सप्ताहन्त

हाटबजारमा लुटिएका सपना

प्रकाशकुमार शर्मा |
बैशाख ११, २०७८ शनिबार १०:३२ बजे

‘ए नानी ! एता ल्याऊ तिम्रो डोको ।’
‘बैनी, आठ रुप्याँ किलो दिन्छु यता ल्याऊ ।’
‘ए नानी, दश दिन्छु दश यता ल्याऊ ।’
आफ्ना वरिपरि आएर दशथरी मान्छेले दशवटा आवाज निकाल्दा लाली अचम्ममा परी ।
‘कसैगा कुरा नासुनिना मेरा पछ्याट लाग्यास् होइ ।’ भनेर उसकी सानिमाले भनेको पनि उसले बिर्सी । 

‘चाँरो आ होइ चाँरो ।’ भन्दै उसकी सानिमा त्यस घुइँचोमा कता छुटिन् कता । बिचरी पहिलोचोटि गाउँबाट हाट भर्र्न आएकी लाली तरकारी खरिद गर्न बुटवलदेखि नेपागञ्जसम्मबाट आएका बिचौलियाहरूको बीचमा अटेसमटेस भई । झन् त्यसमाथि सानिमा पनि हराइहालिन् । तिनैका साथमा त हो उसकी आमाले पठाएको लालीलाई । 


‘नाम्ररी बेच्द्यास् होइ कान्छी । तेरै आरमा यो लालीलाई पठाउन लागेइ छु । चोट्टाहरूले ठग्दिनन् फेरि । कैले गयइ छैन बिचारी । क्यार्नु आफ्नो जिउ नाम्रो भया आफै जानाउँ । बुरेसकालमा नाम्रै दुख पाइयो हेर् बैनी ।’ खुइय सुस्केरा हाल्दै भनेकी थिइन् लालीकी आमाले बहिनीसँग । बहिनीचाहिँको व्यथा पनि दिदीको भन्दा त्यति फरक थिएन ।

‘क्यार्छ्यौ तो दिदी‚ भिनाज्यू मात्रै ज्युँदो भया तिम्लाई यो टाँकोमुरु क्यै पर्‍न्या थेना । अपरातिहरूले खाइदेल्या भिनाज्युलाई । छोराहरू परदेशी भईग्या । जस्ता विपत पर्‍या भन्दै खानै पर्न्या ह्रछ मान्छा जातलाई । नाखाइ नाहुन्या‚ एउटा टालो नाबेरी नाहुन्या । क्या चोला दियो छ दे दैवले मान्छलाई ।’ यतिभनेर बहिनी चाहिँले फाटो चोलिको बाहुलाले आँखा र नाक पुछेदै अगाडि भनेकी थिई‚ ‘मलाई हेर्दिनौ सगि नासगि खेति उतार्‍याँ । खर्‍याली बनि यै साल लाग्‍नु पर्‍याउ छ । पानी पुग्दैना; ताँछार र माँछार गर्नु पर्‍याउछ खेतनु पानी हाल्ला । स्वान्चरी केराटी मान्छ भनी हेप्‍ना खोज्छन् गाउँल्या । क्यारी बाँच्न्यो दिदी । कति दिन टेगिन्थ्यो र यस्तरी । मा बनि क्या जान्छु र । उनी ह्याँ छन्ज्याल आफै जान्थ्या । त्यो मलेस्या नु क्यार्दुन् ? चिठी पर्त केइ छैना । काल्या बागा पीरले मर्जान्छु क्यार दिदी मा त । यताबनि आफै भ्याउ उता बनि आफै भ्याउ । आज काल्यालाई पर्ना नाजा बल्लबाख्रा चराउना लैजा भनेइ छु । झट्ट गइना झट्ट आइजान्यो । बरु चाँरो सत्याइदेऊ लालीलाई भारी । कति लग्‍ना सग्न्या थि र बिचारी केराटी त भैगी ।’ दिदीको कुरामा लामै सुस्केरा कहेकी थिई बिहिनीचाहिँले ।

जीवनको आरोहअवरोह भर्खरभर्खरै बुझ्‍न थालेकी लालीले पालीमा बाख्रालाई घाँस टङ्गाउदै गर्दा सानिमा र आमाले गरेका यी कुरा सुनी । तर ऊ आज हाट जाने लागेकी हुनाले खुशी थिई । केही नमिठो माने पनि खुशीले गर्दा बोली हाली । ‘आमा सान्ज्यै आइगिछन् । मेरो भारी बनि चाँरो सत्याइदेऊ ।’ 

अनि केही अलिक हच्केको र स्यानो स्वर पारेर सोधी, ‘आमै त्यो मेरो थाप्ल्या भाल्या भन्दै बेद्दिन्छु होइ ? बाटुल्या, जानकी, काली, पविर्ता सबले तीजलाई लुगा किन्‍नेल्या । मा भन्दै भाल्या बेचिना लुगा हाल्छु होई ? टामटर बेच्या पैसाले घर खर्च चलाम्ला ।’ छोरीको आँट देखेर एकछिन त आमा हैरान परिन् र भनिन् । 

‘ताँ सग्लेस् र कान्छी ? तिउन खरेता त सबै अच्चाग्ली मात्या हुन्छन् । क्या बोल्छन्‚ क्या बोल्छन् क्यै बुजाउदैनन् । ठग्‍नन् तलाई । हुना त सान्ज्या जान लाइछ । नाम्ररी बेच्द्यास् होइ कान्छी । यो लाटी रित्तै आऊले साँज फेरि । अचाग्ली रर गर्रेली‚ लगाल्ले तो तीजति नयाँ लुगो । भाल्या भन्दै लैजाओ ।’ 

आमा चाहिँले यति भन्दै निगालोको डोकोमा टमाटरको भारी ठीक पारिदिइन् । लाली खोरमा थुनेर राखेको भाले छोपेर डोरीले खुट्टा बाँध्‍न लागी । भाले बेचेर नयाँ लुगा किन्‍ने कुराले उसको फर्‍याकफुरुक त्यसै बढ्यो । सिउँर सिधा नभएर केही थेप्चिएको हुनाले भालेले थाप्ले नाम पाएको थियो । आज त्यो पनि हाट जाने भयो लालीको खुशी पूरा गर्न । लालीले झटपट नाम्लो खोजी र डोको बोकी अनि रातो भाले कोखिलामा च्यापेर हिँड्न तयार भई । ‘हर् तो नानी ए‚ काल्या भरनु घर छारि आइछु चाँरो गया चाँरो आम्ला ।’ सानिमाले यसो भनेसँगै उनीहरू आँगनबाट तल ओर्लिए । 

‘नाम्ररी बेच्या होइ‚ नाम्ररी; ठग्नन फेरि ।’ तल बाटमा पुगिसकेका उनीहरूलाई आमाचाँहिले आँगनको डिलमा निस्केर हपारिन् । त्यसपछि तिनीहरू फटाफट कपुरकोटतिरको बाटो नाप्न थाले । टमाटरको बोझले थिचिए पनि लालीका खुट्टा किन किन आज त्यसै त्यसै उडिरहेका थिए र नबोलूँ र नसोधूँ भन्दा पनि सानिमासँग अनेक कुरा गर्न मन लागिरहेको थियो । मनमा एकपछि अर्को गर्दै खुसीका लहर दौडिरहेका थिए अनि अटाइ नअटाइ हुन् खोज्थे । 
‘सान्ज्यै‚ पोख्राई पविर्ता जस्तै लुगा छान्देऊ होइ मलाई ।’ मनको कुरो प्वाक्कै बोली ऊ । 

‘हतो हो‚ भाल्याले भन्याउ मोल पायो भन्या किन्लेस् । कतिमा हियइ हो गरे ? लालरङ्गा छन् कि कस्ता छन् ? तीजमा त लालै स्वाउछन् । पैसा पुग्या त मा भन्दै काल्यालाई एउटा बुक्साइट लग्देल्दाँउ । च्यात्तिगो आमै अर्को हाल्दैउ स्कूलनु सबै हिस्याउछन् भन्छ । क्या हुँदो गरिपउ माजो जिन्दकी । यता गर्‍या उता हुन्‍ना उता गर्‍या यता हुन्‍ना । काल्या बा विदेश जान्या बेलाउ रिन सग्लै छ । चिठी पर्त केइ छैना । मेरा जस्ता आपत् कलाई हुनन् ।’ सानिमा आफ्नै व्यथामा थिईन् आफ्नै कथा सुनाइन् । लालीलाई यस्ता कुनै कुरामा रस पसेको छैन आज । थाप्ले भाले बेचेर तीजलाई झिलिमिली लुगा किन्‍ने कुराले मख्ख परेकी छ । ‘अलि चनाखी हुनू । मलाई नाछार्नू; डोगो तानातान गर्छन् साउहरूले । फुत्केलेस् र ठगि माङ्लेस् । भाल्या त झन् नाम्ररी बेच्‍नुपर्छ । अचाग्ली फटा हुन्छन् साउहरू त ।’ सानिमाले बाटोमा सतर्क गराइन् । 

साँच्चै लालीका मनमा आज अनेक विचारहरू उब्जिएका छन् । डेढ वर्ष अघि माओवादीहरूको चरम शारीरिक यातनापछि थलिएर मरेका स्वर्गीय बाबुलाई सम्झी उसले झलक्क तर तत्कालै त्यो कुरा मनबाट हटाइदिई । कालापहाडतिर गएका दाजुहरूलाई सम्झी । दाइहरूका भुराभुरी आफूले स्याहारेको; भाउजु र आमाबीच बेलाबेलामा हुने झगडा पनि याद गरी । बेला कुबेलामा घरमा आएर आमासित चन्दा माग्‍ने, खान देऊ भन्‍ने अब लालीलाई पनि हामीसित पठाइदेऊ भन्‍नेहरूलाई पनि सम्झी ।

चौध वर्षकी ग्रामबाला माया प्रेमका कुरा त के जान्दी हो तर चैते डाँडाको जीवनेलाई खुब सम्झी यतिखेर । अस्ति ग्वाला जाँदा ऊसित भेट भएको थियो; भन्थ्यो, ‘लाली पर्सि कपुरकोट हाट जान्छु टामटर लागिना । तलाई क्या ल्याइदिऊँ ?’ लाज र खुसीले ऊ कसरी भुतुक्क भएकी थिई । तर प्रकटमाचाहिँ‚ ‘चाइन्‍ना हाम्लाई कसैगो केई’, भनेकी थिई । जीवने पनि सजिलै हार मान्‍नेवाला कहाँ थियो र बोल्यो‚ ‘तँलाई मेरो माया लाग्दैना ? मा भन्या इस्कुल छारिछारि तलाई भेट्ना आउँछु । ताँ मलाई मतलबै गर्दिनस् ।’

यस्तो बेलामा के भन्‍नु पर्छ भन्‍ने कुरा वचरी चौध वर्षकी सानी केटीलाई के थाहा होस् । ठूला तरुनातरुनीले जे भनेको सुनेकी थिई त्यही प्वाक्क भनिदिई, ‘इस्कुल छारि छारिना कस्ले आऊना भन्याउ छ र ! लाग्दैना हाम्लाई अर्का छोराउ माया साया । बलै माया गर्छु भन्‍नी । माया मान्‍नि भया तीबाट बोली ह्रनाउ र ?’ उसको पछिल्लो वाक्यले जीवनेले कसरी बल प्राप्त गरेको थियो र नजिकै ढेपिन आएको थियो । ऊ भने लाजले रातोपिरो हुँदै पर सल्लाघारीतिर दगुरेकी थिई हाँस्दै र गाली गर्दै । अहिले त्यही सम्झी र रोक्तारोक्तै पनि हाँसी खितिती । 

‘अइ बौल्लिगिस् कि ? किना हाँस्छेस् बिना पत्तै ?’ सानिमाले हपारिन् र पो ऊ होस्मा आई । ‘केइ होनाक्या सान्ज्यै‚ हाँस्ना बनि दिन्‍नन् यिनले त ।’ खुसीले जुरूरु जीउ फूलेकाले केही काँपेको स्वरमा उसले भनी । 
‘आऊ होला कि हवोइना त्यो ? देखिना बोलायो भन्या क्यार्नीहोला ? सान्ज्याले थापाइन् भन्या त खतम भईगो । क्या किन्दिउँ भन्यो भन्या त झन्...! मनमनै गम्दै थिई । रोक्न खोज्दा खोज्दै फेरि मुखबाट फुत्किहालेछ, ‘धत् ।’ 

‘नाइँ क्या भयो तलाई ?क्या छोर्‍याट्टी ह्रैछे नाइँ यस्ती । क्या मान्छउ सङ्गत भयो छ आज । मस्त फुरफुर नागर । अब बजार आऊना लाइगो । अलि चनाखी भई हिर । मलाई नाछार्‍यास् । भाल्या मलाई ल्या । हातैबाट खोस्न्यास्तो गर्छन् । कसैले फुत्क्याइदेला र फेरि लाउलेस् तिजती नयाँ फर्‍या ।’ सानिमाले हपारिन् । तर किनकिन सानिमालाई भाले दिन लालीको मनले मान्दैमानेन । यिनले पो ठग्लिन् बरु भन्ठानी । त्यसैले यसो भनेर टारी‚ ‘तिम्रो भारी मस्तै छ सान्ज्यै‚ मा बोग्गेल्छु ।’ 

‘हतो बोग् तेरो भाल्या, तैँ । अलि चनाखी भयास् ।’ सानिमाले फेरि सचेत गराइन् । बजार प्रवेश गर्ने मुख्य बाटाहरूमा परपरसम्म व्यापारीहरू‚ बिचौलियाहरू‚ दलालहरू‚ थोक क्रेताहरू हारालुछ गर्न आइपुगेका छन् । 
‘यता यता ।’
‘यो डोको मेरो ।’
‘दिदी कतिमा दिने ?’ 

‘बैनी यता म यति दिन्छु‚ म उति दिन्छु ।’ यस्तै तानातानमा परे लाली र उसकी सानिमा पनि । सानिमा कराउदै थिइन्‚ ‘अलि चनाखी हो‚ छिटो आ ।’ व्यापारीहरूसित पनि बाझ्दै थिइन्‚ ‘दिनम्ना हामी कसैलाई‚ ठावै आइ पुग्याउ छैना यता ल्याऊ र उता ल्याऊ‚ ठग्गाहरू ।’ हाटको घुँइचोमा भारी बोकेकी आइमाइको के लाग्थ्यो र पेलापेल र तानातानमा सानिमा कता परिन्‚ लाली कता छुटी ! 
‘सान्ज्यै‚ सान्ज्यै !’ भन्दाभन्दै लाली उनीभन्दा परै छुटिसकिछ । एउटा बिचौलियाले जिस्क्याउने शैलीमा सोध्दा पो ऊ झसङ्ग भई ।
‘आहा ! नानीसित त भाले पनि रै’छ । कतिमा दिन्छ्यौ ?’

त्यसलाई जवाफ दिनुको साटो निरिह लालीले चारैतर्फ नजर दौडाउँछे सानीमाको खोजीमा । अँह उनी कतै देखा पर्दिनन् । केही सीप नलागेर ऊ चिच्याउँछे‚ ‘सान्ज्यैऽऽऽऽ।’ ‘नानी हामी तिमीलाई ठग्छौँ र सान्ज्यैलाई खोज्छ्यौ ? देऊन कतिमा दिने हो ?’ डोको समाएर एउटा व्यापारी बोलिरहेछ । अर्को ‘भाले देऊ’ भन्छ । पहिलोचोटि हाट भर्नआएकी लाली अक्क न बक्क परी । यो बोल्नु की त्यो बोल्नु उसमा आँट आएकै थिएन टमाटर खरिदकर्ताले सोध्छ‚ ‘तौलुँ ?’ 
भालेको ग्राहक सोध्छ‚ ‘तौलुँ ?’

लालीको इच्छा नबुझी भालेको ग्राहकले उसको कोखिलाबाट भाले तान्यो । टमाटर व्यापारी टमाटर नियाल्न थाल्यो । 
‘नानी‚ दश रुप्याँ किलो देऊ है ।’ के बोलोस् बिचरी निमुखा । 
‘बैनी‚ दुई किलो चार सय ग्राम भयो तिम्रो भाले । किलोको दुई सय बीसको भाउले पैसा दिउँला । टमाटर बेचेर पैसा लिन आऊ है ऊ त्यो मेरो पसलमा ।’ 
भाले लिएर त्यो मान्छे हिँडिहाल्यो । पछि लागोस् त टमाटरको डोको हराउला भन्‍ने पीर । 

‘ल बैनी‚ दशको भाउले तिम्रो टमाटरको पैसा राख ।’ डोको अब रित्तो छ । कति किलो भयो मेरो टमाटर भन्‍ने सुद्धि पनि राखिन उसले । कपुरकोटको यो हाटको नाटकमा लालीले आफ्नो टमाटर कता फासफुस् पारी कता । 
‘अहो साँच्चै भनिछन् आमैले । यिनीहरूले मलाई ठग्या क्यार । आमा आफै आया भया बनि त हुनो । मलाई क्यार्ना पठाइ हुन् । सान्ज्या बनि कता हराइगिन् । यै डोगाभरी टामटर ल्याइना आमाले कतिगा पैसा लग्न्थिन् । मात मरिग्याँ आज । भाल्याऊ पैसा कति दिन्या हो । क्यार्ना चकचक गर्दै आया हुँ ।’ अब उसलाई पछुतो लाग्‍न थाल्यो । एकदुईचोटि बरु आमासित आएको भए यस्तो भवितव्यमा पर्नुपर्दैनथ्यो होला भन्‍ने पनि उसले ठानी । तर घर कुर्ने‚ वस्तुभाउ चराउने कोही नभएकोले आउन नपाएको भन्‍नेचाहिँ बिर्सी र पहिला मलाई आमाले किन ल्याइनन् भनेर रिसाई । 

‘ए बैनी‚ के लाटीजस्तो ट्वाँ परेर हेरिबसेको ? जाऊ भालेको पैसा लिन‚ फेरि हराउला ।’ टमाटर खरिदकर्ताले भनेपछि पो ऊ झसँग भई । साँच्ची हो त राम्ररी अनुहार पनि चिनेकी छैन उसले । ‘ऊ त्याँ छ’ भन्या छ; त्याँ भन्या कता हो । अत्तालिएर डोको समातेर दगुरी । टमाटरको पैसा हराउछु कि भनेर बलियो गरेर समाती । 

‘ए दाइ, अघिना त्याँबाट मेरो भाल्या ल्याऊनु भयाउ हो तो‚ पैसा ल्याउनोस् ।’ पसलअगाडि गएर निकै आँट गरेर भनी । 
‘के रे ? कसले ल्यायो तिम्रो भाले । राम्ररी मान्छे चिनेर भन बैनी । मैले आज भाले किनेकै छैन ।’ सगरमाथा होटलको साउजीले कड्केर भन्यो । 
‘अघि एउटा तमाईजस्तै अग्लाअग्ला मान्छले मेरो भाल्या किन्या हुन् । मेरो होटल यै हो भन्थ्या । पैसा दिनोस् ।’ अब उसका आँखाबाट आँसु झर्‍यो । 
‘माँ कसम बैनी‚ तिम्रो भाले मैले ल्याइनँ । त्यस्तो बेमानी काम म गर्दिनँ । ल्याएको भए त दिइहाल्थे नि पैसा । अनि तिमीचाहिँ त्यो मान्छेसँगै नआएर किन उतै अल्मलिएको त ?’ साउजीले सोध्यो । 

टामटर ल्याइथ्याँ । त्यो मान्छले बनि ठग्द्यो; अल्तै पैसा द्यो । अब घर आमाले काट्टेल्छिन् ।‘ अनि डाँको छोडेर रुन थाली । होटलेले दया देखाउदै भन्यो, ‘बैनी यताउता अरु कसैले लगेको हुन सक्छ, राम्ररी सोधखोज गर, नरोऊ ।’ उसले नरोऊ भने पनि उसको आँशु कसरी थामिन सक्थ्यो र ? कहिले यो पसल त कहिले त्यो होटल रुदै चाहार्न थाली । तर अँह कसैले पनि उसको भाले लिएको स्वीकार्न तयार भएन । किन्‍ने मान्छेको अनुहार उसले बिर्सिसकी । झन् पछि झन ऊ आत्तिन थालि र ह्वाँ ह्वाँ रुँदै यताउता दगुर्न थाली । आँसुले बाटो नै देख्न छोडेपछि सडकको एकछेउमा बसी । एक्लै छाडेर आफूलाई यस्तो अवस्थामा पुर्‍याउने तिनै सानिमा हुन् भन्‍ने उसको मनमा पर्‍यो र सराप्दै रुँदै गर्न लागी । 

उता बिचरी सानिमा कहाँ चैनमा थिइन् र‚ अलिपर पुगेपछि लाली छुटेको ख्याल पाइन् र आत्तिन थालिन् । 
‘मेरी भतिजी छुटिगै । उछिट्टया हटारू बिचारी, कता गई । त्यलाई आउना देऊ ।’ बगरे जस्ता व्यापरीहरू किन उनलाई पर्खिन दिन्थे र‚ ‘आइहाल्छिन् नि‚ दिदी; आऊदैछिन्; तपाईँ हिँड्दै गर्नुस् ।’ भन्दै उनलाई परै पुर्‍याइहाले । डोको बिसाएर हेर्दा लाली कतै छुटिसकिछ । डोको छोडेर जाऊन् डोकै हराउला भन्‍न् पीर । धन्‍न गैरागाउँको काँइलो भेटियो र डोको हेर्नलाएर लालीको खोजीमा हिँडिन् । साइतै त्यस्तो‚ लाली कतै देखापरिन् । केही सीप नलागेपछि उनी आफ्नै भारी भए ठाउँमा गइन् । उनी त्यहाँ पुग्दा व्यापारीले उनको डोको तौलेर पनि आफ्नो क्रेटमा टमाटर खन्याउदै थियो । गएर पड्किइन्‚ ‘किना हँ‚ मेरा पिठ्याँ पछि तौल्याउ अर्काउ बस्त ? मनपरी गर्ना पाइन्छ । मा आऊन्या थिनाँ र ? बलै तौल्लेल्न्या ।’ 

प्रकृतिको खेल सबैले देखे र झरीबाट जोगिन हतारहतार आआफ्ना गन्तव्यतिर लम्किए तर हाटको जुलुम, छुल्याइँ र फट्टाइँका बीच एउटी सुधी ग्रामबालाको कल्कलाउँदो इच्छामथि तुषारापात भएको कसैले देखेन । 

‘हामी के तपाईंलाई ठग्छौँ र ? उहाँ साउजीलाई हतार छ के त्यसैले तौलेको । तपाईँका टमाटरको मोल त पाइ हाल्नुहुन्छ नि ।’ दलालले भन्यो । 
‘त्यै बनि क्या हो‚ कसो हो । अर्काउ माल ।’ साह्रै रीस उठ्यो उनलाई । 

‘अरे दिदी नरिसाइ लिनुस् न । हामी थोडै सित्तैमा लिएछ ? पैसा दिन्छ पैसा । बरु लिइहाल्नुस् यी दोसौ बिस रुपियाँ ।’ मुख्य क्रेता बोल्यो । 
‘दुई सौ बिस मार्तै ?’ खङ्गरङ्ग हुदै उनी बोलिन्, ‘यै डोगाभरि ल्याँयाँर अस्तिना तीनसयलाई पाँच कम पैसा आया हुन्; ठग्छौ मलाई ? अर्काउ डोगो बनि खन्याइदेल्न्या । मान्दिनामा त्यतिले ।’ कस्ता कस्तालाई चकाचौँध पारेको त्यस व्यापारीलाई बिचरी गाउँले महिलालाई चकित पार्नु कति पो गाह्रो कुरा थियो र ।

‘कस्तो बात गरिलिनुहुन्छ ? अब ऊ बेला के भाउ थियो अहिले के छ ? हामी थोडी तपाईँलाई ठग्‍न आएको हो र ? पैसाको कुरा हो दिदी पैसाको राखिलिनुस् । हामीलाई अरु पनि लिनु छ के ।’ जबर्जस्ती पैसा थमाइदिएर व्यापारी अर्को डोको हत्याउन हिँड्यो । अनमयस्क भावले पैसा हेर्दैगर्दा उनलाई फेरि लालीको चिन्ताले सतायो र बर्बराइन्, ‘गराचार्नी कता गार्री । मा बड्डीलाई त यस्तरी ठग्द्या । त्यो जाइनीले क्यारी निगाली होर मालउ मोल !’ अनि रित्तो डोको बोकेर लालीको खोजीमा यता उता चाहार्न लागिन् । 
‘कागी‚ टामटर बेच्चेलेऊ ?’ परिचित आवाजले बोलाएतिर फर्किन् उनी । 
‘एग्लै आइछौ ?’ प्रश्न थपियो । 
‘एग्लै काँति आऊदाउँ । दिदीगी लालीलाई भन्दै ल्यागी थ्याँ आँउदाआउँदै कता छुटिगै । बिचारी उछिट्टया‚ मैलाई त ह्याँ ठग्देल्या । त्यले कस्तरी बेचेइ होले । उइमाथि भाल्या ल्याइथी । भाल्या मलाई दे समाउन भन्या र बनि दिना । हर् त माइलौ खोजम् ।’ 

उनलाई यति सोध्ने किशोर अरु कोही नभएर उही चैते डाँडाको जीवने नै थियो । ‘बिचारी लाली ठग्यै ह्रैछ भन्या ! रोइ भन्या क्यार्नी होला ?’ यस्ता कुरामा अभ्यस्त भई नसकेको जीवने अन्यौलमै उनको पछि लाग्यो । केहीबेर यताउता सोधखोज गर्दे चाहारेपछि कसैले पर सडक किनारामा एउटी केटी रोइरहेकी छ भन्‍न लागेको तिनिहरूले सुने । त्यो केटी लाली नै भएको ठहर गरेर उनीहरू त्यतै लागे । 

रुँदारुँदै थाकेकी लाली अब सडकमा हिँड्ने सबैलाई आशामुखी भएर हेर्न थाली । तर सबै आआफ्नै ध्याउन्‍नमा लागेका कसले कसको बारेमा ध्यान देओस् । दुईचार जनाले सोधिटोपले पनि कोक्किइकोक्किइ उसले बेलिबिस्तार लगाई तर किन्‍ने मान्छेको ठेगान नभएको उसको भाले खोजिदिने कसले ? सहानुभूति दिएर के गर्नु‚ दशबीस रुपियाँको कुरा मात्रै पनि त भएन । सानिमाले यत्रोबेर सम्म सोधिखोजी नगर्दा त झन् उसलाई उठ्नु रीस उठ्यो । 

‘पख सान्ज्यै‚ भेट्ट्यौले मार्तै‚ ह्याँ नाभेट्ट्या बनि घर त भेट्टिजाउले । तिमलाई पख । तिमीसित मरिग्या बेल्ल्वा कि । कस्ति फर्र्याइ हुन् ? अर्कालाई एग्लै छार्र्याइना आफू कताबाइ गइगिन् ।’ तर घर जाने कुरा उसले सोच्न पनि सकिन । टमाटरको पनि पूरा पैसा आएन झन् भाले त बेपत्ता छ; के मुख लगेर जाने हो घरमा ! ‘जीवने पनि भेटिएन । त्यो आएको भए त ‘‘‘‘‘।’ सुँकसुँकाउदै ऊ घरी यो घरी त्यो सोच्न थाली । आफूलाई खोज्दै आइपुगेका सानिमा र जीवनेलाई देखेपछि उसको सुकिसकेको आँशुको मूल फेरि उर्लियो । रुँदै सानिमालाई घुर्क्याउन थालि । जीवनेलाई के भन्‍ने कुनै शब्द नै पाइन । सानिमा पनि के नै गर्न सक्थिन् र बिचरी आफै पनि त ठगिएकी थिइन् । तै पनि केही गर्न सकिहालिन्छ कि भनेर केरकार गरिन् । 

‘कस्ता अन्वार गर्‍या मान्छले लग्याउ हो ? हर् हर् ठाउँ देखा त । गरिपा खुनपसिना त्यसै खाना खोज्न्या अपरातीहरू !’ जीवने पनि तिनीहरूको पछि लाग्यो । कोही रिसाए; कोहीले सहानुभुति देखाए तर लालीको भाले लिने मानिस फेला परेन वा फेला परेर पनि लालीले खुट्याउन सकिन । सानिमाको कतै बिन्ति कतै अनुनय अँह काम लागेन; रित्तो हात फर्किनु पर्नेभयो । भाले चोरको वंशै विनाश हुनेगरी सत्तो सराप गर्दै अन्त्यमा उनी बाटो लागिन् । लाली रुझेको बिराली जस्ती सुक्सुकाउदै उनका पछि लागी । जीवने पनि साथिहरू भेटेपछि उनैहरूसित गइहाल्यो । लाली अत्यन्त निरास भई गला अबरुद्ध पार्दै बोली । ‘सान्ज्यै‚ मलाई त आमाले काट्टेल्छिन् । मा त अब मर्‍या भयगो । मा घर जान्‍ना‚ आमाले मलाई बासै दिन्‍नन् । 

‘क्या मान्छ होस् ताँ । खुरुक्क घर हर् । क्यै गर्दिनन् दिदीले; मा सम्जाउँला तिनलाई । मलाई भन्दै त ठग्यो । मा क्यारु त अब ? मलाई नाछार्‍यास् भन्या र बनि छुटिगैस् । भाल्या समात्दिन्छु भन्याँर बनि सान्ज्याले खाइदेल्छे क्यार भन्‍न्याँस्तो गरिस्; हर् अब चाँरो । काल्याले क्या गर्‍यो घर ? अल्ता जिरो र चा’मा हाल्न्या मरिच ल्यास् भनेइथिन् दिदीले अब जिरो ना मरिच चाँरो हर् ।‘ 

चुपचाप हिँडिरहे तिनीहरू । बेलाबेलामा लालीले छाड्ने निस्वासले तिनीहरूको शान्ति भङ्ग गर्थ्यो । खोल्टेपानी आइपुगेपछि आमाछोरी खाजा खान बसे । सानिमा सबै पीडा बिर्सेर अदुरानो टालोमा बाँधेका गहुँका रोटी तीलगोलभेडाको अचारसँग टोक्न थालिन् तर अहँ लालीको घाँटीमै आएर अड्कियो सबैथोक उसले एक टुक्रो पनि निल्न सकिन । कस्तो सपना साँचेकी थिई उसले ! भाले बेच्‍ने अनि पवित्राका जस्तै लुगा किन्‍ने । तीजमा उनिहरूसितै नारिएर व्रत बस्ने‚ नाच्नेगाउने‚ दोहोरी खेल्ने अनि केके । तर उसको सब सपना कपुरकोटको हाटको नाटकमा चूर्ण हुनपुग्यो । भारी मन लिएर ऊ रोटी खेलाउदै बसिरही । 

’खा’ भनेर सानिमाले कति कर लगाइन् तर आफ्नो भाग जति नखाई पोको पारेर डोकामा हाली । सानिमाचाहिँ चोलीको गोजीबाट कक्कड र चिलिम झिकेर भर्न लागिन् । बाटोमा अघि लालीले, ‘मा हराल्छु सान्ज्यै राख्द्यौ भनेर दिएको पैसा र आफ्नो पैसा दुवै‚ गोजीबाट झिकेर ढुङ्गाको एक छेउमा राखिन् र टाउको बाँध्ने टालो झिकेर त्यसैको साबी बनाई कक्कड तन्काउने जमर्को गरिन् । छड्के लालीले पारिदिई । वर्षामासको झुलो ओसिएको रहेछ । मुस्किलले झिल्को टिप्यो । खोक्दै दुई सर्को तानेपछि घरमा काले एक्लै भएको याद आयो उनलाई । झटपट कक्कड झारेर चिलिम गोजीमा घुसारिन् र डोको बोकी उठ्दै बोलिन्‚ ‘हर् हर् नान्यै‚ काल्या एग्लै छ घरनु ।’ लालीको अलिक तलै थिई उतैबाट डोको बोकेर ऊ पनि हिँडी । 

निकै परसम्म सानिमा छोरी चुपचाप हिँडिरहे । अचानक लालीले सोधी, ‘सान्ज्यै‚ तिम्लाई बनि ठग्या ?' ‘ठग्दैनन् ? डोगो बिसायाँर तलाई खोज्ना गइग्याँ‚ आऊछु र त तौलताउल पारी तेखा किरेटनु खन्याल्यो छ । यत्ति भया भनि पैसा फाल्द्यो‚ गार्रिगो त्यखि नाठी हुन्या । दसौटा रुप्याउ साबन ल्याँया । काल्यालाई दुई रुप्याँ चक्लेट ल्याइदेइ छु । अब कति बाँकी ह्रया ? ल ल गन् त‚’ भन्दै चोलीको गोजीमा हात छिराइन् । लौ जा सर्वनास भएछ ! गोजीमा पैसा छैन । कक्कडको धूलो; चिलिम मात्रै छ । गोजी उल्ट्याएर हेर्दा पनि छैन । पटुकामा राखेँ कि भनि फुकाएर हेरिन् तर छैन । 

कालिनिली भएर भनिन्‚ ‘नास्सिगो हेर् नान्य । पैसा त अर्नि खागा ठाउँनु छुटिग्या क्यार । ना गोजानु ना पटुगानु कतै छैनन् । अय जाइनी ए क्यार्नी हो अब ? मेरो माजो सातो‚ कक्कर खान्या बेला गोजाबाट तानिना ढुङ्ङानु राखेइ थ्याँ । पछि गोजानु हालिना छु क्या र । अब क्यार्नी हो ? मा त मरिग्याँ अब ।’ झन्डै रुन थालिन् उनी । 

‘तिमी मेरा पछिपछि आऊ मा दगुर्दै जान्छु । अयज्यै नि‚ अइलसम्म त कति मान्छ हर्‍या हुन्‚ कति पानी खाना उग्ल्या हुन् ।’ जवाफको प्रतीक्षा नगरी ऊ दगुरी आएकै बाटो । सास न बास भएर ऊ खोल्टेपानी आइपुगी र खुब आशामुखी नजरले खोजी गरी अघि सानिमाले कक्कड खान बसेको ढुङ्गाको वरिपरि । तल केही बटुवाहरू खाजा खाँदै थिए । ऊ भने हातले पात पतिङ्गर पन्छाउँदै पैसा खोज्दै थिई । अचम्म मानेर तलबाट बटुवाहरूले सोधे । 
‘क्या भयो नानी ? क्या खोज्छ्यौ यस्तरी सुन हर्ररेइ नाइ गरी ?’

तिनीहरूका प्रश्नको उत्तर दिने शक्ति शेष थिएन अब । त्यही ठूलो ढुङ्गामा उभिएर उसले चारैतिर हेरी; साउनको बादल चारैतिरबाट घेरिएर पानी पर्नै आँटेको थियो । पानीले रुझाउने डरले बटुवाहरू हिँड्न हतारिए । तर लालीको खुट्टामा लेष पनि जाँगर बचेको थिएन न त मनमा केही उत्साह नै थियो । मूर्तिवत् भएर ऊ जहाँको त्यही उभिइरही । आकाशको बादलजस्तै उसको मन पनि अँध्यारो कालो भएको थियो । निमेष भरमै दुवै वर्षन लागे । एउटा जीवनमा हरियाली भर्न अनि अर्कीचाहिँ फुटेको आजको आफ्नो भाग्यलाई सान्त्वना दिन । प्रकृतिको खेल सबैले देखे र झरीबाट जोगिन हतारहतार आआफ्ना गन्तव्यतिर लम्किए तर हाटको जुलुम‚ छुल्याइँ र फट्टाइँका बीच एउटी सुधी ग्रामबालाको कल्कलाउँदो इच्छामथि तुषारापात भएको कसैले देखेन ।


Author

थप समाचार
x