारेका छन् । नेपालमा बढ्दो राजनीतिक अस्थिरताका सम्बन्धमा झाउको पुस्तकमा ‘नेपाली जनताको लामो समयदेखिका सामाजिक–आर्थिक विकास र समृद्धिका आकांक्षाहरू पूर्तिमा असफलता’लाई प्रमुख कारकका रूपमा उठाइएको छ । लेखकले पनि नेपालीहरूको सपना पूरा नभएको सोच्छन् भन्ने होइन, पुस्तकमा उनले यस्ता राजनीतिक अभिव्यक्तिहरूको चर्चा गरेका छन्– जो नेपाललाई रूपान्तरण गरेर एसियाको स्वीजरल्याण्ड बनाउने कुरा गर्छन् । यसभन्दा अगाडि उनले, राजनीतिक नेताहरूले निर्वाचनमा जनतासमक्ष गरेका प्रतिवद्धता भुल्ने गरेको विषयमा पनि चर्चा गरेका छन् । वास्तवमा उनको पुस्तक साधरण नेपाली जनताको आवाजलाई प्रतिध्वनित गरेको छ । 


यस पुस्तकमा नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गएको सम्बन्धमा चर्चा गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबर, २०१९ को ऐतिहासिक नेपाल भ्रमणका क्रममा उनले अनुभूति गरेका दुई देशबीचको सौहार्द र मैत्रीपूर्ण सम्बन्धको विषयमा पनि एउटा अध्याय समर्पित गरिएको छ । उनले नेपाली राजनीतिज्ञहरूलाई अब ब्युँझिएर नेपाली जनताको सामाजिक–आर्थिक रूपान्तरणको चाहानालाई मूर्त रूप दिन पनि आग्रह गरेका छन् । चीनका सर्वोच्च नेता माओत्से तुङको भनाइलाई उद्धृत गर्दै उनले भनेका छन्, ‘१० हजार वर्ष लामो अवधि हो, अनन्तकालमा होइन हरेक दिन, हरेक घण्टालाई उपयोग गर्नुपर्छ ।’ चीन र भारतको आर्थिक रूपान्तरणबाट नेपालले दुई देशबीचको गतिशील पुल बनेर धेरै ठूलो लाभ लिन सक्ने सम्भावना रहेको तथ्यलाई उनले पुस्तकमा उठाएका छन् । 

नेपालको अर्थतन्त्र वर्षौदेखि रेमिट्यान्समा निर्भर रहँदै आएकोमा रेमिट्यान्समा असर पर्नेबित्तिकै ठूलो संकट उत्पन्न हुनेभएकाले देशभित्र उत्पादन र रोजगारीको आधार तयार गर्न उनले आग्रह गरेका छन् । नेपालको राजनीति, भूराजनीति, अर्थतन्त्रबाहेक लेखकले आफू मुस्ताङ लगायत नेपालका विभिन्न भागमा भ्रमण गर्दाको अनुभव पनि बाँडेका छन् । यसबाहेक केही तस्बिर पनि । उनको पुस्तक नेपाली बजारमा ६०० रुपैयाँमा उपलब्ध छ । सिन्ह्वा न्यूज एजेन्सीका काठमाडौ ब्युरो चिफ झाउले ‘एसिया–प्यासिफिक डेली’ नेपाल संस्करणको सम्पादकीय टोलीको पनि नेतृत्व गरेका थिए । 


Author

थप समाचार
x